A+ A A-

बाम गठबन्धनको साम्यवाद र लोकतान्त्रिक गठबन्धनको त्रास

राज्यसत्ता
Image may contain: 1 person, standing, glasses, hat and outdoor



















कार्तिक १५ - प्रदेश र संघको निर्बाचनको संघारमा दुई ठूला पार्टीहरु एमाले र काङ्ग्रेसले भिन्नाभिन्नै दुई महागठबन्धन बनाए । एमाले–माओवादी गठबन्धनको नाम बाम गठबन्धन र काङ्ग्रेस–राप्रपा गठबन्धन लोकतान्त्रिक गठबन्धनको नामले चिनिएको छ । बाम गठबन्धनले दुई तिहाई ल्याएर स्थीर सरकार बनाउने र नेपालमा समाजवादी क्रान्ति सम्पन्न गर्ने झ्याली पिट्न थालेपछि लोकतान्त्रिक गठबन्धनले लोकतन्त्रमाथि खतरा बढेको र साम्यवादी एकदलीय कम्युनिष्ट शासन लादिने त्रासको राजनीतिक ब्यापार सुरु गर्यो । सम्भवतः निर्बाचनमा यी दुई ठूला गठबन्धनले यसैलाई चुनावी नारा बनाएर जनतामा जाने देखिन्छ । सारमा यो दुवै गठबन्धन न समाजवाद हुँदै साम्यवादसम्म पुग्नको लागि हो, न लोकतान्त्रिक मूल्य, मान्यता स्थापित गर्नको लागि नै हो । यो फगत जनताको समाज विकासको नियमलाई बुझ्न नसक्ने अनविज्ञताको फाइदा उठाएर गरिने प्रचार सामाग्री मात्र हुन् । यो मुद्धाको हिसावले उत्पीडित जनतालाई अधिकार दिन बनेको गठबन्धन होइन । यो अवसरवादी र दक्षिणपन्थीहरु बीच सत्तामा टिकिरहन गरिएको गठबन्धन हो । बाम गठबन्धनको गणितबाट तर्सिएको काङ्ग्रेसले स्थानीय निर्बाचनमा बढारिएको राप्रपालाई जोडेर लोकतान्त्रिक गठबन्धन बनायो । यो उसको रहर नभएर बाध्यता थियो । यी दुवै गठबन्धनले नश्लीय सत्तालाई अझ बलियो बनाउने देखिन्छ । स्थानीय तहको निर्बाचन परिणामबाट आफ्नो सीट सुरक्षित नदेखेका प्रचण्ड र काङ्ग्रेस–माओवादी मिलेर ५ बर्ष खाए आफू सकिने ओली बुझाइको मेलबाट बनेको यो तालमेल हो ।

काङ्ग्रेस, एमाले र माओवादी समेतले गरेको यस अघिको विश्लेषणमा नेपाल पुँजिवादमा प्रवेश गरिसक्यो भन्ने छ । फरक यति हो कि समयको हिसावले केहीले अलि अघि त केहीले अलि पछि दाबी गरेका मात्र हुन् । त्यसैले समाजवादको कुरा गर्नु अघि पुँजिवादको प्रसंग जोड्नु आवश्यक हुन्छ । पुँजिवादको मुटु भनेकै नाफा हो । नाफा कमाउन अर्थात मुटु चलाउनको लागि पुँजिवादले पुँजि लगानी गर्छ, उत्पादन गर्छ र नाफा कमाउँछ । फेरि पुनर्लगानी, पुनर्उत्पादन र पुनर्नाफाको चक्रबाट यो ब्यवस्थाले निरन्तरता पाएको हुन्छ । यसमा नाफाको लागि मजदुरहरुको अतिरिक्त श्रमको शोषण गरिन्छ । त्यसकारण यो नाफामुखी ब्यवस्था चीरकालसम्म रहिरहन सक्दैन, यसको अन्त अवश्यम्भावी छ । पुँजिवादको अन्तपछि पुगिने अर्थ ब्यवस्था भनेकै समाजवाद हो । समाजवाद भनेको उत्पादनका साधनहरुमाथि सामाजिक स्वामित्व रहने ब्यवस्था हो । यो ब्यवस्थामा भूमि, कारखाना, खानी, यातायात, सञ्चार आदि उत्पादनका प्रमूख साधनलाई सामाजिकीकरण गरिन्छ । जसले गर्दा मान्छेले मान्छेलाई शोषण गर्ने भौतिक आधारको समाप्ती हुन्छ ।

समाजवाद भनेको पुँजिवादी र साम्यवादी समाजको बीचमा पहिलोबाट दोस्रोमा जाने वा राजनीतिक संक्रमणको समयावधि हो । यो अवधिमा बर्गहरु बाँकी रहने र पुँजिपतिहरुले पुरानै ब्यवस्था पल्टाउन सक्ने हुँदा लेनिनले राज्यलाई निश्चित समयसम्म सर्वहारा बर्गले थिचेर राख्नुपर्छ अर्थात बर्गीय अधिनायकत्व कायम राखिनुपर्छ भनेका हुन् । तर काङ्ग्रेस लोकतन्त्रको नाममा कुनैपनि खालको अधिनायकत्व स्वीकार गर्दैन । सिद्धान्ततः काङ्ग्रेस पनि पुँजिवादी ब्यवस्थाको अन्त गरेर समाजवाद चाहने नै पार्टी हो । किनकि उसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्शको रुपमा विधानत अहिलेसम्म ग्रहण गरेको छ । तर बीपीको अवसानपछि काङ्ग्रेसभित्र उम्रेको वर्तमान नेतृत्वसम्मको चरित्र र ब्यवहार हेर्दा राप्रपाको उदारवादसँग नजिकिएको देखिन्छ । यस अर्थमा समाजवादसम्मको मात्र बाटो कोरेको काङ्ग्रेस साम्यवादी भूतबाट झस्किनु स्वभाविक भएपनि मेरो बिचारमा उ यति धेरै तर्सिनु अस्वभाविक र असामान्य जस्तो लाग्छ । यदि तर्सिने नै हो भने उसले आफ्नो विधानबाट समाजवाद हटाउनु पर्छ र त्यसको ठाउँमा राष्ट्रियता, प्रजातन्त्र र पुँजिवाद लेख्नुपर्छ, जसरी राप्रपाले प्रष्टसँग उदारवाद लेखेको छ ।

अब रह्यो बाम गठबन्धनमा सामेल एमाले र माओवादीको कुरा । नेपालको यी दुई पार्टीहरु संसदवादमा रुपान्तरण भइसकेका कम्युनिष्ट पार्टी हुन् । उनीहरुको नीति, कार्यक्रम काङ्ग्रेसको भन्दा भिन्न छैन । एमाले कम्युनिष्ट र हात्तीको दाँत एउटै हो । उसले चपाउन सक्दैन किनकि एमालेको माक्र्सवादी बंगारा फुक्लिएर झरिसकेको छ । उ हास्दा देखिने रातो दन्त लहर दाँत होइन, गिजा हो । गिजाले चपाउन सक्दैन । जनयुद्धको रापतापबाट जन्मिएको पार्टी हुनाले माओवादीसँग केही सक्कली दाँत भएपनि मुख्य बंगारालाई पुँजिवादी किराले खाएर चपाउन नसक्ने बनाई दिएको छ । चपाउन खोज्दा उसको दाँत झन्झनाउँछ । अझ एमालेसँगको गठबन्धनले उसँग भएको बाँकी दाँत पनि भुत्ते हुँदै जाने निश्चित छ ।

कम्युनिष्ट पार्टीको क्रान्तिकारीपन उसले पुँजिपतिसँग गर्ने बर्ग सङ्घर्षको नीति र समाजवादमा पुग्नको लागि अपनाउने बाटोले निर्धारण गर्छ । खासगरी समाजवादमा पुगिने दुईवटा बाटाहरु हुन्छन् । एउटा बल प्रयोग अथवा हस्तक्षेपकारी बाटो हो भने अर्को पुँजिवादको आयु सकिएर स्वत पुगिने बाटो हो । बल प्रयोगको बाटो अपनाउनेलाई माक्र्सवादी समाजवाद भनिन्छ । यो बाटो रोज्नेले पुँजिवादी ब्यवस्थालाई क्रान्तिद्वारा हत्याएपछि मात्र समाजवाद स्थापित हुन्छ भन्ने मान्यतामा विश्वास गर्छन् । जसरी रुसमा अक्टोबर क्रान्तिले जनतालाई सोझै पुँजिवादबाट समाजवादमा संक्रमित गराएको थियो । दोस्रो, पुँजिवाद कालगतिले मरेपछि स्वत पुगिने बाटो अपनाउनेलाई लोकतान्त्रिक समाजवाद भनिन्छ । संसदवादमा विश्वास गर्ने यी दुई ठूला कम्युनिष्ट पार्टीले अपनाउने दोस्रो बाटो नै हो । यो बाटो नरोजेको भए उनीहरुले अमेरिका र भारतको आशिर्वाद पाउन सक्दैनथे र सत्ताबाट बाहिर रहिरहनु पर्ने अवस्था हुन्थ्यो । नेपाली काङ्ग्रेसको पनि बाटो यही हो । विश्व पुँजिवादी मुलुकको आशिर्वाद पाएर पटक पटक सत्ताको स्वाद चाखिसकेको एमाले कम्युनिष्ट नामधारी पार्टी माक्र्सवादी बाटो बिराएर यति टाढा पुगिसकेको छ कि अब उसले माक्र्सवादी बाटो पहिल्याउनै सक्दैन । अहिले उसकै कार्यकर्ता विश्व साम्राज्यवादले फ्याकेको आइएनजिओको जालोभित्र धेरै जेलिएको देखिन्छ । समग्रमा यी दुवै लोकतान्त्रिक समाजवादको बाटो अपनाउने कम्युनिष्ट पार्टीले अर्कोतर्फ पुँजिवादबाट पर्याप्त फाईदा पनि लिइरहेका छन् । त्यसैले उनीहरु पुँजिवादलाई सुनको अण्डा पार्ने कुखुरी सम्झन्छ र उसको दीर्घजीवीको लागि दिनहुँ धुप हाल्दै पूजा गरेर राख्छ । उसले पुँजिवादलाई मार्दैन र हत्तपत्त कालले मर्न पनि दिँदैन । मर्न खोज्यो भने उनीहरु अनेक रुप र रंगमा बचाएर राख्न खोज्दछ । किनकि यही चरित्रको कारण पुँजिवादका विश्व मालिकहरुसँग उनीहरुको सम्बन्ध कायम भएको हुन्छ र त्यही सम्बन्धको आधारमा सत्तामा पुग्न सकेका हुन्छन् ।

त्यसैले नेपालको पुँजिवाद दलाल पुँजिवादको रुपमा विकास भएर गएको छ । यसले स्वदेशी पुँजिलाई होइन, विदेशी पुँजिलाई प्राथमिकता दिन्छ । यो अमेरिकी नेतृत्वको विश्व साम्राज्यवादको ओपेन मार्केटवाला छाता ओढेर हुर्किरहेको छ । त्यसकारण पनि यो पुँजिवादलाई एमाले, माओवादी जस्तो संसदीय कम्युनिष्टको हावा, हुरीले केही गर्न सक्दैन । किनकि संसदीय आहालमा डुबिसकेपछि उसमा कम्युनिष्ट नाम मात्रै बाँकी हुन्छ, भित्री चुर हुँदैन । यसरी हेर्दा भर्खरै उदाएको नेपालको पुँजिवाद कम्तिमा ५० बर्ष बीचमा आफ्नो कालले मर्ने देखिदैन । जुन धेरै टाढाको कुरा हो तर प्रचण्ड कमरेडले आफ्नै जुनीमा समाजवादी क्रान्ति हेर्ने इच्छा ब्यक्त गर्नुभएको छ । यो उहाँको हतारको इच्छा पंक्तिकारले बुझ्न नसकेको विषय हो । दुई तिहाइ ल्याएर जर्बजस्त माक्र्सवादी बाटोबाट समाजवाद ल्याउने हो भने मेरो शुभेच्छा मात्रै होइन, पूर्ण सहयोग पनि रहनेछ । तर एमालेसँगको सहकार्यमा नै उहाँले समाजवाद ल्याउने सपना बुन्नु भएको हो भने अर्को जुनी पर्खिनुपर्ने हुन्छ । यो जुनीमा सम्भव छैन । मुल रुपमा चरित्र परिवर्तन गरिसकेको दक्षिणपन्थी लाईन समातेको संशोधनवादी कम्युनिष्ट पार्टीहरुले अझ बर्ग बिहीन, राज्य बिहीन ब्यवस्थाको साम्यवाद नै ल्याउँछ भन्नु त दृष्टिभ्रम र मिथ्या प्रचार बाहेक अरु केही होइन । जुन आरोप लगाउने काङ्ग्रेसलाई पनि लाज लाग्ने विषय हो । संसारको कुनै पनि कम्युनिष्ट राज्य आजसम्म साम्यवादमा पुगेको छैन भने नेपालबाटै त्यस्तो ब्यवस्था स्थापित गर्छ भन्नुमा कुनै तुक छैन ।

तसर्थ, आचरणगत रुपमा भाई काङ्गे्रस बनिसकेको एमाले–माओवादी गठबन्धनबाट काङ्ग्रेस तर्सिनु पर्दैन । उसले बल प्रयोग गरेर नेपाली समाजलाई साम्यवाद त के समाजवादमा पनि पु¥याउने छैन । तर दुई दल मिलेर चुनाव लड्दा काङ्ग्रेसको नाजुक अवस्था होला कि भनेर तर्सिएको हो भने त्यो सही हुनसक्छ । किनकि तीन दल चुनाव लड्दाको अवस्थामा भन्दा दुई दल मिलेर लडेको अवस्थामा काङ्ग्रेस केही खुम्चिने निश्चित छ । तर काङ्ग्रेसको आकार खुम्चिदैमा, सत्ताबाट पाँचबर्ष बाहिर बस्नु पर्दैमा लोकतन्त्र नै धरापमा पर्ने देख्नु गलत हो । यो सोचाईबाट काङ्ग्रेस मुक्त हुन जरुरी छ । यस्ता म्याद सकिएको हावादारी आरोप बोकेर काङ्ग्रेस निर्बाचनमा जानु हुँदैन ।

अर्कोतर्फ बाम गठबन्धनले जुन समाजवादी क्रान्तिको सपना बेच्ने कोशिस गरिरहेका छन् । यस्तो सय बर्षपछि बिक्रि हुने सामानको ब्यापार अहिले गर्नु हुँदैन । विगतको सामन्ती कालखण्डमा जन्मिएको काङ्ग्रेस, कम्युनिष्ट जस्ता पार्टीहरु सबैले आर्थिक नीतिलाई केन्द्र विन्दुमा राखेर पार्टी बनाए । समय अनुसार त्यो ठीक थियो । अब सामन्तवादको मूल जरा उखेलिएको र मुलुक पुँजिवादी राज्य ब्यवस्थातर्फ अघि बढिरहेको स्थितिमा नेपाली जनताको मूल मुद्दा अस्तित्व र विकाससँग जोडिएर आएको छ । विश्व दुनियाँ पहिचान, स्वतन्त्रता र समानताको पक्षमा छन् । नेपालका विविध जात÷जाति, बर्ग र समुदाय पनि यही पक्षमा उभिएको छ । यसलाई दुवै गठबन्धनले आफ्नो भावी नीति, कार्यक्रममा समेट्नु जरुरी छ । अन्यथा, भ्रमको खेतीले भोट लुट्न सकिएला, देश बनाउन सकिदैन ।

लेखक: नेपाल तामाङ घेदुङका अध्यक्ष हुन् ।

 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी