A+ A A-

माष्टर मित्रसेन एबं बिचार

त्रिलोक सिंह थापा 

Image may contain: 1 person

प्रारम्भ

नेपाली गीत, संगीत, गायन, परम्परा एंव रगंमचीयकला क्षेत्रमा विर्सनै नसकिने नाम हो मास्टर मित्रसेन थापा मगर । बहुमुखि प्रतिभाका धनी मास्टर मित्रसेन थापा मगर प्रख्यात सङ्गीतकार, गायक, गीतकार, कवि, निवन्ध लेखक, रेडियो नाटक निर्माता रगंमचीय कलाकार तथा समाज सुधारक थिए । उनले सिर्जना गरेका ११ वटा खण्डकाव्य ९७ वटा गीत, ३२ वटा ग्रामफोन रेकर्ड भएका गीत, १४ वटा नेपाली हिन्दी उर्दु मिश्रीत भाषाका नाटक ५ वटा नेपाली रेडियो नाटक, ५ वटा कथा, ६ वटा निवन्ध तथा २ वटा कविताहरु हाल सम्म फेला परेका छन । उनका दर्जनौ कृतिहरु उनको निवास स्थान “मित्र को झुप्रो”तोतारानी गाउँमा पाण्डुलिपी अवस्थामा छन । ती पाण्डुलिपीहरु हाल जीर्ण अवस्थामा छन ।

संक्षिप्त परिचय

मास्टर मित्रसेन थापा  मगर को जन्म सन १८९५ डिसेम्वर २९ तारीखमा भारतको हिमांचल प्रदेश जिल्ला कागंडा धर्म शाला छाउनी को धारा खोला गाउँमा भएको थियो । सन १९०५ को भूकम्पले धारा खोला गाउँको घर भत्किए पछि मित्रसेनको बुवाले तोतारानी गाउँमा बसाई सरी बसोवास गरेका हुन । त्यही “ मित्र को झुप्रो” भनेर सो घरको नामाकरण गरिएको थियो ।
मास्टर मित्रसेन थापा सिज्जाली मगर थिए । उनको पुख्यौली घर मध्य पश्चिम नेपालको तत्कालिन वाग्लुङ्ग जिल्लाको राखुपुलमा गाउँमा पर्दछ । काजी अमर सिंह थापाको नेतृत्वमा सन १९०६ देखि १८०९ सम्म हिमांचाल प्रदेशको प्रसिद्ध “कागंडा किल्ला” लाई गोर्खाली फौजले आफनो घेरा बन्दीमा राखेको थियो । मित्रसेन को हजुर बुबा सुन्दरु थापा सोही गोर्खाली फौजका सिपाही थिए । युद्धोपरान्त काजी अमर सिंह थापा नेपाल फर्किए पछि कतिपय गोर्खाली सैनिकले कागडा किल्लाकै छेउछाउमा बसोबास गर्न रुचाए भने सुन्दरु थापा पनि त्यही भाग्सुमा बसोबास गरे, त्यही उनको छोरा मनवीर सेन थापाको जन्म भयो । मित्रसेन थापा यिनै मनवीर थापा र राधा थापाका छोरा हुन् ।

मास्टर मित्रसेन थापा मगर को जन्म, शिक्षा, दिक्षा, बचपन लगायत सम्पूर्ण जीवन भारतको हिमांचल प्रदेश भाग्सू धर्मशालामा व्यतीत भएको थियो । त्यही उनले उर्दु भाषामा आठ कक्षा सम्म अध्ययन गरेका थिए । त्यस पछि सन १९१२ देखि १९२० सम्म १÷१ गोरखा रेजीमेण्टको सिगलन शाखामा कार्यरत थिए । पल्टनको जागिर वाट स्वेच्छाले अवकाश लिए पछि सङ्गीत साधना, अध्ययन, एवं साधारण व्यवसायमा संलग्न भएका थिए । सन १९२६ मा “हिमाचल थित्रेट्रिकल कम्पनी” स्थापना गरेर सन १९२८ सम्म हिन्दी, उर्दु, नेपाली भाषामा नाटक मंचन गरे । सन १९२८ देखि १९३२ सम्म सनातन धर्मको प्राचरक भए । सन १९३३ देखि १९४६ सम्म जीवनको अन्तिम समय सम्म सङ्गीत साधना, गायन, गीत भजन, साहित्य रङ्गमचीय कला तथा समाज सुधारमा सम्र्पित रहेका थिए । सन १९४६ अप्रिल ९ तारिखमा आफनै गाउँ तोतारानीमा भाग्सु धर्मशालामा अल्प आयुमा उनको निधन भयो । आफनो जीवन कालमा मित्रसेनले सन १९३३, १९३५ तथा १९४४ मा नेपाल भ्रमण गरेको पाइन्छ । सोही अवधिमा नेपाली गाउँघर समाजको गहिरो अध्ययन मनन गरेका थिए ।

सङ्गीत सिर्जना

प्रवासमा जन्मिएर नेपाल लाई आफनो कर्मथलो बनाएका मित्रसेनले नेपाली भाषा, साहित्य, लोक सङ्गीत, लोक नाटक, लोक कथा का साथै सुगम संङ्गीतको उत्थानमा उल्लेखनीय योगदान पुराएका छन । उनका द्वारा सिर्जना गरिएका गीत, गायन एव सङ्गीत विशेष गरी नेपाली लोकलय लोक भाषा, ग्रामीण परिवेश, लाहुरे जीवन, तथा त्यस वेलाका छाउनी संस्कृतिमा आधारित रहेको पाइन्छ । गण्डकी क्षेत्रको प्रचालित झाम्रे वा झ्याउरे गीतको लोक भाषा तथा लोकलयका साथै विभिन्न जाति एवं जनजातीय भाकाहरु नै मास्टर मित्रसेनका गीत, गायन एवं सङ्गीतका आधार रहेको पाइन्छ । नेपाली गीत, गायन, तथा सङ्गीतमा नेपाली लोकलय, नेपाली पन, नेपाली शैली एवं नेपाली पहिचानको विकास गर्ने गराउने भूमिकामा सुरकर्मी माष्टर मित्रसेन अग्रणी रहेका थिए । उनले सिर्जना गरेका गीत, गायन तथा सङ्गीत आज पनि उत्तिकै चर्चित एव लोकप्रिय रहेका छन् । “धानको वाला झुल्यो हजुर देशै रमाइलो” “लाहुरे को रेलीमाई”, “फेसनै राम्रो” “भन गोर्खाली दाजु भाई जय गोरख” “स्वामी नजाउ विदेश फापर छरौला रोटी हालौला खाउला”, “तानसेन कस्तो छ” “चुँइ चुँइ चुइकने जुत्ता”, “मलाई खुत्रुकै पा¥यो जेठान तिम्रो बैनीले” आदि । नेपाली आधुनिक सङ्गीतमा समूह गायन, हास्य र व्यंग, रमाइलो शैलीमा गायन आदिको शुरुवात प्रख्यात सङ्गीतकार मास्टर मित्रसेनबाट भएको हो ।

रंगमणीय कला सिर्जना

मास्टर मित्रसेन थापा मगर का सिर्जनाहरुमा दोश्रो पक्षहो हिन्दी, उर्दु र नेपाली भाषामा नाटक लेखन, निर्देशन, उत्पादन एवं मंचन । सन १९३६ मा तयार गरेका “ वाल भक्त धुव्र” नेपाली नाटक साहित्यमा पहिलो रेडियो नाटक मानिन्छ । यसरी यिनी पहिलो नेपाली नाटक निर्माता तथा उत्पादन कर्ता हुन । यिनिका द्वारा लेखिएका नाटकहरुमा भक्ति रस, करुण रस, वीर रस, हास्य र व्यगंका साथै सामाजिक चेतना जगाउने सन्देशहरु पाइन्छ । रगंमंचीय प्रर्दशनको माध्यम वाट त्यस वेलाम सामािजक कुरीती, एवं अन्ध विश्वास माथि मित्रसेनले तिव्र प्रहार गर्ने गरेका थिए । विभिन्न नाटकहरुका माध्यमवाट भारतीय स्वत्रतता सङग्रामका सेनानहिरुलाई प्रेरणा एवं प्रोत्साहन गरेको पाइन्छ । त्यसताका यिनीका द्वारा तयार गरिएका नाटक एवं रेडियो नाटक ज्यादै लोकप्रिय एवं जनप्रिय भएको थिए ।

अन्य सिर्जनाहरु

मानवीय मूल्य एव मान्यताहरु को संरक्षण एवं प्रोत्साहनका लागि मास्टर मित्रसेनले निवन्ध तथा कथाहरु लेखेका थिए । आध्यात्मिक एवं दार्शनिक मान्यतालाई जनमानसमा जगाउन भगवान बुद्धका उपदेश “बुद्धवाणी” टालस्टायका उत्कृष्ट कथाहरुको अनुवाद पनि गरेका थिए । सम्पादन एव प्रकाशन पनि मित्रसेनले आफनो निपुणता एवं कुशलता लाई प्रदर्शन गरेका थिए ।

सारांश

मास्टर मित्रसेन यस्ता ओजस्वी एवं प्रतिभाशाली थिए जसको साहित्यिक एवं साङ्गीतिक कृतिहरु माथि दुई जना शोधकर्ता विद्वानहरुले नेपाल तथा भारतका विश्वविद्यालयवाट विद्यावारिधी ( पि.एच.डी) प्राप्त गरेका हुन । नेपाल तथा भारत सरकार दुवै मुलुकले उनको नाममा हुलाक टिकट प्रकाशन गरेका छन । उनको साहित्यिक एवं साङ्गीगितक योगदानको सम्बन्धमा नेपाल तथा भारतका विभिन्न पत्र पत्रिकामा निरन्तर लेख वा टिप्पणीहरु प्रकाशित भै राखेको पाइन्छ । नेपाल तथा भारत दुवै मुलुकमा उनको विषयमा पुस्तक प्रकाशन भएको छ । दुवै मुलुकमा उनको नाममा मास्टर मित्रसेनस्मृति संस्था खुलेको पाइन्छ । नेपालमा उनलाई नेपाली आधुनिक एवं सुगम सङ्गीतका अग्रज भनेर मानिन्छ भने भारत मा भारतीय साहित्यका निर्माता भनेर परिचय गराउने चलन देखिन्छ । 

निष्र्कश

उपरोक्त संक्षिप्त पृष्ठभूमि लाई नियालेर हेर्दा के पाइन्छ भने नेपाली आधुनिक एव सुगम सङ्गीत एव गायन परम्परामा तथा नेपाली रंगमंचयि कला क्षेत्रमा मित्रसेनको योगदान अतुलनीय एवं अविष्मरणीय रहेको छ । त्यस वेला मित्रसेनका गीत, गायन, सङ्गीत तथा नाटक आदि जति बढी प्रचारित, बिस्तारित, विकसित एवं लोक प्रिय भए जुन तुलनात्मक रुपमा अरुकुनै सर्जकको हुन सकेन । त्यस वेला नेपाली शहर,गाउँ एवं बस्तीहरुका बासिन्दाहरुमा मात्र होइन भारतीय भूमिका नेपाली भाषा भाषीहरुमा पनि उनका गीत, गायन एवं नाटकहरु ज्यादै जनप्रिय एवं लोकप्रिय भए । आज पनि उनका गीत एवं गायन उत्तिकै कर्ण प्रिय छन् । सुन्दा उत्तिकै मधुर एर्व स्वादिला लाग्दछ ।

(लेखक: मा. मित्रसेन प्रतिस्ठानका अध्यक्ष हुनुहुन्छ)

 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर