A+ A A-

मगर जातिको सामाजिक, राजनैतीक, धार्मिक पहिचान ???

बलबहादुर घर्तीमगर

मगर जाति नेपालको प्राचीन जाति हो । हाल आएर मगर नेपालभर फैलिएको छ । त्यति मात्र होइन भारत बर्मा र विश्वका अन्य मलुकहरुमा पनि बसाई सर्दै गएको छ । जो जहाँ पुगे पनि हाल भौगोलिक पहिचान स्थापित गर्न खोजिएको भूमि नै मगर जातिको मूल थलो हो ।

मगर जाति मध्येपहाडी भूभागको पहारिलो स्थानमा बस्न रुचाउने जाति हो । त्यसैले पहाडी क्षेत्रका पहारिला ठाउँमा मगर वस्ती आज पनि देख्न सकिन्छ । मगर वस्तीहरु एकै ठाउँमा एकिकृत रुपमा रहेका देखिन्छन् । घरमा झल्कने वास्तुकला र बसाईको एकरुपताले मगर जातिको भावनात्मक एकतालाई पनि प्रतिविम्वित गर्दछ । त्यसैले होला समुदायबाद मगर जातिको प्रमुख विशेषता हो । हरेक निर्णयहरु व्यक्तिगत भन्दा समुहबाट निर्धारण हुने गर्दछ । मामा चेली र फूपुचेलाबीच विवाह सम्बन्ध हुने यो जातिको सामाजिक संरचना पनि नेपालका अन्य जातजाति भन्दा भिन्न छ । खासगरी मध्ये पहाडको प्राकृतिक श्रोतको उपयोग र व्यवस्थापनमा मगर जातिको अब्बल क्षमता रहेको छ । पुनरजन्ममा विश्वास गर्ने तर स्वर्गको परिकल्पना नगरिएको मगर जातिको जीवनोत्तर अवस्थाको पनि आफ्नै खालको विश्वास र मान्यता छ ।

मगर जातिको राजनीतिशास्त्र

मगर जातिको आफ्नै राजनीतिशास्त्र छ । समुदायवाद मगर जातिको मुख्य राजनीतिक दर्शन हो । यो परिवारको तहसम्म पनि रहेको छ । पारिवारिक निर्णयमा महिलाको सहमति वेगर कमै निर्णय हुने गर्दछन् । मगर जातिमा शुरुवातमा खसहरुको प्रभाव त्यसपछि हिन्दु समाज व्यवस्थाको जबरजस्त प्रभाव परेको देखिन्छ । यसले मगरको मौलिक राजनैतिक प्रकृयामा पनि निकै बदलावहरु भए । यसको परिणाम आज हाम्रो सामू छ । मगरहरुको मौलिक राजनैतिक अभ्यासले नेपालको राजनीतिक विकासक्रममा केही न केही प्रभाव पारेकै होला तर यसको अध्ययनको खाँचो छ । नेपालको भूमि प्रशासनमा प्रचलित रैकर शब्द मगर भाषाबाट नै गएको शब्द हो ।


रई राजा वा मालिक हो । मगर जातिमा आज पनि रई भन्ने शब्द छ । यसले पनि मगर जाति सामुहिक तर केन्द्रिकृत नेतृत्वमा विश्वास गर्ने जाति हो । मगर जातिमा उमेर नेतृत्वको मुख्य योग्यता हो तर निर्णय सामुहिक हुने गर्दछ । शिर्तू, ङएतामे, पोन निर्धारणमा मुख्य आधार आज पनि उमेर रहनु यस्को ज्वलन्त उदाहरण हो । मगर जाति वंशलाई नभई उमेरलाई नेतृत्वको मुख्य आधार मान्दछ । उमेरले जेठो मान्छे समुहमा सम्मानित हुन्छ । उसबाट समुहले अगुवाईको अपेक्षा गर्दछ । परिवारमा पनि जेठो मान्छेको आशन अरु भन्दा विशेष हुन्छ । विवाद निरुपण तथा कुनै विशेष कार्याम्भमा पनि समुदायको जेठो व्यक्तिको भूमिका अपेक्षित गरिन्छ ।

मगर जातिको सामाजशास्त्र

मगर जाति हिन्दु वर्ण व्यवस्थाबाट प्रभावित छैन । हिन्दुहरुले वैंश्य जातिको व्यवहार गर्न खोजे पनि वि.सं. २०५८ पछि भने आदिवासी जनजातिमा समुहकृत भएको छ । यसले मगर जातिलाई कथित हिन्दु वैंशे जातिबाट मुक्ति दिलाएको छ । मगरभित्र कुनै पनि थरहरु उचनीच शुध्द अशुध्द हुँदैनन् । सामान्य त मगर जातिका प्रमुख थर पद हुन् भने उपथर उत्पत्तिको थर हुन् । जस्तो रोका पुन बुढा भनेका क्रमश ग्राम उपप्रमुख, पुजारी, सेनापति हुन् । पुन मगरजाति भित्रबाट विकास भएको पद हो भने बाँकी दुई खस राज्यबाट आयात भएका हुन् । राना थापा लगायतका थरहरु पनि पद नै हुन् । उपथर खुट्याएर विवाहबारी चलाउने प्रचलन आज पनि छ जस्तो बाइजाली र दर्लामी । मामाचेली र फूपुचेलाको विवाह हुने भएकोले उपथरकै आधारमा पूर्व निर्धारित इस्त माइतीको स्थायी नाता सम्बन्ध रहेको हुन्छ । विवाह हिन्दु धर्म जस्तो कन्यादानको दर्शनबाट निर्देशित नभएर संझौता सम्बन्ध वा माइतीको चेलीमा

इस्तको हकले तय गर्दछ । त्यसैले बुहारीको स्थान कमजोर हुँदैन । माइती पक्ष बलियो र माथिल्लो स्थानमा हुने हुँदा कुटुम्बका लागि माइतीको आशिर्वाद सदा अपेक्षित हुन्छ ।

मगर जातिको अर्थशास्त्र

मगर जाति नेपालको मध्ये पहाडी क्षेत्रमा सदियौँदेखि रही आएको जाति हो । मध्येपहाडका धेरै जस्तो स्थानको नामाकरण पनि मगर भाषाबाट नै भएको देखिन्छ । यहाँको जल जमिन जंगल जडिबुटीको उपयोग गर्दै पुस्तौँ पुस्तासम्म रही आएको मगर जातिको मुख्य पेशा खेती र पशुपालन हो ।उपल्लो भेगतिर भेडापालन पनि मुख्य पेशाको रुपमा देखिन्छ तर मध्ये पहाडमा अन्नबाली र गाई भेडा बाख्रा पालन प्रमुख जीविकोपार्जनका साधन हुन् ।

पाहा अरिङ्गाल छिचिम्म्रा सुगुर गाई भैसी तथा सिस्नो जुलुका च्याउ कोदो जस्ता जीव र वनस्तपती समेत मगर जातिका खाध्य श्रोत हुन् जस्लाई गैररैथानेले अखाध्य वस्तुको रुपमा परिभाषित गर्दै आएको देखिन्छ । केही दशक अघिसम्म नुन बाहेक सबै वस्तु आफै उत्पादन गर्न सक्ने र आत्म निर्भर अर्थतन्त्र भएको जाति हो मगर । पछिल्लो समय भने भारतीय र बेलायती सेनामा सेवा गर्ने अभ्यास हुन थालेपछि मगर जातिको अर्थशास्त्र लाहुरिज्मतिर शिफ्ट भएको छ । यो आज झन् विस्तार भएको छ ।

मगर जातिको संस्कृति

नदीनालाका मुहान, पर्वत, जंगललाई मगर जातिले पूजा गर्दछ । विसौना स्थापना गरी पुस्तौँ पुस्ता पित्तरहरुलाई वरपिपल घेरेर थापना गर्ने चलन छ । परिवार आफ्ना पित्तरहरु आफ्नै कुलमा पुनरजन्म लिएर आउन भन्ने अपेक्षा गर्दछन् । मृत्यूपछि पनि पित्तरको रुपमा घुर विसौनीमा आफैसँग रही रहने हुँदा मिठो मसिनो र पाहुनाको पाहुर पहिलो नम्बरमा उनीहरुलाई पस्केर मात्र अरुले खाने चलन छ । यसले मगर जाति आफ्ना पूर्वजप्रति अति समर्पित जाति हो भन्न सकिन्छ । मगरहरु १२ भाई इहरीहरुलाई बराहाको रुपमा पूजा गर्ने गर्दछन् । नेपालमा बली दिएर वर माग्ने र वर प्राप्त गर्न सकिने विश्वास भएका देवी देउताहरु मगरहरुकै बराहा हुन् । रोल्पाको जलजला म्याग्दीको खैर बराहा तनहुँको छब्दी बराहा फेवातालको ताल बराही गोरखाको मनकामना यसका उदाहरण हुन् । जन्म विवाह मृत्य संस्कारहरु आफ्नै खालका छन् । कुटुम्ब विना यिनको विधि पुरा हुँदैन । मगरको कर्म काण्डमा पण्डित लामा पाश्चरको खाँचो हुँदैन । कुटुम्ब वा इस्तहरु अनिवार्य छ ।

मगर जातिको धर्म

मगर जाति कुनै धर्मको बन्धनमा बाँधिएको जाति होइन । संस्थागत रुपमा मगर संघले मगरको जातीय धर्म बुध्द घोषणा गरे पनि त्यो यथार्थ होइन । नेपाल हिन्दु अधिराज्य हुँदा हिन्दु धर्मलाई काउन्टर गर्न पनि नेपालको दोश्रो ठूलो धर्म बौध्द अंगालियो होला । अर्को कुनै समय यस्तो थियो कि धर्म नभएको पनि मान्छे हुन्छ र, भनिन्थ्यो । प्रकृति पूजकले पहिचान पाएको थिएन । धर्मको महलमा कुनै न कुनै धर्म उल्लेख गर्नु पर्ने बाध्यता थियो । त्यसैले मगर संघले हिन्दुको ज्यादती विरुध्दको आवाज उठाएको पनि हुन सक्छ । त्यो सन्दर्भमा सायद नेपालको मगर जातिसँग त्यो नै उपयुक्त विकल्प थियो होला । तर मगर जातिको जातीय धर्म बौध्द हुन सक्तैन । यसो भनिरहँदा खेरी फेरी डोल्पाका काइके भाषी मगरहरु र अन्य बौध्द धर्मालम्बी मगरहरुको पनि धर्म बौध्द होइन भनेको चाँही होइन । तिब्बती समुदायसँग निकट रहेका मगरहरुले भने बौध्द धर्म अंगालेको देखिन्छ । अन्य मगरहरुमा हिन्दु धर्मको प्रभाव बढी देखिन्छ । कतिपय मगरहरुको त बाहुन पण्डित विना कर्मकाण्ड नै नहुने अवस्था पनि छ, खस जस्तै । कतिपय मगर क्रियश्चनतिर प्रवेश गरेको पनि पाइन्छ । तर जो जहाँ भएपनि यो चाँही निश्चित हो कि मगर जाति धार्मिक सम्प्रदाय होइन बरु सांस्कृतिक रुपमा अत्यन्त सम्पन्न जाति हो । त्यसैले मगर जातिलाई धर्मबाट अलग पारेर भाइचार निर्माण गर्नु पर्छ ।


धर्मको शास्त्रीय विकासलाई हेर्ने हो भनेपनि यो ३ चरणमा विकास हुन्छ । प्रकृति पूजक, बहुदेउतावाद, एकलदेउतावाद । एकलदेउतावाद नै धार्मिक सम्प्रदाय हो । खासमा भन्ने हो भने मगर जाति कुनै धर्मको कित्तामा जानु पर्ने आवश्यकता छैन । अब त बरु राज्यलाई धर्मको महल नै हटाउने भन्नु पर्ने बेला आएको छ । धर्म निरपेक्ष समाजमा यसको आवश्यकता छ । धर्मको नाममा हामीबीचको बन्धुत्वलाई किन कमजोर बनाउने । हाम्रा पूर्वजहरुले अंगालेको संस्कृति बचाउँ, यसलाई अझ समयानुरुप विकास गरौँ अनि आधुनिक र उन्नत समाजमा फड्को मारौँ । धर्म राजनीतिक पार्टिको नाममा हामी ध्रुवीकरण नहऔँ, यसमै मगर जातिको कल्याण हुने छ ।

 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर