A+ A A-

भयावह जातीय युद्ध हुने हो कि जस्तो लाग्न थाल्यो

 युद्ध कति भयावह र कहालीलाग्दो हुन्छ भन्ने पाठ हामीले श्रीलंकाबाट सिक्नुपर्छ । श्रीलंकामा लडाई हुनुको कारण दुई थिए, एक जातीय विद्धेष र अर्काे पाटो चाहि उग्र माक्र्सबादी शिक्षा । मैले पश्चिमा संचारमाध्यमको लागि त्यहाँबाट त्यस्तो लडाईको फिल्ड रिपोटीङ गर्दा आफ्नो देशमा यस्तो देख्न नपरोस भन्ने लाग्थ्यो । ३० बर्ष भैसकेको थियो लडाई भएको, दुइ लाख श्रीलंकालीहरु मरिसकेका थिए । साच्चिकै रगतको रातो खोलो बगेको मैले श्रीलंकामा नै देखे । किनभने जातिय पृथकतावादी लडाईमा गाँउका गाँउ नै सखाप हुदो रहेछ । एक पक्षले अर्को पक्षलाई देख्नै नहुने । तामिलले सिंहालीलाई र सिहालीले तामिललाई जसले जसलाई भेट्यो मार्ने । गाई बस्तु, बच्चा ,बुढा–बुढी , केटा–केटी केही नभनी काट्ने, मार्ने जलाईदिने अनि खोलामा फलिदिए पछि फिजै फिज भएको रातो लास बगेर आउने । हामी सामान्य किसिमले भन्छौं रगतको खोलो बगेछ भनेर ।  जातिय पृथकतावादी लडाईले मान्छेलाई त्यस्तो क्रुर बनाउदो रहेछ । त्यो मैले श्रीलंकामा प्रत्यक्ष देखे, भोगे ।

त्यस्तो किसिमको रिपोर्टिङ गर्दा वाक्क लागेर म नेपाल फर्केको हुँ । आफ्नो देश त शान्त छ भनेर । म फर्केकै बर्ष अर्थात २०५० सालमा माओवादी युद्ध शुरु भइरहेको रहेछ हामीलाई थाहै थिएन । जसरी हामी मिडियाले त्यसको रिपोर्टिङ गर्यौं त्यसमा युद्धको भाव आएको थिएन । त्यो एउटा ‘ल एण्ड अर्डर कन्जुम’ हो जस्तो गरेर रिपोर्टिङ गर्यौं । माओवादी युद्ध भएपछि श्रींलकामा युद्ध पत्रकारिता गरेको मैले स्वदेशमा पत्रकारिता फेरी नयाँ सिराबाट सिक्नु पर्यो । श्रीलंकामा र फिलिपिन्समा रिपोर्टिङ गर्दा घट्नास्थलमा हुरुर्र उडेर गयो , अंगेजी बोल्न जान्नेसँग अन्र्तबार्ता गर्यो, अनि होटेलमा स्टोरी लेख्यो, कम्प्यूटरबाट पठायो । त्यो स्टोरी संसार भरी जान्थ्यो । त्यति वास्ता पनि हुन्थेन , अनि निस्कियो हिड्यो । म एउटा पर्यबेक्षकको रुपमा मात्रै अर्काको देशको लडाईलाई हेरिरहेकोथिए । आफ्नो देश र समाजमा भैरहेको नेपाली – नेपाली बिचको लडाईमा चाहि अर्कै किसिमले पत्रकारिता गर्नु पर्दो रहेछ भन्ने ज्ञान मैले नेपाल फर्किएपछि थाहा पाएको हुँ । हामीलाई घट्नामा पत्रकार निरपेक्ष र तथस्ट हुन्छ उसको कुनै देखिने रोल हुदैन भनि पढाइएको थियो र अद्यापि पढाईदैंछ । तर मैले नेपालको द्धन्द्धलाई भोगेपछि हैन पत्रकारले पनि नियमलाई छिचोलेर युद्धलाई शान्तिमा बदल्न सक्दो रहेछ र त्यसो गर्नुपनि पर्दाेरहेछ भन्ने शिक्षा लिए । तर पत्रकारिताको नियमहरुले चाहि त्यस्तो गर्न दिएन, पर्याप्त भएन । मैले द्धन्द्धको भयावह परिणाम बुझाउने तस्वीरहरुको सग्रह निकाल्नु परेको र लडाईमा जनता बृत्तचित्र बनाउनु परेको कारण त्यहि भएर हो । हामी पत्रकारहरुले साँच्चीकै नेपालको युद्धले नेपाली जनतालाई के असर पार्यो ? नेपालको विकासलाई के असर पार्यो ? सर्वसाधारणलाई के असर पार्यो ? भन्ने कुरा त्यति साह्रो रिपोटिङ गरेनौं । खाली तथ्याँकमा मात्रै समिति भयौं । सेना र माओवादीले घट्नास्थलमा लैजाने र लाश गनाउने अनि हाम्ले त्यसको रिपोटिंग गरिदिने । त्यस्तो खाले पत्रकारिता गर्यौं ।

लेखक हङकङमा एक अनलाईन  पत्रकारलाई प्रमाणपत्र दिंदै । साथमा मानवशास्त्री जोन ह्वेलटन

लडाईमा जनता बृत्तचित्रले हामीले रिपोर्टिगं गर्न नसकेको वास्तविकताको बारेमा उजागर गरेको छ । त्यसैले मेरो धारणा के हो भने सतहमा बसेर रिपोटिङ गर्दा शान्तिलाई धेरै प्रोत्साहन भएन र लडाई लम्बिएको कारण पनि मिडियाले धेरै गहिरिएर नहेरेर हो कि जस्तो लाग्छ । म जस्तै अर्को एक जना बृतचित्रको बारेमा जानकार ब्यक्ति प्रेम विश्वकर्मा ( लडाईमा जनताका दुई मध्येका एक निर्देशक ) लाई पनि त्यस्तै लाग्यो, उहाँ पत्रकार हुनुहुन्छ । पत्रकारिताको नियमले बिषय बस्तुलाई गहिरिएर हेर्न नदिने भएकोले डकुमेन्ट्री बनाउनु भएको हो । तपाईहरुलाई थाहा होला नारायण वाग्लेले पाल्पसा क्याफे भन्ने किताब किन लेख्या उ पनि त पत्रकार हो नी । किताबको भूमिकामा नै के लेख्या छ भने ‘मैले पत्रकारिता गर्दा खेरी पत्रकारिताको नियम अनुसार साँच्चीकै गहिरीएर नेपाल र नेपालीहरुलाई यो युद्धले कस्तो असर पारेकोछ भन्ने कुरा उपन्यासको माध्यमबाट गहिरिएर हेर्ने चेष्टा गरे । ’ मैले सम्पादन गरेको तिन वटा किताबको अनुभवबाट पनि त्यो कुरा यथार्थ छन भन्ने लाग्छ । फोटो पत्रकारिताको माध्यमबाट द्धन्द्धले सर्वसाधारणलाई पारेको असर गहिरिएर हेर्न सकिन्छ भनी हामीले तीनवटा किताव निकाल्यौं । यो किताबमा भएका तस्वीरहरु देश भरी घुमायौं , सात महिना लाग्यो । पैतालिस वटा जिल्लाका करीव पाँच लाख नेपालीहरुले यो तस्वीरहरु हेरिसके । हेर्दा खेरी चैं संख्यात्मक रुपमा होइन कि भावनात्मक रुपमा उहाँहरुले आपूmलाई सम्झेर शान्तिको लागि र शान्तिको मेलमिलापमा सहयोग गरेको जस्तो लाग्छ ,मलाई । यसमा नेपाली र विदेशी फोटो पत्रकार र पत्रकारहरुले खिचेको तस्वीरहरु समाबेश छन् । अर्थात पत्रकार गम्भीरतापूर्वक लागेमा द्धन्द्ध घटाउन र त्यसको उग्रतालाई घटाउन सक्दो रहेछ ।

द्धन्द्ध र अनलाईन पत्रकारिता

नेपालमा अनलाइन पत्रकारिता चल्दैन भन्ने लाग्थ्यो । कस्ले हेर्ने ? बिजुली नै छैन कसरी हेर्ने भन्थ्यौं । भएका फोनहरु मध्ये स्मार्ट फोनहरु पाँच प्रतिशत मात्रै छन् कसरी संभव छ भनेर गत साल सम्म म आफै तर्क दिन्थे । नेपालमा अनलाइन चाहि दश बर्ष पछि आउला भनेको त एक बर्ष भित्रै ह्वात्तै बढ्यो । अहिले इन्टरनेट हेर्ने पच्चीस प्रतिशत पुगिसके । आधा जनसंख्याको हातमा मोवाइल फोन छ । ग्राफ हेर्दा यो ठाडो माथि गएको देखिन्छ । स्मार्ट फोन चलाउने ५ प्रतिशत भनी राख्या १५–२० प्रतिशत पुगेको पत्तै भएन । अहिले स्मार्टफोन त सवैको हात – हातमा छ । तिनले हातमा राखेर इन्टरनेट हेर्न थाले । एक बर्षमा यस्तो परिवर्तन आएको देख्दा अब चै पत्रकारितामा अनलाईन पत्रकारिताले ठूलै हलचल ल्याउछ भन्नुपर्ने अवस्था आएकोछ ।

अहिले नेपालमा फेसबुक १.१ मिलीयनले प्रयोग गर्छन् । नेपालको साक्षरता दर ६० प्रतिशतको हिसावले यो अचम्मको परिवर्तन हो । अनुपातमा हेर्दा यो मामुली कुरा होइन । युवा बर्गले बढी फेसबुक हेर्ने गरेका छन । ६० प्रतिशत भन्दा धेरै त २० बर्ष मुनिका युवाहरु छन । त्यसमा ६० प्रतिशत केटा मान्छेहरु छन । मैले यसो तथ्याँक केलाँउदा त्यसमा ६०– ६५ प्रतिशत बाहुन क्षेत्रीहरु छन् । त्यसको कारण साक्षरतादर र बाहुन क्षेत्री भएको हुनाले साधनस्रोतमा पहँुचको आधारमा पनि उनीहरुको बढि पहँुच भएको हुनसक्छ । अब यो अनुपात चाहि विस्तारै परिवर्तन भैरहेकोछ । किनिकि अब अरु जातिहरु पनि बाहिर धेरै जाने भा हुनाले र साक्षरता बढिरहेकोले तिनका परिवारलाई पनि अनलाईन नगई हुदैन ।

अनलाइन मिडिया यो विध्न फस्टाउनाको कारणहरु छन् । पहिलो त डायस्पोराले गर्दा हो । जस्तो हामी हंगकंगमा छौ । नेपालको जनसंख्याको विस प्रतिशत मान्छे विदेशमा छ त्यसले बढाउने काम गरिरहेको छ । भारतमा कति नेपाली बस्छन् तथ्याङक छैन । भारतीय दुताबासका अनुसार तीस लाख नेपालीहरु भारतमा छन् । हाम्रो अनुमान अनुसार बिस लाख जति होला । साथी भाइ र नातेदारसंग स्काइपमा कुरा गर्छैा इन्टरनेट त चाहियो चाहियो । उनीहरुलाई देशको खबर चाहियो । विदेश हुने परिवारका सन्तानलाई आफ्नो नातेदारका खबर हेर्न मन लाग्छ । त्यस्तो भोकले नेपाली अनलाईन पत्रकारिता फस्टाउदो छ । तर यो जति उपयोगी छ त्यति खतरनाक पनि छ । इन्टरनेट दुबै पट्टि धार भएको तरवार हो र अरु अस्त्र जस्तो राम्रो पनि गर्न सक्छ नराम्रो पनि गर्न सक्छ । हामीले सकेसम्म राम्रो पक्षलाई बढावा दिने र नराम्रो पक्षहरुलाई कम गर्ने हो । यो फेरि इन्टरनेटको मात्रै होइन हरेक मिडियाको कुरा हो । इटरनेटले धेरै चिज एकै चोटी गरिदियो । संसार भरी चाडै समाचार पैmलिने भयो । पत्रिका हातमा पर्न परेन । यहाँबाट अमेरिका समाचार केहि सेकेण्डमै पुग्ने भयो । त्यसैले यसले बिगार्ने कुरा पनि एकदमै चाडो गर्छ र सपार्ने कुरा पनि एकदमै चाडो गर्छ ।

अनलाइनको विशेषता के हो भने यसमा कुनै कुराको डेटलाइन छैन । ए ला आज पौने नौ बजे विविसी नेपाली सेवा सुन्न मिस भयो भन्न परेन किनकि विविसीको वेवसाइटमा गएर भोली बिहान वा एक महिना पछि पनि त्यो कार्यक्रम सुन्न सकिन्छ । पत्रकारलाई पनि यसले असर गर्छ । अब पत्रकार भनेको त २४ आवर न्यूज सर्भिस हो । मेरो डेटलाइन आज ६ बजे हो भनेर अरु कुरा घर गएर भोली लेख्छु भनेर हुदैन । सवै कुरा फलोअप भएर आइरहेको हुन्छ । भोली त मिस भइहाल्छ । आजको आजै तुरुन्ता तुरुन्तैे हरेक मिनेट काममा हुनु पर्यो । पत्रकारिता पनि डाक्टरी पेशा जस्तै भयो । कुन बेला कल आउछ थाहा नै हुदैन । अब मेरो डेटलाइन सकियो अब म सुत्न जान्छु भनेर हुदैन । अर्को विशेषता चाहि अनलाइनको डाइनमिक कन्टेन्टको हो । मान्छेले पत्रिका हेडलाइन, कार्टुन, सम्पादकिय स्तम्भ हेरेर पढ्छ । अनलाइनमा त सवै प्रस्ट हुन्छ जे क्लीक गरे पनि भयो । कम्प्युटरमा प्रोग्रामिङ गरेर आपूmलाई रुची लाग्ने कुरा मात्रै पनि पढ्न पाइन्छ । मलाई फुटबलमा, पर्वतारोहणमा रुचि छ भने त्यही मात्रै पढ्छु भने पनि पाइन्छ । छानी छानी न्यूज पढ्न सक्ने विशेषता छ, यसमा । अर्को कुरा मल्टीमिडिया कन्टेन्ट र पल्याटफर्म पनि हो । मैले रेडियो पत्रकारिता मात्रै गर्छु भनेर हुदैन अथवा म त भिडियो गर्दिन भनेर मात्र पनि हुदैन । अब पत्रकारिता गर्नको लागि सवै बिधामा पोख्त हुनै पर्छ । यो सवै कुराको प्ल्याटफर्म हुनु पर्यो पत्रकारमा । यो पहिला यूरोपमा मात्रै थियो भने अब नेपालमा पनि चाहियो ।

नागरिक पत्रकारिता : अर्थ र अनर्थ

यो एउटा सानो यन्त्र ( ब्ल्याकवेरी देखाँउदै ) ले गर्दा खेरी सवै संभव पनि भयो । स्मार्टफोनमा भएका हाई डेफेनेशन भिडियो क्वालिटीले जे पनि संभव गराइदियो । टेक्नोलोजीले गर्दा खिचेको कुरालाई तुरुन्ता तुरुन्तै अपलोड गर्न सकिने भयो । नागरीकले पनि अपलोड गर्न सक्ने यो फोन होइन कम्प्युटर हो । त्यसैले यो यन्त्र र इंटरनेटले अब नागरीक पनि पत्रकार भए । नया कन्सेप्ट आयो नागरीक पत्रकार । सिटिजन जर्नालिज्म शुरु भो । हिंड्दा हिंड्दै खिचेको कुरा पठाइदियो अपलोड हुन्छ । खिचेको कुरा लाइभ वेवसाइटको ब्लगमा हाल्न सकिन्छ । काठमाण्डौंवाट पोखरा जाँदा केही घटना घट्यो भने खिचेर कान्तिपुरलाई पठाइ दियो तुरुन्तै अपलोड भइहाल्छ । यसले गर्दा जो पनि पत्रकार, जो जहाँ पनि पुग्न सक्ने भयो । भिडियो, अडियो र टेक्स्ट त जसले पनि गर्न सक्ने भयो । म यत्रो समय ट्रेनिङग लिएको पत्रकार भन्दै पत्रकारिताको परीचय पत्र देखाएर हिड्ने दिन गए अब, तपाई हामी सवै पत्रकार ।

तर यसले तालिम पाएका पत्रकारको भने झन जिम्मेवारी बढाइदिएको छ । पत्रकारको सवै भन्दा ठूलो सम्पत्ति भनेको उसको विश्वसनीयता हो । पत्रकार भएर सम्पत्ति त जुटाउनै सकिदैन । कि भ्रष्ट हुनु पर्यो । स्वच्छ पत्रकारिता गर्ने हो भने चै सम्पत्ति भनेकै हाम्रो विश्वसनीयता हो । पाठहरुले दर्शकहरुले हामीलाई पत्याउछन् की पत्याउदैनन । मेरो नामको लेख अथवा टि भी मा रिपोट सुनेपछि मलाई पत्याउछन् की पत्याउदैन, मेरो अनुहारलाई पत्याउछन् की पत्याउदैनन्, मेरो लेख आएपछि ए यो त पढनै पर्छ है भन्छन् कि भन्दैनन् भन्ने कुरा नै पत्रकारको सव भन्दा ठूलो सम्पत्ति हो । हामीले बेच्ने नै त्यही हो । त्यो गुम्यो भने सबै जान्छ । त्यो नगुमाउनको लागि तालिम चाहिन्छ । तालिमबाट दक्ष भएका गम्भीर पत्रकारहरुको सशक्त टिम चाहिन्छ । के के कुरा गर्नु पर्छ के के गर्नु हुदैन भन्ने कुरा जान्न पनि तालिम चाहियो । पढ्नु पर्यो । समाचार तथ्यमा आधारित हुनु पर्यो । सकेसम्म निश्पक्ष हुनु पर्यो । यी सब कुराहरु पत्रकारिताको नियमबाट आएका हुन् । तर समस्या कहाँनेर पर्यो भने नागरीक पत्रकारिता गर्नेले जे लेखे पनि हुन्छ । माध्यम पनि छ गुगलमा हाल्दियो संसार भरी फैलिन्छ । भनेपनि सवै जना शक्तिशालि भए । तालिम नपाएका, अनुभव नभएका र उदेश्य नभएका पत्रकारले वा नागरीकले पनि समाजमा कुरा राख्न सक्ने भए । यो राम्रो हो । तर यसको अर्काे पक्ष खतरनाक छ । समाजमा एकदमै ठूलो द्धन्द्ध छ । समाजमा जातजातिको बिचमा द्धन्द्ध छ अथवा आर्थिक रुपमा भेदभाव छ । हाम्रो काम त झगडा गराउने द्धन्द्ध गराउने होइन । हाम्रो काम त मिलाईदिने हो । पत्रकारको सानो गल्तिले ठूलठूला द्धन्द्ध हुनसक्छन् । तर जिम्मेवारी बोक्न नपर्न हुनाले नागरीक पत्रकारले गर्दा समाज वा देश ठूलो द्धन्द्धमा फस्न सक्छ । यो ज्ञान यो रेस्पोन्सविलीटी नागरीक पत्रकारहरुलाई कर्सैले सिकाएको हुदैन । आफ्नो स्वविवेकले लेख्दा बुझेको छ भने त ठिकै भो होइन भने वित्यास पार्यो । धेरै ठूलो समस्या पनि ल्याउन सक्छ ।

विदेशमा जस्तो नेपालमा मानहानीको बलियो प्रावधान नभएकोले कसैको केहि कुरा मन परेको छैन उसको बारेमा वाहियात कुरा लेखेर चरीत्रहत्या गर्ने देखि लिएर जे पनि गर्न सक्छ, एउटा पत्रकारले । पीडितले त्यसको विकल्पको रुपमा गर्न सक्ने केही छैन । पत्रकारका कारण नेपालमा धेरै पिडित महिलाहरुको आत्माहत्या पनि भाछ । यहि कुरा नबुझेर यस्तो भएको हो । आज भोली त सवैले भिडियो खिच्न सक्छ । भिडियो खिच्यो अनि जथाभावी हालिदियो । यो प्राइभेसी नियमहरु नबुझेको, प्रबृति नबुझेको र मिडिया एजुकेशन नबुझेर हो । के के ख्याल गर्नुपर्छ भन्ने कुराहरु चाहि हामी आपैm नागरीकहरुलाई पनि थाहा छैन । तर नागरीक पत्रकारहरुलाई पनि के हुन्छ भने उसले भनेको कुराहरु जति उसको पाठकहरुले पनि पत्याएनन् भने भ्यूअर चाहि घट्दै जान्छन् । जस्को बिश्वसनियता छ उसको बढ्दै जाने हो ।

अनलाइनमा सामग्री जुनसुकै स्थानमा बसेर फिल्टर गरेर हाल्न सकिन्छ, हेर्न सकिन्छ । इन्टरनेट हेर्दा खेरी म आफैले के ब्राउज गर्छु भन्ने कुरा र म के हेर्छु , म कस्तो खालको न्यजुहरु पढ्छु भन्नेले पनि निर्धारण गर्छ । नेपालको न्यूजहरु हेर्न अथवा अस्ट्रेलियामा भएको टेवल टेनिस वा मलाई के मा रुचि छ जस्तै मलाई राजनीतिक एनलाइसिसको समाचार चाहिए म त्यस्तै वेवसाइटमा जान्छु । मेरो रुचि नमिल्ने साइटमा जान्न । मलाई रिस उठ्छ । भनेपछि म मेरो मुल्य मान्यतासग मिल्ने साइटमा जान्छु । यसले के गर्दियो भने फिल्टर गरेर हाल्न मिल्ने भए पनि मान्छेले आपूmसग मिल्दो जुल्दो कुरा मात्र पढने भए । अरुको कुरा मैले हेर्दिन भनेर निरपेक्ष बसिदिन पाए । यसले गर्दा समाजलाई झन टुक्रयायो । इन्टरनेटले समाज जोड्न पुलको काम गर्छ भनेको त झन टुक्रयायो । यो यसको नराम्रो पक्ष हो । हामीले समाजमा समाधान ल्याउने हो , द्धन्द्ध र हिंसात्मक रुप नदिने हो भने धेरै कुराको ख्याल गर्नु पर्छ । त्यसका निम्ति अनलाईनलाई माध्यम वा पुल बनाउने हो भने सवैको कुरा सुनेर सकेसम्म समाबेशी भएर अगाडि बढाउनु पर्छ । मलाई डर लागेको कुरा चाहि श्रीलंकामा जस्तै नेपालमा देख्न नपरोस भन्ने हो । नेपालको चलेको दश बर्षे युद्ध बर्गिय युद्ध हो । यो बर्गिय युद्ध र क्रान्ति भनेको ब्यक्ति हत्या मार्फत क्रान्ति अगाडि बढाउने सिद्धान्तबाट प्रेरित युद्ध हो । तर अहिले जसरी हाम्रो समाजमा भाषणहरु गरिदैंछन् र अनलाइन मिडियामा कुराहरु आइरहेकाछन् ती कुराहरु पढ्दा खेरी त एकदम भयाभव जातिय युद्ध हुने हो कि जस्तो लाग्छ । श्रीलंकामा त एउटा मात्रै जातिय युद्ध थियो । सिहालीज भर्सेस तामील । हामी कहाँ त १०३ वटा जातिय समुहहरु छन । यसमा भएका सव भन्दा मुख्य–मुख्य १४ वटा जातिलाई मात्रै हेर्ने हो भने पनि नेपालमा यसको एकदमै ठूलो खतरा छ । त्यसैले हामीले मुद्दालाई धेरै राजनीतिकरण नगरीकन सबैलाई समेटेर आफ्नो जातिय समुह वा आफ्नो समूह मार्फत मेलमिलापतिर जाने बाहेक अरु उपाय छैन । त्यसो नगरि बहुक्रान्ति (मल्टीपल एथनिक क्रान्ति) तिर गइयो भने चाहि देश टुक्रिन्छ र नेपाल भन्ने राज्यको अस्तित्व रहदैन । त्यसैले यो कुरालाई हामी पत्रकारहरुले अलि विचार गरेर जानु परयो । हाम्रो सबैभन्दा गहन रोल छ । त्यसमाथि प्रभावको हिसावले अनलाईन पत्रकारहरुको भूमिका झन बढी छ ।

जस्तै अहिले हामी पत्रकार सबिधानसभालाई गाली गर्छाे । कति समय लिएको संविधान बनाउन भन्छौं तर साँच्चीकै अहिलेसम्मको इतिहासमा भएको सवै भन्दा समाबेशी संबिधान सभा वा निर्बाचित सभा त यहि हो । मधेसी, महिला, दलित र अरु जनजातिको पनि राम्रो उपस्थिति छ ६०१ जनामा । द्धन्द्ध बढ्न नदिनपनि देश यस्तै गरि अगाडि बढ्नुपर्छ । सरकार र निजामति सेवामा पनि यो कुरा झल्किनु पर्यो । अस्ति भर्खर सरकारले राजदूतहरु चुन्यो १२ जना कि कति हो । त्यसमा राम्रो कुरा चाहि के थियो भने कमसे कम परराष्ट्र मन्त्रालयवबाट चुनिएर गए राजनैतिक दलबाट थिएनन् । तर के भैदियो भने त्यसमा दुई जना बाहेक सवै बाहुन क्षेत्री थिए । यो चाहि असाध्यै ठूलो असन्तुलन भयो । यस्तो कुराहरुमा हामिले होश पुर्याउनुपर्छ । हामी पत्रकारले अलि विचार गर्नुपर्छ र यथार्थ औंल्याई देशलाई मेलमिलापतिर लैजान र भविष्यमा हुन सक्ने जातिय द्धन्द्धवाट बचाउन लाग्नुपर्छ । त्यसमा मिडियाको र खासगरी अनलाइन मिडियाको एकदमै ठूलो भूमिका छ । अनलाइन भनेपछि नेपालभित्रै बस्नु पनि पदैन । नेपालभित्र बसेको नेपालीहरुले नेपाल बाहिरको बेवसाइट पढ्न सक्छन । नेपाल बाहिर बस्ने नेपालीहरुले नेपालभित्रको वेवसाइट पढ्न सक्छन । देशको अहिले जस्तो संवेदनशील घडीमा नेताहरुले नदेखाएको बाटो र रेस्पोन्सविलिटी हामी मिडियाकर्मीहरुले देखाउन सक्छौं ।

( ३० जनवरीका दिन आदिवासी जनजाति पत्रकार संघ हङकङ ( अनिज) ले आयोजना गरेको ‘द्धन्द्ध र अनलाईन पत्रकारिताको प्रभावकारिता र संवेदनशीलता’ विषयक एक दिने प्रवचन गोष्ठीमा नेपाली टाइम्सका सम्पादक कुन्दा दिक्षितले दिएको प्रवचन )

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर