A+ A A-

खपाङ्गी विचारलाई दर्शनको रुपमा विकास गरौ

मोहन गोले तामाङ 

अध्यक्ष, नेपाल तामाङ घेदुङ 

राष्ट्रिय मुक्ति आन्दोलनका महानायक गोरेबहादुर खपाङ्गीमगर ज्यूको २०७७ भदौ ११ गते चौथो स्मृति दिवसको अवसरमा रेडियो हिमालयले आयोजना गरेको बहस कार्यक्रममा सहभागिता जनाएँ । यसैगरी गोरेबहादुर खपाङ्गी फाउण्डेसनले आयोजना गरेको खपाङ्गी स्मृति भर्चुअल कार्यक्रममा बक्ताको रुपमा सहभागिता जनाउने अवसर पनि मिल्यो । यस अवसरमा दुवै कार्यक्रममा ब्यक्त गरेको मेरो विचारलाई संक्षेपमा यसरी प्रस्तुत गरेको छु । यो मेरो नितान्त निजी विचार हो ।


खपाङ्गीसँगको भेटघाट ः
उत्पीडित समुदायको महान् गुरु गोरेबहादुर खपाङ्गीमगरको जन्मभूमि उदयपुर जिल्लाको साविक थाक्ले गाउँ मेरै पुख्र्यौली गाउँ बर्रेबाट करिब ३ घण्टा पैदल दुरीमा रहेको पर्दछ । उहाँले म जवानी नहुँदै आफ्नो जन्मगाउँ थाक्ले छोड्नुभएको कारणले मेरो त्यतिबेला उहाँसँग भेट हुन सकेन । तर २०४६ सालको परिवर्तनपछि लगत्तै उहाँले उत्पीडित जनताको पक्षमा जुन आवाजहरु बुलन्द गर्न थाल्नु भयो । त्यसपछि म अनायसै उहाँको विचारसँग नजिकिए । म खपाङ्गी उपस्थित भएको हरेक कार्यक्रम प्रायः छुटाउदिनथे । यसैक्रममा नेपाल मगर संघ उदयपुरले २०६५ सालतिर गाईघाटमा खपाङ्गीलाई नै प्रमूख प्रशिक्षकको रुपमा आमन्त्रण गरी एउटा प्रशिक्षण कार्यक्रमको आयोजना ग¥यो । त्यसपछि भने मेरो उहाँसँग ब्यक्तिगत निकटता बढ्यो । उहाँको त्यसबेलाको प्रशिक्षणबाट म प्रभावित भएँ । अहिले पनि खपाङ्गीकै विचारधारालाई आधार बनाएर विभिन्न ठाउँमा आदिवासी जनजाति समुदायलाई प्रशिक्षण दिने गरेको छु । त्यसपछि उहाँसँग दुई, तीन पटक मेरो काठमाडौंमा जाँदा भेट भयो । उहाँ मलाई दिएको ठीक समयमा भेट गर्न आउनु हुन्थ्यो । हरेक भेटमा उहाँ र म २, ३ कपसम्म चिया पिउथ्यौ र त्यसक्रममा उहाँ निरन्तर बोलिरहनु हुन्थ्यो भने म कापी र कलम बोकेर उहाँले बोल्नु भएको मुख्य मुख्य भनाईहरुलाई डायरीमा टिपिरहन्थे । अझैपनि मेरो पुरानो डायरीमा उहाँले बोल्नु भएको कुराहरु सुरक्षित रहेको छ । मेरो जीवनमा राजनीतिक र सामाजिक रुपले सबैभन्दा बढी प्रभावित बनाउने ब्यक्ति गोरेबहादुर खपाङ्गी नै हुनुहुन्छ । उहाँसँग भेट नभएको भए शायद आज म सामाजिक आन्दोलनको नेतृत्व गरेर यहाँसम्म आईपुग्न सम्भव थिएन । अहिलेसम्म पनि उहाँकै प्रेरणादायी विचारबाट प्रभावित भएर आफ्नो जीवन उत्पीडित समुदायको लागि घोट्दै आएको छु ।


खपाङ्गीलाई किन सम्झने ः
गोरेबहादुर खपाङ्गी उत्पीडित समुदायको एउटा राजनीतिक आवाजको प्रतिनिधित्व गर्ने उच्च पात्र हुनुहुन्थ्यो । उहाँ ग्रामिण जनताको चेतना जागृत गर्ने अग्रज नेता हुनुहुन्थ्यो । उहाँ परिवारको खुशी, चाहनालाई त्यागेर समस्त उत्पीडित समुदायको हितमा समर्पित ब्यक्ति हुनुहुन्थ्यो । उहाँसँग निम्न स्तरको गरीब, दुःखी ग्रामिण जनतालाई बुझाउन सक्ने र एकल जातिवादको विरुद्ध खरो रुपमा उत्रन सक्ने जादुमयी भाषण र प्रशिक्षण कला थियो । उहाँ जातीय जनसंख्याको आधारमा सबै जाति, जातको समानुपातिक प्रतिनिधित्व भएमा मात्र यो देशमा समतामूलक समाज निर्माण भई मुलुकको विकास हुनेमा विश्वास गर्नुहुन्थ्यो । उहाँले कहिल्यै पनि हिंसात्मक क्रान्तिलाई प्रश्रय दिनुभएन । उहाँ जहिले पनि शान्तिपूर्ण आन्दोलनको पक्षमा उभिनु हुन्थ्यो । गोरेबहादुर खपाङ्गीले फैलाएको राजनीतिक चेतनाको जगमाथि टेकेर माओवादीले १० बर्ष जनयुद्ध सञ्चालन ग¥यो । यहाँ सामान एउटाले बनायो तर त्यसलाई बेचेर अर्कैले नाफा कमायो । बाली एउटाले लगायो तर त्यसको फसल अर्कैले काट्यो । त्यसैले खपाङ्गी एउटा युगले जन्माएको नेता हो, जो च्याउँ उम्रे जसरी पानी पर्नासाथ उम्रिदैन ।
यसर्थ, उहाँ युगौयुगसम्म सम्झिरहनु लायक महान् ब्यक्तित्व हुनुहुन्छ । उहाँको अभावमा आज आदिवासी जनजाति आन्दोलन बिटोलिएको छ । अहिले देख्नसक्छै कि हाम्रो आन्दोलन प्रतिक्रियात्मक अवस्थामा सीमित भएको छ । राज्यले क्रिया गर्छ, हामी प्रतिक्रिया मात्र ब्यक्त गर्ने भएका छौ । जस्तोः राज्यले विदा कटौती ग¥यो, हामीले तीन महिना आन्दोलन गरेर प्रतिक्रिया ब्यक्त ग¥यौ । राज्यले आरक्षण खोस्यो, हामीले चार महिना आन्दोलन गरेर प्रतिक्रिया ब्यक्त ग¥र्यौ । पहिचान खोसिएकोमा पनि त्यस्तै प्रतिक्रिया मात्र ब्यक्त ग¥यौ । तर गोरेबहादुर खपाङ्गीले सर्धै सिर्जनात्मक आन्दोलन गर्नुहुन्थ्यो । क्रान्तिमा उहाँ नविनता ल्याउनु हुन्थ्यो । उहाँलाई शान्तिपूर्ण ढंगबाट जनतालाई जागृत गरेर समतामूलक समाज निर्माण गर्न सकिन्छ भन्नेमा दृढ विश्वास थियो । यसर्थ, खपाङ्गीले एउटा क्रान्तिको सम्भावनाको ढोका खोल्नु भएको थियो तर उहाँको निधनपछि अहिले त्यो ढोका थुनिएको अवस्थामा देख्न सकिन्छ ।


खपाङ्गीमाथि लागेको टीका आरोप ः
खपाङ्गी पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा मन्त्री बन्नु भयो । मन्त्री बने लगत्तै हिन्दू समुदायको दशैं पर्व आयो । त्यसबेलाको आम प्रचलन अनुसार विजयदशमीको दिन सबै मन्त्रीले राजाको हातबाट अनिवार्य टीका लगाउनै पथ्र्यो । त्यो हिन्दू राष्ट्रध्यक्षको पर्वप्रतिको सम्मान थियो । उहाँले पनि राजाको हातबाट टीका ग्रहण गर्नुभयो । यसैलाई विरोधीहरुले खपाङ्गीलाई सिध्याउने अस्त्रको रुपमा प्रयोग गरे । उनीहरुको लागि यो ठूलो मसला बन्यो । यसपछि आफूलाई ठूला मानवअधिकारवादी र नागरिक आन्दोलनका अगुवा भन्नेहरुले विभिन्न लेख नै लेखेर खपाङ्गीको धुवाँदार विरोध गरे । आदिवासी जनजातिहरुले समेत कान नसमाति कागको पछि दौडेर खपाङ्गीको विरोधमा लागे । यतिसम्म कि कतिपयले त पुनः टीका नै लगाउन थालेको पनि सुनियो । वास्तवमा यो विरोध खपाङ्गीको राजनीतिक आवाजदेखि तर्सिएका मुठिभर अभिजात वर्गको ठूलो षडयन्त्रबाट आएको थियो । जसलाई जनजातिहरुले बुझेनन् । दशैंको टीका उनीहरुको लागि एउटा निहुँ मात्र थियो । खासगरी खपाङ्गीको राजनीतिक आवाजलाई सिध्याउन कुनै प्रकारको निहुँ खोजिरहेका वर्गको लागि यो एउटा उपयुक्त अवसर थियो । जसलाई उनीहरुले भरपुर प्रयोग गरे । पूर्व राजा ज्ञानेन्द्रको हातबाट टीका लगाउने मात्र होइन, प्रधानमन्त्रीमा नियुक्ति गरियोस् भनेर दरबारमा विन्तीपत्र हाल्नेदेखि दाम चढाउने नेताहरु आज राज्यसत्ताको केन्द्रविन्दूमा छन् । उनीहरु ठूला गणतन्त्रवादीको रुपमा चिनिएका छन् तर खपाङ्गीले जहाँ जाँदा पनि यसैको जवाफ दिइरहनु प¥यो । उहाँलाई यसरी लखेटिरहनु भनेको यो विचारलाई सिध्याउने समूहको बर्षौदेखिको षडयन्त्रबाट आएको थियो । तर उहाँ मन्त्री बनेर उहाँकै पहलमा बर्षौदेखि लादिएको शास्त्रीय संस्कृत भाषालाई शिक्षा मन्त्री देवीप्रसाद ओझाको पालामा खारेज गरेको त्यो ऐतिहासिक उपलब्धिको कसैले चर्चा गर्दैनन् ।


खपाङ्गी साझा नेता ः
खपाङ्गी सबै उत्पीडित समुदायका साझा नेता हुन् । कतिपयले गोरेबहादुर खपाङ्गीलाई मगरको मात्र नेता हुन् । जनजातिको मात्र नेता हुन् भन्ने गर्छन् तर खपाङ्गीलाई एउटा जाति, एउटा समुदायको मात्रै नेताको रुपमा बुझ्यौ भने उहाँमाथि ठूलो अन्याय हुनेछ । उहाँको विचारले सबैखाले उत्पीडनको विरुद्धमा धावा बोल्ने हुँदा कतिपय सन्दर्भमा त्यस्तो लाग्न गएको मात्र हो । तर उहाँले जनजाति, दलित, मधेशी, मुस्लिम, खस, आर्य समेत सबैको पक्षमा बोल्नु हुन्थ्यो । उहाँलाई ब्राम्हाणवादबाट थिचिएका समस्त उत्पीडित जनताको अन्तर्राष्ट्रिय नेताको रुपमा चिन्न सकिन्छ । जसको विचारलाई कुनै देशको सीमानाभित्र छेकेर राख्न सकिदैन । जसको विचार एउटा जाति, एउटा समूहभित्र खुम्चिएर पनि बस्न सक्दैन ।


खपाङ्गी एक दार्शनिक हून् ः
खपाङ्गीले आफ्नो जीवनकालमा ब्यक्त गरेका विचारहरु एउटा दर्शन हो । उहाँले उत्पीडित समुदायको मुक्तिको लागि ब्यक्त गरेका नवीन विचारहरुले उहाँलाई एक दार्शनिकको रुपमा चिन्न सकिन्छ । त्यसैले उहाँको विचारलाई दर्शनको रुपमा विकास गरौ । जसरी कार्ल माक्र्सले लेख्न बाँकी राखेको अपुरो पुँजी ग्रन्थलाई उसको साथी एंगेल्सले पुरा गरे । नत्र माक्र्स सर्वहारा वर्गका महान गुरुको रुपमा पुज्य हुन सक्दैनथे । माक्र्सलाई साँच्चै माक्र्स बनाउने काम उनका सहयात्री एंगेल्सले गरेका कारण उनी चिनिएका हुन् । बुद्ध पनि आफ्नो जीवनकालमै बुद्ध बनेका होइनन् । उनको ब्यक्त विचारलाई ग्रन्थको रुपमा पछिका अनुयायीहरुले प्रकाशन गर्दै जाँदा बुद्ध संसारका पुज्य भएका हुन् ।
त्यसैले खपाङ्गी विचारलाई पनि ग्रन्थको रुपमा दस्तावेजीकरण गर्न सकेको खण्डमा त्यसले एउटा उत्पीडित जनताको मुक्तिको मार्ग दर्शनको रुपमा आकार लिनेछ र यसले ढिलोचाँडो एउटा क्रान्ति गर्ने निश्चित छ । किनकि खपाङ्गी विचार आफैमा एउटा क्रान्ति हो । जुन क्रान्ति उहाँको जीवनकालमा सम्भव भएन । त्यसलाई दस्तावेजीकरण गरेको खण्डमा आउने दिनमा त्यसले एउटा क्रान्ति गर्नेछ र तमाम उत्पीडन भोगिरहेका समुदायले मुक्तिको सास फेर्नेछन् । नत्र खपाङ्गी विचार एउटा प्रवृतिको रुपमा विसर्जन हुन बाध्य बन्नेछ । खपाङ्गीको त्यो आगो ओकल्ने दर्बिलो आवाज त अब सुन्न सम्भव छैन किनकि उहाँको भौतिक शरीर यो लोकबाट विलिन भइसकेको छ । तर उहाँको विचार गाउँको दुरदराजसम्म यत्र, तत्र, सर्वत्र छरिएर रहेका छन् । यसलाई टिपेर दस्तावेजीकरण गर्ने प्रक्रियामा लाग्नु नै उहाँप्रतिको सच्चा सम्मान हुनेछ । धन्यवाद ।

(स्व. गोरे बहादुर खपाङ्गी फाउण्डेशन द्वारा चौंथो स्मृति दिवसमा बिषेश बक्ताको रुपमा तामाङ्गले दिनु भएको मन्तब्यको पूर्ण पाठ)

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६