A+ A A-

बुङ्कोटको ऐतिहासिक जनविद्रोह र लखन थापाको सहादत

–उमेश बहादुर राना


व्यक्तिगत स्वार्थ त्यागेर देश र जनताको निम्ति आफ्नो जीवनको आहुती दिनेहरू विरलै भेटिन्छन् । त्यसैले त्याग, तपस्या र वलिदानको मार्गमा निरन्तर हिड्नेहरू सवैका निम्ति प्रिय र पूज्य हुन्छन् । देशमा ठूलो आदर सम्मान पाउँछन् । राष्ट्रको सपुत, राष्ट्रको शान, राष्ट्रको धरोहर, राष्ट्रको गौरव, राष्ट्रको गहना जस्ता शब्दावलीहरूले विभूषित हुने सौभाग्य जो कोहीले पाउँदैनन् तर सहिदहरूले प्राप्त गर्दछन् र यो राजकीय सम्मान हो । निश्वार्थपूर्वक जीवनको वलिदान दिएर समाजमा महानता दर्शाउन त्यति सजिलो छैन । जङ्गबहादुरको शासनकालमा यस्तै महानता देखाउने पहिला व्यक्ति थिए – लखन थापा मगर, जसलाई निरङ्कुश राणाशासन विरुद्ध ठूलो जनलहर पैदा गर्दै जनविद्रोहको अगुवाई गरे बापत बि.सं.१९३३ फागुन २ मा झुण्ड््याएर मृत्युदण्ड दिइयो । उनी संगसंगै अन्य ६ जना सहयोद्धाहरू पनि एकसाथ वलिमा चढे । यसरी लखन थापाले देशमा राजनैतिक आन्दोलनको श्रीगणेश गरेर जनसङ्घर्षको पहिलो जग बसाले, जनतालाई संगठित हुन लगाए, निरङ्कुशता विरुद्ध लड्न सिकाए, हुकुमी शासनको बदलामा जनतन्त्र मागे अनि जनस्तरबाटै वीरतापूर्वक लडेर अमरत्व प्राप्त गरे । तर विडम्बना ! अनेकौं दवाव पश्चात् २ वर्षअघि मात्र उनलाई “प्रथम सहिद” को उपाधि मिलेको छ, यो खुशीको कुरा हो तर राष्ट्रिय विभूतिको सम्मान दिन राज्यबाट अझै कञ्जुस्याईं भइरहेको छ ।


इतिहासको अध्ययन गर्दा, लखन थापा मगर ‘पुरानो गोरख गण’ का होनहार सैनिक थिए । सानैदेखि तीक्ष्ण बुद्धि, दूरदर्शी र साहसी भएकाले उनी विलक्षण प्रतिभाका धनी थिए । मिजासिलो बोली, बचन र व्यवहारका कारण पल्टने साथीभाइहरू बीच उनी अत्यन्त लोकप्रिय थिए । सैन्य सेवामा साहस, पराक्रम र रणकौशल आदि कुरामा निपूर्ण भएका कारण उनी नेपाली सेनाको कप्तान दर्जामा पुगेका थिए । सोही पल्टनका अर्का व्यक्ति जयसिंह चुमीसँग उनको विशेष प्रकारको मित्रता थियो र विदा मनाउन पुख्र्यौली गाऊँ बुङ्कोट (गोरखा) आउँदा जयसिंहसंगै बस्ने गर्दथे । विदाको समय नेपाल र भारतका विभिन्न स्थानहरू घुमेर पनि बिताउँथे । यस्तो भ्रमणबाट उनले राणाकालीन नेपाल र ब्रिटिशकालीन भारतको भौगोलिक, ऐतिहासिक, आर्थिक, सामाजिक र राजनैतिक जनजीवनसँग राम्ररी घुलमिल हुने अवसर पाएका थिए ।

कोतपर्व र भण्डारखालपर्वबाट सत्ता हत्याएर सर्वेसर्वा बनेका जङ्गबहादुर राणाका कुकृत्यहरूले सीमा नाघिरहेको थियो । राणाहरूको शोषण, दमन र अत्याचारका विरुद्ध बोल्ने कसैको पनि आँट थिएन । राणाहरूलाई अङ्ग्रेजको संरक्षण थियो । जङ्गबहादुरले उच्च प्रशासनिक ओहोदा र सैन्य सेवाको क्षेत्रमा सर्वसाधारणलाई जर्नेलसम्म हुन दिंदैन थिए । त्यसैले योग्य र सक्षम नेपाली युवाहरू भित्रभित्रै क्रुद्ध थिए । सन् १८५७ मा भारतीय सैनिकहरूले विद्रोह गर्दा त्यसलाई दबाउन जङ्गबहादुरले नेपाली सेना पठाएर विध्वंश मच्चाउन लगाएका थिए । यस घटनाबाट गोर्खालीहरू एकातिर जङ्गबहादुरप्रति रूष्ट भए भने अर्कातिर अङ्ग्रेजप्रतिको वर्षौ पुरानो विद्वेषलाई झलझली सम्झन पुगे । फलतः गोर्खालीहरू जङ्गबहादुरको रवैया विरुद्ध संगठित बन्न पुगे । लखन थापा लगायत कैयौं गोर्खालीहरू त्यसबेला लखनऊ खटिएका कारण उनीहरूले अङ्ग्रेजको दासताबाट मुक्ति पाउन वलिदान हुने सयौं भारतीय सहिदहरूको सङ्घर्ष र उनीहरूप्रति गरिएका दुव्र्यवहारहरू आफ्नै आँखाले देखेका थिए । नेपाली सेनामा देखा परेको यस्तो असन्तोष शान्त पार्न लखनऊ युद्धको सफलतापछि टुँडिखेलमा सम्मान कार्यक्रमको आयोजना गरियो । त्यहाँ जङ्गबहादुरप्रति भड्केका श्रीपद गुरुङको तत्कालै हत्या गरियो । अव जङ्गबहादुरको शासनकालमा राणाहरू विरुद्ध बोल्ने कसैको हिम्मत भएन र उनको सर्वसत्तावादी शासनकालमा देखा परेका यस्ता अनेकौं अन्याय, अत्याचार विरुद्ध लड्न जनस्तरबाटै संगठितरूपले आँधीबेहरी सृजना गर्ने निष्कर्षमा लखन पुगे ।


बि.सं.१९२७ मा घर विदा मनाउन बुङ्कोट आएका लखन थापा जागिरमा फर्केनन् बरु जयसिंहसँगै गाउँमा बसे र सो ठाउँलाई विद्रोही भूमि वनाए । स्थानीय व्यक्तिहरूको आर्थिक, भौतिक सहयोग र श्रमदानमा बुङ्कोटमा विद्रोहीहरूको निम्ति भव्य किल्ला बनाए र २००० जति युवाहरूलाई लडाकु सेना बनाई सैन्य तालिम दिए । यसरी विद्रोही मिलिसियाहरूको फौज तयार भयो । विद्रोही सेनासंग पर्याप्त बन्दूक, तरवार, खुँडा, भाला, धनुकाँड, खुकुरी जस्ता हातहतियारहरू पनि थिए । आफ्ना सेनाहरूको आग्रहमा विद्रोही सरकार बन्यो र लखन थापा त्यसका मुख्तियार बनाइए । विद्रोही सेनामा ठूलो संख्यामा निवृत्त सैनिक र स्थानीय युवाहरूको उपस्थिति थियो ।



सैनिक सेवामा संलग्न आदिवासी जनजातिहरू पहिले युद्धजीवीवर्ग मानिन्थे । उनीहरू क्षत्रीय समाजका समकक्षी थिए र सोही अनुरूप सामाजिक व्यवहारहरू पनि चल्ने गर्दथ्यो । तर बि.सं. १९१० मा मुलुकी ऐन ल्याइएपछि जनै लगाए उच्च जाति मानिने र उपल्लो दर्जा पाउनयोग्य हुने थिति बसालियो । जनै नलाउने युद्धजीवीवर्गलाई शुद्रको रूप दिइयो । समाजमा उनीहरूको पानी चले तापनि गैर–तागाधारीहरू निच जातिसरह मानिन्थे । यसरी नङ–मासु जस्तो मिलेर बसेको नेपाली समाज तागाधारी र मतवाली वर्गमा विभक्त भयो । नेपाली समाजमा उचनिच र छुवाछूत जस्ता अमानविय विभेदहरू बढ्दै गयो । तत्कालीन नेपाली समाज अशिक्षित भएकोले जनताहरूलाई राजनैतिकरूपले जागरुक बनाउन त्यति सरल थिएन । मुलुकी ऐनले तागाधारी र मतवाली बीच खडा गरेको यस्तो विभेदको पर्खाल भत्काई समाजमा व्याप्त कुरीति र अन्धविश्वासलाई हटाउन अति जरुरी थियो । यस्तो रुढीवादी, धार्मिक, सामाजिक प्रवृत्तिहरूका विरुद्ध अशिक्षित जनतालाई चेतना बाँड्न र राजाप्रजा दुवैलाई एकसमान पार्न सकिने सर्वमान्य धर्मको खोजी गर्दा तत्कालीन समयमा जोसमनी सन्तपरम्परा देखा प¥यो । विद्रोही लखन थापाले यही सरल र सात्विक धर्मको बाटो रोज्न पुगे ।



जोसमनी मतमा एक प्रकारको सिद्धि प्राप्त गरेर लखन थापाले समाजमा जनचेतना फैलाउन आरम्भ गरे । जोसमनीहरूले मूर्तिपूजा र जातीय भेदभाव, छुवाछूतमा पटक्कै विश्वास गर्दैनन् । निर्गुण उपासना उनीहरूको मूल दर्शन हो । लखनको तर्क र मधुरवाणीले समाजमा एक प्रकारको जादू चलायो । ठूलो संख्यामा मानिसहरू एकत्रित हुन थाले । त्यसबेलाको धर्मभीरु समाजमा उनले – “म सिद्ध लखन थापाको अवतार हूँ र मलाई भगवती मनकामना माईले जङ्गबहादुरलाई मार्नू र नेपालको शासनसत्ता आफ्नो हातमा लिनू भनी आशिर्वाद दिएकी छिन्” भनेर आपूmलाई मनकामना देवीले सपनामा वरदान दिएको बताउँदै जनएकता र बृहत् सङ्घर्षका लागि युद्धघोष गरे — “जङ्गबहादुरले नेपाल म्लेच्छ(अङ्ग्रेज)लाई बेच्यो, दुनियाँलाई त्राही–त्राही पारिरहेछ । जातपात, छुवाछूत झन चर्काएको छ । जङ्गेलाई हटाई नेपाल आमालाई पापको बोझबाट हल्का पार्नु पर्छ । नेपालमा सत्य युग फिराऊँ । लौ भाइ हो ! तयार होऔं ।”

नवनिर्मित दरवार परिसरमा जनसमूह भेला गराई जोसमनी मतको प्रवचन दिएर उनले नेपाली समाजको जातीय एकता र सद्भावलाई जोगाउन सर्वसाधारणलाई आफूतिर आकर्षित गर्न थाले । जङ्गबहादुरको अन्याय, अत्याचार विरुद्ध एकजुट हुन उत्प्रेरित गरे । निरङ्कुश राणाशासनलाई सदाको लागि समाप्त पारेर स्वतन्त्रतापूर्वक बाँच्न पाउने सत्ययुगको जस्तो उदार र भेदभावरहित शासन व्यवस्था (प्रजातन्त्र) ल्याउन उनले नयाँनयाँ विचार प्रवाह गर्न थाले । यसरी राणाशासन विरुद्ध उनले रणनीतिक हिसाबले दैवी शक्ति र अवतारवादको समेत आड लिएको देखिन्छ । त्यसबेला मनकामना देवीको ठूलो प्रभाव रहेकोले लखन थापाको उद्घोष देववाणीको रूपमा आयो र उनले पाएको प्रचारित वरदानकोे जनमानसमा सकारात्मक प्रभाव पर्न गयो ।


जङ्गबहादुरले यसबारे निकैपछि सुइको पाए । वि.सं.१९३३ को फागुनमा विद्रोही फौजलाई दमन गर्न काठमाडौंबाट देवीदत्त पल्टन आइपुग्यो र बुङ्कोटमा भिडन्त भयो । किल्ला भित्रका गोलीगठ्ठा र अन्य हातहतियार सिद्धिएपछि १२ विद्रोहीहरू पक्राउ परे । उनीहरूलाई थापाथली दरवारमा पु¥याएर माफी माग्न लगाइयो, कसैले माफी मागेनन् । ७ जना निर्दोष ठह¥याई छाडियो भने ५ जनालाई विद्रोह स्थलमै मृत्युदण्ड दिने आदेश भयो । बुङ्कोट किल्लाको परिशरमा मनकामना मन्दिर अगाडि लखन थापालाई र सँगसँगै जयसिंह(जहरे) चुमी, विराज थापा, जुठ्या थापा, जितमान गुरुङ्ग, अजपसिंह मगर र अच्छामी मगरलाई निर्ममतापूर्वक झुण्ड््याएर मारियो । भनिन्छ, सेनाको घेराबन्दी तोडेर विद्रोहीहरू भाग्न सक्थे तर भागेनन्, माफी माग्दा छुट्कारा पाउन सक्थे तर माफी मागेनन् । किनकि उनीहरू सच्चा देशभक्त थिए र ती सपुतहरूले हाँसीहाँसी मृत्युलाई स्वीकारे, कसैसँग कुनै प्रकारको याचना गरेनन् । झुण्ड््याइनु अघि लखन थापाले त्यहाँ उपस्थित ठूलो जनसमूहलाई अन्तिम पटक सम्बोधन गर्दै भने— “मेरो लाशसँग सति जाने जङ्गबहादुर त होला नि !.......म मरेको सात दिनभित्र यो जङ्गे पनि मर्नेछ । मलाई झुण्ड््याइएको बेला कोही पनि नरुनू र पीर पनि नगर्नू ...”
जहिलेसुकै सत्ताधारीहरूकै पक्षमा इतिहास लेखिन्छ, उनीहरूनै इतिहासमा हावी हुने गर्छन् । जङ्गबहादुर जस्ता क्रुर शासकको अस्वभाविक मृत्युलाई रहस्यकै रूपमा लुकाइएको छ भने सहिद लखन थापाको योगदान र वलिदानबारे सत्यतथ्य लेख्नु त परै जाओस् उनको सहादतबारे प्रशस्त भ्रम छरिएको छ । बुङ्कोटको चेतनामूलक विद्रोहलाई “लखन थापाको उत्पात” र “हाँस्यास्पद विद्रोह” भनेर खिल्ली उडाइएको छ, यो सहिदको अवमूल्यन र सहादतको अपमान हो । जातपात, उचनिच, छुवाछूत, अन्याय, अत्याचार, शोषण र दमनविरुद्ध उनले चलाएको विद्रोहले राजनैतिक र सामाजिक क्षेत्रमा पु¥याएको योगदानलाई सिंगो नेपाली समाजले बुझेर त्यसैबेला साथ दिन सकेको भए शायद राणाहरूको १०४ वर्षे कालरात्री यो देशमा कसैले व्यहोर्नु पर्दैनथ्यो !


नेपालमा प्रजातन्त्रको सुनौलो विहानी ल्याउन बि.सं. १९९७ मा आफ्नो जीवनको आहुति दिने शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द ठकुरीसमेत चार अमर सहिदहरूको नाम हामी सवैलाई कण्ठ भएझैं जङ्गबहादुर राणाको निरङ्कुश शासन सत्तालाई ठाडो चुनौती दिंदै जनस्तरबाट संगठितरूपले बुङ्कोट (गोरखा) मा प्रजातन्त्रको लागि सशस्त्र सङ्घर्ष गर्ने क्रान्तिकारी लखन थापालाई सोही आरोपमा उनका सहयोद्धाहरूका साथ बि.सं.१९३३ मा मृत्युदण्ड दिइएको इतिहास पनि दिनको घामझैं छर्लङ्ग छ । बुङ्कोट विद्रोहले जङ्गबहादुरको शोषण, दमनका विरुद्ध आम नेपाली जनतालाई पहिलो पटक जागरुक बनाएको र राणाहरू विरुद्ध आन्दोलित हुन उत्प्रेरित गरेको देखिन्छ । यस घटनाक्रमले नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा अग्रणी स्थान ओगटेको देखिन्छ । राजनैतिक वा सामाजिक वा धार्मिक जुनसुकै रूपले भनौं लखन थापाले चलाएको जनविद्रोह एउटा सशक्त क्रान्ति थियो, जो केवल देश, देशवासीहरूको मुक्तिको लागि रहेको प्रष्ट छ । उनले राष्ट्रबाट उच्चकोटीको सम्मान स्वरुप राष्ट्रिय विभूतिको स्थान पाउनु पर्ने कुरा आफ्नो ठाउँमा विचारणीय त छँदैछ । तथापि जनस्तरबाट संगठितरूपले उठेको यो जनविद्रोहलाई कतिपय विद्वानहरूले उच्च मूल्याङ्कन गर्दै पहिलो जनआन्दोलनको संज्ञा दिएका छन् । तर दुःखको कुरा ! उनको त्याग, तपस्या र योगदानप्रति अझै प्रश्न उठाइएको छ । जबकि लखन थापाले गरेको विद्रोहमा स्पष्ट राजनीतिक दृष्टिकोण, सशस्त्र तयारी, भारी जनसमर्थन र स्थानीय जनसहभागिता जस्ता सवल पक्षहरू नभएका होइनन् । उनको योग्यता, बौद्धिकता र दूरदर्शिताको सच्चा दिलले कदर गर्नु पर्दछ, उनलाई देशभक्तहरूको सूचीमा अग्रपंक्तिमा राख्नु पर्दछ ।
यसअघि देशमा हत्या, षड्यन्त्र र संघर्षहरू नभएका होइनन् तर देशको राष्ट्रियता, स्वाधिनताको रक्षा, जनअधिकारको माग गर्ने सवालमा पृथक देखिन्छन् । तथापि बुङ्कोटको घटना अपूर्व र ऐतिहासिक छ । घटना अत्यन्त योजनावद्ध, संगठित र बृहत रहेको देखिन्छ ।


विशेषतः राणाकालमा पद, प्रतिष्ठा र प्रतिशोध जस्ता निजी स्वार्थको लागि अनेकौं षड्यन्त्र र संघर्षहरू भएका थिए जो देश र जनताको हित, भलाईसंग जोडिन सकेनन् । त्यसैले लखन थापा नेपालका प्रथम जनविद्रोही, प्रजातान्त्रिक आन्दोलनका प्रणेता, जननायक, अग्रदुत, सुत्रधारका रूपमा समेत चिनिन्छन् । उनको निश्वार्थ त्याग, तपस्या र वलिदान नेपालकै इतिहासमा अद्वितीय रहेकोले बुङ्कोट विद्रोहका महानायक लखन थापा यस धर्तीका सच्चा सपुत, महान देशभक्त र निर्विवादरूपले देशका प्रथम सहिद पनि हुन् । यति हुँदाहुँदै पनि पोखरामा निर्मित लखन थापाको भव्य सालिक राज्यले किन हटायो ? उनलाई राष्ट्रिय विभूतिको सम्मान दिन राज्य किन चुकेको ? स्पष्ट छैन तर जनता यसको जवाफ चाहान्छन् ।


अन्त्यमा लखन थापा संगै मृत्युदण्ड पाएका अन्य ६ जनालाई पनि सहिदको सम्मान दिइयोस्, प्रथम सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गरियोस् र साथसाथै सन्तानब्बे सालका चार सहिदहरूका साथ सहिदगेटमा प्रथम सहिदको सालिक पनि राखियोस् भन्ने जोड्दार माग राख्दै १४१ औं स्मृति दिवसको अवसरमा राष्ट्रका लागि समर्पित सम्पूर्ण बुङ्कोटे सहिदहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।
(उपाध्यक्ष, प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठान, काठमाडौं )


 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर