A+ A A-

खपाङीले , सामाजिक न्याय र समानताको पक्षमा आवाज उठाए ।

गोरेबहादुर खपाङ्गी आदिवासी जनजातिका अगुवा थिए । नेपाली समाजमा भईरहेको असमानता, जातीय विभेद तथा असमाबेशी राज्य प्रणालीका बिरुद्ध जीवनभर संघर्ष गरेर नथाक्ने नेता थिए । तिनै अपराजित नेता झन्डै तीन बर्ष अगाडि एउटा मोटरसाइकल दर्घटनामा परेर लामोसमय अचेत अवस्थामा रहे । त्यहाँबाट नउठीकनै गत भदौ ११ गते फेरि नफर्कने गरी महाप्रस्थानमा गए ।


गोरेबहादुरको जीवन लीला समाप्त भए पछि उनको पौरख र बिगत प्रति समीक्षा गर्ने क्रम सुरु भएको छ । धेरै टीप्पणीकारहरुले उनको बामपन्थी पृष्ठभूमिलाई बढाई चढाई गरेको पढन र सुन्न पाईन्छ । उनको राजनीतिक यात्रा माक्र्सबाद र लेनिनबादको बैचारिक धरातलबाट सुरु भएको कारण पनि यस्तो टिप्पणी भएको हुन सक्छ । तर यही पृष्ठभूमि मात्र खपाङ्गीको पूर्ण जीवन दर्शन थिएन । समयको अनेकौ पदचापमा उनले अनेको षडयन्त्र, जालझेल र तिगडमको व्युह तोडेर निस्केका थिए । त्यो पाटो भने अझै पनि प्रकासमा आउन सकेको छैन । पक्कै पनि उनी माक्र्सबादी थिए । उनले जीवनभर माक्र्सबादलाई आफनो जीवनदर्शन भन्न छुटाएनन । तर संकिर्ण मक्र्सबादीहरुले उनलाई मूलप्रबाहबाट बिचलित बनाएका थिए । किन उनले बेग्लै राजनीतिक दल गठन गर्नु पर्ने अवस्था आयो ? यसबारे समकालनि राजनीतिले गंभीर समीक्षा गरेन भने खपाङ्गी प्रति न्याय गरेको ठहर्दैन । उनले परिकल्पना गरेको समतामूलक र समानताको परिलक्ष बुझन सक्दैनौ ।


धेरैको हेराईहरुमा रामेछाप जिल्लाको मास्टरी पेशा राजनीतिको प्रारम्भीक सूरुवाती थियो । उनी तत्कालीन मालेको भातृसंस्था शिक्षक संगठनमा लागेका थिए । तर देशैभरी राजनीतिक उभार ल्याउन सक्षम माले छोडेर जातीय मुक्तिको बाटोमा किन लागे ? यसको सपाट उत्तर नेपालका बामपन्थीहरुको जातीबादी चरित्र र सोच नै हो । खपाङगी भन्ने गर्दथे, बाहुनको नेतृत्वमा बन्ने कुनै पनि राजनीतिक दलमा बस्नु भनेको फेरि पनि हामी कमारा बन्नु हो । केही बर्ष अगाडि स्व. विष्णु मादेनको भैसीपाटी स्थित निवासमा नेपालका जानेमाने आदिवासी जनजातिका नेताहरुको बैठकमा उनले यस्तै कुरा उठाएका थिए । त्यहाँ डा. हर्क गुरुङ देखि बरागी काईलासम्म र परशुनारायण चौधरी देखि आङछिरिङ शेर्पासम्मका नेताहरुको जमघट थियो । उनले राज्यका हरेक अंगमा जातीय जनसंख्याको समानुपातिक प्रतिनिधित्व, संघीयता र धर्म निरपेक्षताको कुरा उठाउँथे ।


खपाङ्गी लामो समय सम्म जनमुक्ति पार्टीको महासचिब भए । संख्यात्मक आधारमा त उनको पाटीले लामो फड्को मार्न सकेको देखिएन, तर समकालीन नेपाली राजनीति यसैको बैचारिक धरातलमा यात्रारत छ । यसका सफल भाष्यकार गोरेबहादुर नै हुन् । नेपाली राजनीतमा आदिवासी जनजाति अभियन्ताहरुले पहिचानको लडाई यही बैचारिक श्रोतको निरन्तरता हो ।


खपाङ्गीको सिंगो राजनीतिक जीवनमा ‘दशैको टीका’ बहुचर्चीत परिघटना हो । हरेक बर्ष दशै आउन अगाडि खपाङ्गीको ‘दशै अन्तर्बार्ता’ पत्रपत्रिकाका लागि बिकाऊ सामाग्री हुने गर्दथ्यो । उनले जीवन भर दशै आदिवासीको मौलिक पर्ब होइन भन्ने वकालत गरिरहे । तर उनले अरुले दशै मनाउँदा कतै आपत्ती प्रकट गरेका थिएनन् । यसका पछाडि आदिवासी आन्दोलन भित्रको पहिचानजनित दर्शन लुकेको थियो । खपाङ्गी आफैमा बाहुन बिरोधी नभएर बाहुनबादको बिरोधी थिए । उनले सामाजिक न्याय र समानतको पक्षमा आवाज उठाएका थिए ।


बर्षौ देखिको थिचोमिचो र दलन मलनमा बाँच्न अभ्यस्थ भएका आदिवासी जनजातिहरुलाई आफनो पहिचान र परिबेशलाई सम्झन आह्वान गरेका थिए । यो आह्वान आफैमा आज राष्टिय बहसको बिषयबस्तु भएको छ,, यो नै खपाङ्गीले जीवनभर कमाएको पुजी हो । पातलो होचिमिन्ह स्टायलको दाह्री भएको अग्लो कदको मान्छे भनेर मात्र गोरेबहादुर खपाङ्गीको परिचयले पूर्णता पाउँदेन । जातीय विभेद बिरुद्ध समानता र समताका लागि पहिचान खोसेका आदिवासीहरुलाई व्युँझाउने जुन यत्न गरे त्यसैमा खपाङ्गीको परिचय अन्तरनिहित रहेको छ ।

उनी सधै हामीलाई भन्ने गर्दथे,‘जवसम्म यो देशका आदिवासीहरु चिरनिन्द्राबाट उठ्न सक्दैनन्, तवसम्म देशको लोकतन्त्र पनि दीगो हुन सक्दैन ।’ गोरेबहादुर खपाङ्गी मस्तले गफिन्थे । गफिनु के, उनका कुरा सुनाउथे । प्रायः खपाङ्गीका कुरामा पहिचान, जातीय समानता र सामाजिक ऐक्यबद्धताका कुरा हुन्थे । गफै गफमा एक दिन भनेका थिए, ‘समग्र जनजातिको त म कुरा नगरौ । जनजाति पनि थरी थरीका हुन्छन् । तर मगर भन्ने वित्तिकै मामाकी छोरी ताक्ने र बंगुरको मासु खानेलाई भनिन्छ ।’ खपाङ्गीको यस्तो कुरा सुनेर म र राजकुमार रेग्मी मज्जैले हासेका थियौ । हामी हाँसे पनि उनी हाँसेनन्् । झन गंभीर भएर यसैलाई पुष्टी गर्ने गरी उनले थपेका थिए । ‘जस्ले मामाकी छोरी ताक्दैन, त्यो मगर नै होइन, त्यस्तै बंगुरको मासु देख्दा मुख भरी ¥याल काट्छ भने संझनोस, त्यो मान्छे पक्कै पनि मगर हुनु पर्दछ ।’ यसरी उनी गंभीर ठट्टा गर्दथे र यस्तो ठट्टामा गंभीर कुरा गर्दथे । उनले मामाको छोरी बिहे गरेका हुन कि होइनन्, त्यो त थाहा छैन, तर मगर, गुरुङ, तामाङ समुदायमा मामाको छोरी बिहे गर्ने चलन यद्यपी छदैछ । यसरी मामा चेला बिहे गर्ने चलन बिरुद्ध खस आर्यहरुले खिसी गर्ने आम प्रचलन बिरुद्ध उनी बोलेका थिए । आदिवासी जनजातिहरु आफनो जातीय अधिकार प्राप्तीका लागि सचेत नभएको उनको टिप्पणी हुने गर्दथ्यो ।


एक पटक उनले कुरै कुरामा धेरै जनजातिहरुलाई ‘सेक्स गर्न पनि आउँदैन’ भनेका थिए । यसको अर्थ काम कर्तव्य तथा अधिकारमा आदिवासी जनजातिहरुको पछौटेपना प्रति उनको टिप्पणी थियो । उनी भन्थे आदिवासीहरु जनजातिहरुमा जागरण ल्याउन ठूलै आँधीबेहरीको आवश्यकता थियो । पहिलो मधेश आन्दोलनको प्रसंशक थिए । उपेन्द्र यादवको नेतृत्वमा भएको मधेश आन्दोलनले कांग्रेस, एमाले, माओवादीलाई एकै पटक घुँडा टेकाएझै आदिवासीहरुको यस प्रकारो साझा आन्दोलन कहिले गर्ने भन्ने चिन्ता व्यक्त गर्दथे । यही मेसोमा जातीय संगठनहरु राजनीतिक दलको भातृसंगठन भएकोमा उनी सधै आलोचना गर्दथे ।


जनजातिहरुले मूलप्रबाहमा सामेल नभएर जातीय संगठन बनेकोमा उनको चिन्ता थियो । नेपालका आदिवासीहरु नेपाली राष्ट्रियताको मूल प्रबाहमा सामेल हुन सबै भन्दा पहिले जाति हेर्नु पर्ने उनको तर्क हुने गर्दथ्यो । कुनै बेलायती बालकले गोर्खा र नेपाली नागरिकका बारे प्रश्न सोधेमा उस्को अभिभावकले परेड खेली रहेको सिपाहीलाई गोर्खे र बकिम्घम प्यालेसमा प्रमाणपत्र बुझाउने कुनै आचार्य, दहाल वा पोखरेललाई नेपाली भन्ने गरेको उदाहरण उनी दिने गर्दथे । यसको सटिक बिश्लेषण के हो भने नेपाली राष्ट्रियताको बरद छाँया भित्र अझै पनि आम आदिवासी जनजातिहरु सामेल हुन सकेका छैनन् । यसको मूलकारण नेपालमा छाएको जातीबादी राज्यसत्ताको थिचोमिचो नै हो । यसैले उनी भन्थे, जनजातिले हेर्ने भनेको राज्यसत्ता हो र राज्य सत्तामा पुग्न आफनै राजनीतिक दल चाहिन्छ ।


बिचारमा प्रष्ट भए पनि उनले आफनो दललाई दरिलो बनाउने संगठन गर्न सकेनन् । उनी संगठक भन्दा पनि बैचारिक प्रबक्ता थिए । उनी सामेल जनमुक्ति पाटी पनि धेरै पटक बिभाजित बन्यो । उनी नै पाटी छोडेर अर्को पाटी गठन गर्न तिर लागे । उनको सबैभन्दा बढीको प्रभाव क्षेत्र मगरात भए पनि माओबादी आन्दोनका कारण यो प्रभाव छिन्न भिन्न भयो । बरु जनमुक्तिबाट फर ढंगले संगठन गरेका लिम्बुुवान र खम्बुवानजस्ता क्षेत्रीय दलहरुले केही प्रभाव जमाउन सफल भए । यसको प्रेरणा खपाङ्गी नै थिए । यस्ता महान बिचार हामीबाट सदाको लागि बिदा भएका छन् । उनलाई श्रद्धान्जली स्वरुप उनको बिचार यात्रामा समर्पण हुनु नै हाम्रो सच्चा कर्तव्य हुने छ ।

कुमार यात्रु

source:Nepalbritain.com

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर