A+ A A-

ठुला राजनीतिक दल तामांग समुदाय प्रति राजनीतिक पूर्वाग्रही किन ?

अमरदीप मोक्तान

डांडाखर्क, दोलखा -  संबिधान संस्थागत गर्न प्रदेश तथा प्रतिनिधिसभा चुनाव रुपी युद्धको दुदुम्भी बजी सकेको छ । एकातर्फ  एमाले नेत्रत्व को बाम गठबन्धन दुइ तिहाई मत प्राप्त गर्ने स्वप्न देखि रहेकाछन  भने अर्को तर्फ  काँग्रेस नेत्रत्व को लोकतान्त्रिक गठबन्धन  बहुमत प्राप्त गर्न  ब्यूह रचना मा व्यस्त छन् । दुवै गठबन्धन का उम्मेदवार को सुची जारी भएको छ तर  उम्मेदवार हरु को सुची हरु सरसरी हेर्दा विगत र वर्तमान मा केहि परिवर्तन भएको जस्तो प्रतित भएन । हिजो जुन प्रकार ले केहि ठुला दल द्वारा चिन्हित प्रियपात्र मधेशी ,आदिवाशी ,दलित जति  लाई प्राथमिकता को सुची मा राखिन्थ्यो त्यो यथावत रुप मा कायम रहेको छ दुर्भाग्य के छ भने तामांग समुदाय राजनैतिक प्राथमिकता को श्रेणी मा कहिले पनि परेनन्  कारण अज्ञात छ ? निरन्तर रुप मा उत्पीडन मा परेका जाति  समुदाय को स्तरोन्नति का निमित्त संबिधान मा अधिकार  र सम्मान को सुरक्षा  लिपिबद्ध भएता पनि त्यस तर्फ ठुला दल द्वारा हेपाहा प्रवृति को प्रदर्शन गर्दै बेवास्ता गरेको देखिन्छ  ।  ठुला राजनीतिक दल हरु ले आदिवाशी जनजाती समुदाय मध्ये  तामांग समुदाय प्रति टिकट वितरण मा जहिले पनि घोर अन्याय गरेका छन् समग्र मा भन्नु पर्दा कता कता विगको निरङ्कुश सोच जस्तै तामांग समुदाय कुनै पनि हालत मा  राजनैतिक रुपमा शक्तिशालि हुनुहुदैन भन्ने मानसिकताले ग्रस्त देखियो । काँग्रेसले सन्तोषजनक न भएता पनि विगत भन्दा केहि उदारता प्रकट गर्दै सुधारको संकेत देखाएको छ भने एमाले माओवादी नेत्रत्व को बाम गठबन्धनले तामांग समुदायलाई टिकट वितरणमा मुर्ख, बोट बैंक, लठैत र राजनीतिक अछुत नै सम्झ्यो भन्दा अन्यथा हुने छैन ।
Image may contain: 1 person, close-up

पृथ्वीनारायण शाहको अस्तित्व प्रारम्भ पश्चात् राज्यमा जो सत्तासिन भएतापनि तामाङ्ग समुदाय माथि निरन्तर रुपमा राजनैतिक धार्मिक, आर्थिक, साँस्कृतिक तथा सामाजिक रुपमा शोषण र उत्पिडनको क्रुर प्रहार जारी राखेको छ । तामांग समुदाय प्रति गरेको बेवास्ता र भेदभाव विगत को निरङ्कुश राणा शासनमा मासिने मतवाली को संज्ञा दिदै तामांग समुदाय प्रति गरेको घोर अन्याय आज पनि यथावत रुपमा विधमान रहेको स्मरण गराएको छ । वास्तवमा भन्ने हो भने आदिवाशी समुदाय मध्ये सबै भन्दा बडी जनसंख्या भएको तामांग समुदाय नै हो निरङ्कुश राणा शासन कालमा तामांग समुदाय प्रति घोर पूर्वाग्रही अन्यायपूर्ण दृस्टीकोण अवलम्बन गरेको कारण अवसर प्राप्ति र जीवन यापनका लागि लाखौ तामांग समुदायले आफ्नो थर परिवर्तन गर्न बाध्य हुन् पर्यो जो कि घोर पीडादायक कुरा थियो । आज पनि नेपालका बिभिन्न जिल्लामा लाखौ तामांग समुदाय गुरुङ र मगर थर जोडिएर बस्न बाध्य छन् ।

विगतमा जे जस्तो भयो त्यो बिल्कुलै गलत थियो तर  ऐतिहाशिक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अग्रगामी संबिधान  संस्थागत गर्न हेतु प्रथम पटक हुन् लागेको प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा ठुलो जनसंख्या भएको तामांग समुदाय प्रति विगतको राज्यसत्ता झैँ निरङ्कुश सोच यथावत कायम रहेको पाइयो । प्रतिनिधि सभाको कुल १६५ सिट मध्ये काँग्रेसले  ३ र प्रदेश सभाका लागि १० सिट आबंटन गरेको छ र सन्तोषजनक नभए पनि केहि सुधारको संकेत देखाएको छ तर सर्वहारा निमुखा जनताको हितचिन्तक हुँ भनि दम्भ गर्ने एमाले माओवादी नेत्रत्वको बाम गठबन्धनले प्रतिनिधि सभाका लागि ३ र प्रदेश सभाका लागि ६ सिट आबंटन गरेर तामांग समुदाय प्रति घोर पूर्वाग्रही दृस्टीकोण प्रस्तूत गरेको छ । एकल जातीय तामांग बाहुल्य जिल्ला रामेछाप, नुवाकोट, दोलखा, सिन्धुली, धादिंग, सिन्धुपाल्चोक, मकवानपुरमा तामांग समुदाय प्रति घोर पूर्वाग्रह व्यवहार गरियो  गरियो तर दुखद एवं पीडादायक कुरा के छ भने ८०%  तामांग जनसंख्या(बहुमत) भएको रसुवा जिल्लामा समेत काँग्रेस एमालेले प्रतिनिधि सभा तामांग समुदायलाई  प्रतिनिधि सभाको उम्मेदवारी बाट वन्चित गरेर ठुला पार्टीहरुले तामांग समुदाय प्रति राणाकालीन मासिने मतुवाली दृस्टीकोण यथावत रुपमा कायम रहेको छर्लंग भएको छ ।  प्रतिनिधि सभामा काँग्रेसले बेवास्ता गरेता पनि यस पटक प्रदेश सभामा सन्तोषजनक रुपमा तामांग चयन गरेको स्वागत योग्य छ तर निमुखा उत्पीडित हेपिएका पिल्सिएक जनताको प्रतिनिधत्व गर्ने पार्टी हुँ भनि दम्भ गर्ने एमाले र माओवादी तामांग समुदायका निमित्त मुखमा राम राम बगलीमा छुरा प्रहार गर्ने पार्टीको रुपमा चिन्हित भएको छ । एमाले आज ठुलो पार्टी बनेको छ निश्चित रुपमा त्यसमा तामांग समुदायको मतको महत्वपूर्ण योगदान रहेको छ त्यस्तै गरि माओवादी जनयुद्धमा त्याग बलिदान दिनेमा तामांग समुदाय ले महत्वपूर्ण र अग्रणी  भूमिका खेलेको इतिहास अविष्मरणीय छ के त्यो योगदान त्यो निस्पाप हृदयले दिएको बलिदान मुर्खता थियो त् ?

कुनै समय नेपालका भू–भागका केही क्षेत्रमा तामाङ्ग शासक थिए तर तामाङ्ग समुदाय सबै प्रकारले परिपूर्ण भएता पनि तामाङ्गको स्थिति किन दयनिय छ ? शाह वंशिय शासन सत्ताले तामाङ्ग जातिलाई पिपा गोश्वारा, हली, गोठाला तथा भारी बोक्ने जस्ता अपमानित स्तरका कार्य गर्न बाध्य तुल्याए, तामाङ्ग चेली बेटी राणा, शाह दरबारमा मौजका बस्तु बनाइयो । राई, लिम्बु, मगर, गुरुङ्गलाई सेनामा भर्ना हुन कुनै बन्देज लगाइन फलस्वरुप राई, लिम्बु, मगर, गुरुङ्गको राजनैतिक, शैक्षिक, आर्थिकमा स्तरोन्नति देखिन्छ । सेनामा भर्ना हुनका लागि लाखौ तामाङ्ग समुदायले आफ्नो थर परिवर्तन गरि मगर, गुरुङ्ग, नाममा भर्ना भए, आज ति तामाङ्गहरुको स्तरोन्नति त भयो, तर हमेशाका लागि आफ्नो मातृ थर तामाङ्ग लेख्नु बाट बञ्चित हुनु परेको छ ।२००७ क्रान्तिको सफलता पश्चात् २०१५ सालमा भएको आम चुनावमा तामाङ्ग समुदायले आफ्नो अमूल्य मत दिएर काग्रेंस पार्टीलाई भरपुर सहयोग गरे त्यस चुनावमा नेपाली कांग्रेसले पूर्ण बहुमत प्राप्त गर्यो । वि. पि. को नेतृत्वमा मगर, गुरुङ्ग, राई, लिम्बु, थारु, नेवार, थकाली, यादव लगाएतका सर्वजातिय भावना समेटिएको मन्त्रिमण्डल गठित भयो तर दुर्भाग्य वि.पि.को समावेशी भनिएका मन्त्रिमण्डलमा तामाङ्ग समुदायको प्रतिनीधित्व गराइएन । २०१७ सालमा राजा महेन्द्रले “कू” गरेर शासन सत्ता आफ्नो हातमा लिएर आदिवासी समुदायलाई केही प्राथमिकता दिए तापनि महेन्द्र कालमा तामाङ्ग समुदाय प्राथमिकतामा परेनन् । २००७ साल पश्चात् २०३८ साल अर्थात् ३१ बर्ष पछि मात्र तिलक बहादुर नेगीले प्रथम तामाङ्ग मन्त्री बन्ने सौभाग्य प्राप्त गरे । २००७ साल देखि २०७४ साल सम्म तिलक बहादुर नेगी, भिम बहादुर तामाङ्ग (फुल मन्त्रि), मणी लामा (फुल मन्त्रि), बुद्धिमान तामाङ्ग (फुल मन्त्रि) , सूर्यमान दोङ, सत्यमान तामाङ्ग, डि बि लामा, राधिका तामांग, परशुराम तामांग,  दिलमान पाख्रिन, रेशम लामा, यशोदा कुमारी लामा र  केही हप्ताका लागि मन्त्रि पद प्राप्त गरेका  हित बहादुर तामाङ्ग (फुल मन्त्रि) लगाएतले  मन्त्री, राज्य मन्त्री तथा सहायक मन्त्री बन्ने सौभाग्य प्राप्त गरेका छन् ।

तामाङ्ग समुदाय लाई कांग्रेस तथा पंचायती शासन व्यवस्थाले राम्रो दृष्टिकोण राखेको पाइएन । तामाङ्ग जातिमा राज्य विरुद्ध उकुस मुकुस विद्यमान थियो । २०५२ सालदेखि सुरु भएको माओवादी जनयुद्धमा जातिय मुक्ति तथा अधिकार स्थापना हेतु तामाङ्ग सालिङ्ग क्षेत्रका तामाङ्ग युवा–युवतीले जनयुद्धमा शक्ति रुपमा सहभागिता जनाए एवं सहादत प्राप्त गरे । दिलमाया योञ्जनले रामेछाप जिल्ला स्थित बेथान चौकी कव्जा गर्ने क्रममा भएको भिडन्तमा सहादत प्राप्त गरीन् । माओवादी जनयुद्धलाई विश्व जनमान माँझ ध्यानाकर्षण गराउन महत्वपूर्ण भुमिका खेल्ने दोरम्बा हत्याकाण्डमा बाबुराम लामा, युवाराज मोक्तान लगाएतका  तामाङ्ग सपूतको सहादतले नै सम्भव भएको हो ।२०६३।०६४को विशाल जनआन्दोलन पश्चात् राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई फर्काउने घोषणाका साथ राजतन्त्रको अन्त्य भयो । राजा ज्ञानेन्द्र हमेशाका लागि नारायणहिटी दरबारबाट बाहिरिए । राजतन्त्रको अन्त गणतन्त्रको घोषणाले नेपाली जनतामा हर्ष छाएको थियो । २०६४ को आम चुनावमा विपुल मत प्राप्त गरेर माओवादी नेपालको ठूलो पार्टी बन्न पुग्यो । गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीको रुपमा पुष्कमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरे । प्रचण्ड नेतृत्वमा गठित गणतन्त्र नेपालको ऐतिहासिक मन्त्रीमण्डलमा पुनः तामाङ्ग समुदाय जातिय, क्षेत्रिय, वर्गिय, लिङ्गिय, उत्पिडनमा नपरेको जाति जस्तै गरि ऐतिहासिक मन्त्रीमण्डलमा स्थान दिइएन । प्रचण्ड पश्चात् एमालेबाट प्रधानमन्त्री बनेका माधव नेपाल, झलनाथ खनाल मन्त्रीमण्डलमा तामाङ्ग समुदाय प्रति उपेक्षित व्यवहार गरियो । बाबुराम मन्त्रीमण्डलमा युवा तथा खेलकूद मन्त्रीको रुपमा हित बहादुर तामाङ्गलाई मन्त्री बनाइयो तर एक हप्ता नबित्दै माओवादी पार्टी वृत बाट घोर विरोध पछि हित बहादुर तामांगले राजीनामा गर्न बाध्य हुनु पर्यो । २००७ सालदेखि आजसम्म राजनैतिक वृतमा ठूलो भनाउदा पार्टीहरुले तामाङ्ग जातिलाई राणा, शाहले गरेको क्रुर बर्ताव गरे जस्तैः वर्तमान सम्म निरन्तर रुपमा अछुत व्यवहार गरेका छन् । राजनैतिक वृतमा एमालेमा कहिले नउठ्ने गरि तामाङ्ग नेता ओझेलमा पारिएको छ भने माओवादी केन्द्रमा तामाङ्ग समुदायलाई बाध्य गर्दै पछाडि बेन्चमा बस्ने छात्र बनाइएको छ । कांग्रेसका त्यागी उच्च कद एवं विद्वताले भरिपूर्ण स्व. भिम बहादुर तामाङ्ग जीवित हुन्जेल कांग्रेसले ओझेलमा पार्ने प्रयास गरेको कुरा सर्वविदितनै छ । आदर्शवान कांग्रेस कार्यकर्ताको मनोबल उच्च बनाउन एउटा साधारण कार्यकर्ताले समेत सभापतिको पदमा उम्मेदवारी दिन सक्छन् भन्ने सन्देश दिन सक्ने निष्ठाका धनी स्व. भिम बहादुर तामाङ्गनै हुन् । सभापति चुनावमा भिम बहादुर तामाङ्गले प्राप्त गरेको ७८ मतले कांग्रेसका बहुमत कार्यकर्ता स्व. भिम बहादुरलाई आदर्शका प्रतिमूर्ति निष्ठाका धनी बि पी असल अनुयायी भन्दा पनि काँग्रेस बृतमा निरीह तामाङ्ग जाति सोच्दा रहेछन्, भन्ने कुरा जगजाहेर भएको छ ।

तामाङ्ग भन्दा कम जनसंख्या भएका तराईका यादव जातिले एकजुटता र उग्रता प्रदर्शन गरेकाले, कांग्रेस, माओवादी पार्टीद्वारा यादव जातिलाई उच्च प्राथमिकता प्रदान गरेको देखिन्छ । त्यसकारण यादव जाति राजनीति, निजामति सेवा, विभिन्न नियूक्तिमा आफ्नो सशक्त उपस्थित दर्ज गराउन सफल भएको छ । विघटित  प्रथम संविधान सभा र दोस्रो संबिधान सभामा तामाङ्ग भन्दा तीन गुणा बढी यादव सभासद चयन भएका थिए र यस पटक पनि ठुला भनाउदा पार्टीहरुले थोक भावमा टिकट वितरण गरेको हुनाले नेपालको राजनीतिक बृत यादव समुदाय पुनः  प्रभावशालीनै रहने छन् । यादव समुदाय राजनैतिक रुपमा शक्तिशाली हुनु अति राम्रो कुरा हो त्यो हुनु पनि पर्छ जनसंख्याको दृस्टीकोणले प्रदेश नम्बर ३ को मुख्यमन्त्री पदमा दाबी गर्न सक्ने तामांग समुदाय माथि राजनैतिक अवसर प्राप्ति मार्गमा अन्याय, अवरोध र भेदभाव गर्नु कहाँ सम्म जायज हो ?

छिमेकी भारत वर्षमा तामाङ्ग समुदायले प्रत्येक क्षेत्रमा पहिचान स्थापित गरिसकेका छन् । तामाङ्ग समुदाय बाट साहित्यकार, संगीतकार, गायक, बुद्धिजीवि, डाक्टर, ईन्जिनियर, राजनैतिज्ञ लगायत राम्रो स्थान प्राप्त गर्न सफल हुन सक्छन् भने नेपालमा किन र कुन कारणले हुन सकेनन त्यस प्रति राज्य गम्भीर हुनु पर्ने हो कि होइन ? राज्य भनेको अभिभावक हो र अभिभावकको नजर हमेशा कम्जोर, अस्वस्थ सन्तान प्रति केन्द्रित हुन्छ तर दुर्भाग्य नेपालको राज्यसत्ता कम्जोर रुग्ण सन्तानको औसध उपचार गर्नु को सट्टा रुग्ण सन्तान औसध उपचार बिहिन भई मृत्यु वरण गरोस भन्ने चाहना निरन्तर रुपमा षड्यन्त्र पुर्वक तरिकाले  अवसर प्राप्ति बाट वन्चित गर्ने क्रियाकलापले स्पष्ट हुन्छ  ।

हास्यास्पद एवं गजब  कुरा के छ भने राजनैतिक शक्ति प्राप्त हुने प्रतिनिधि सभा र प्रदेश सभामा  तामांग समुदाय लाई न्यून अवसर दिने रणनीति अख्तियार गर्ने माओवादी बाहुबली प्रचण्डको निर्वाचन क्षेत्रमा प्रचारको जिम्मेवारी एमाले छात्र संगठन नेत्री नविना लामा दियिएको छ भने केपी ओलीको निर्वाचन क्षेत्रमा प्रचार गर्ने जिम्मेवारी अखिल क्रान्तिकारीका सभापति रंजित तामांगलाई दियिएको छ ।

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे जस्तो तन्त्र आएता पनि त्यसको सफलता राज्य संचालन गर्ने विधि  निस्वार्थ सर्वहिताय चिन्तनले मात्र सम्भव हुन् सक्छ ठुला राजनैतिक दल र दलका ठुला नेताहरुले उल्लेखित वचन विपरितको  कदमले जस्तो सुकै अग्रगामी संबिधान निर्माण भएको भनि गर्व गरिएता पनि त्यो विगत जस्तै असफल हुने अवस्यम्भावी छ तसर्थ समयको माग बमोजिम नेपाललाई सबल, सक्षम, विकाशशील राष्ट्रमा परिणत गर्न जसको जत्ति हिस्सेदारी त्यो प्राप्त हुनु नै पर्छ विगतको जस्तै वंश भएता पनि अंश न पाउने परम्पराले नेपाल हमेशा अस्थिर अविकसित अशान्तिले ग्रस्त राष्ट्रमा परिणत हुन् पुगेको हो भनि राज्य संचालन गर्ने जिम्मेवारी पाएका ठुला नेताहरुले गम्भीर रुपमा चिन्तन मनन गर्न जरुरि छ ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी