A+ A A-

देशभरिकै शिक्षकहरूका ‘गोरेदाइ’

गणेश अधिकारी

ganesh-adhikari666

 

सगरमाथा अञ्चलबाट नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय सदस्यमा छानिएर आएपछि गोरेबहादुर खपांगीसँग मेरो पहिलो चिनजान भएको थियो । यो मौका जुराइदिने प्रमुख व्यक्ति सुशील प्याकुरेल थिए । तत्कालीन भूमिगत माले पार्टीको काममा उनी खोटाङको सदरमुकाम दिक्तेल पुगेका बखत पार्टीगत सम्पर्क बन्न पुगेकाले म केन्द्रीय समितिमा आएको थिएँ । तर गोरेबहादुर खपांगीको नाम त्यसभन्दा पहिलादेखि नै पूर्वी नेपालका शिक्षकहरूमा प्रख्यात रूपमा फैलिइसकेको थियो । गोरेबहादुर को हुन्, उनी कस्ता छन् ? भन्ने जिज्ञासा सबै शिक्षकमा थियो । ०३६ सालको विद्यार्थी आन्दोलनबाटै रोपिएको शिक्षक आन्दोलनका प्रमुखका रूपमा गोरेबहादुरलाई त्यस बखतसम्म सबैले चिनिसकेका थिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रत्येक केन्द्रिय समितिको बैठकमा म खोटाङबाट आउने गर्थें । त्यस बखतसम्म बाटो र यातायातको कतै नामोनिसान थिएन । हिउँदको समयमा त ठीकै थियो । तर वर्षाको समयमा कोसी नदीमा भेल उर्लिएका बेलामा एउटा चेपे नाउमा तरेर काठमाडौंमा हुने गरेका बैठकमा आउने काम चुनौतीपूर्ण हुन्थ्यो । बाटोभरि जति नै दुःख भोगेर बैठकमा आइपुगे पनि गोरेबहादुर खपांगीसँग भेट भएपछि ती सबै दुःख बिर्सिन पुगिन्थ्यो । शिक्षक आन्दोलनमा लागेर सम्पूर्ण शिक्षकहरूका लागि उनले भोगेका, खेपेका, जेलमा बसेका कथाहरू सुनेपछि आफुले पाएका सबै दुःख बिर्सन पुगिन्थ्यो । समितिमा उनी केन्द्रीय कोषाध्यक्ष थिए । मोलाहिजाका कुरा उनलाई पटक्कै स्वीकार्य हुँदैनथे । बैठकमा आफ्नो विचार बढो सन्तुलित ढंगमा राख्ने बानी थियो उनको । सो संगठनमा केन्द्रिय महासचिव देवी ओझा थिए, जो पछि गएर २ पटकसम्म शिक्षामन्त्री बन्न सफल भए ।

टुँडीखेलको खुलामञ्चमा श्रद्धाञ्जलीका लागि राखेको गोरेदाइको पार्थिव शरीरमा एक थुँगा फुल चढाएर वरिपरि घुमें । टाउकापट्टि गएर गोरेदाइको अनुहार अन्तिम पटक हेरें । मेरो भित्रको मानिस रोयो । आँसु झर्न भरसक दिइन“ । तर मन उडेर भोटाहिटीको धर्ना कार्यक्रममा पुग्यो ।

शिक्षकहरूका पेसागत हितका लागि सञ्चालित त्यो आन्दोलनमा सरकारी कर्मचारी सरहको सुविधा र पेन्सनको व्यवस्थाको मागले शिक्षकहरूलाई आन्दोलनमा अत्यधिक तानेको थियो । तत्कालीन पञ्चको सरकारले शिक्षकहरू फुटाउन ठूलो जोड गर्दा पनि निकै लामो अवधिसम्म सकेको थिएन । संघर्षका अनेक कार्यक्रम भइरहन्थे । हरेक कार्यक्रमको अग्रस्थानमा गोरेदाइको उपस्थिति हुने गथ्र्यो । उनी अगाडि उभिएको देखेपछि शिक्षकहरू सतिसाल भएर उनका पछाडि ताँती लाग्थे । एक पटक यस्तै कार्यक्रममध्ये ‘काठमाण्डौ जाऔँ’ कार्यक्रम राखिएको थियो  । यसमा देशभरबाट शिक्षकहरू काठमाण्डौमा ओइरिएका थिए । पूरानो बस पार्कको पछाडि एउटा सानो कोठामा शिक्षक संगठनको कार्यालय थियो । त्यहाँ पुग्नको लागि शिक्षकहरूको ताँती हेर्न लायक थियो । भित्र मानिस नअट्ने भएपछि गोरेबहादुर बाहिरै उभिएर सबैमा साहस भर्ने काम गर्न थाले  ।

काठमाडौंमा गरिने विभिन्न कार्यक्रममध्ये विभिन्न ठाउँमा धर्नाको कार्यक्रम पनि थियो । यसमा गोरेदाइको र मेरो स्थान भोटाहिटीको व्यस्त चोकमा परेको थियो । उनी र म त्यसतर्फ लाग्यौं । मेरो मुख केहि मलिन भएछ । कारण, धमाधम पुलिसले बसेको ठाउँबाट शिक्षहरूलाई उठाएर कुट्दै गाडीमा हालेर लाँदै थियो । केन्द्रिय नेता भएकाले हामीले जानै पथ्र्यो । मतर्फ फर्केर गोरेदाइले भने, ‘के हो गणेश तिमी त डराए जस्तो पो छौ त ? अब हामी यहाँबाट उठ्नै हुँदैन । हामीलाई उठाउन त्यो पुलिसले क्रेन ल्याउनु पर्छ, बुझ्यौ ?’ नभन्दै गोरेलाई एक दुईजना पुलिसले आँट्न पनि सक्तैनथे । ‘मलाई उठाउन क्रेन नै ल्याएछ भने तिमीले मेरो झोला समात्नु’ भनेर मलाई ढाडस दिए । उनको जिउडाल अनुसारको एउटा निकै ठूलै झोला काँधमा दोकाँधे पारेर बोक्ने बानी थियो । यसले उनको व्यक्तित्वलाई अझ ओजपूर्ण बनाएजस्तो लाग्थ्यो ।

टुँडीखेलको खुलामञ्चमा श्रद्धाञ्जलीका लागि राखेको गोरेदाइको पार्थिव शरीरमा एक थुँगा फुल चढाएर वरिपरि घुमेँ । टाउकापट्टि गएर गोरेदाइको अनुहार अन्तिम पटक हेरें । मेरो भित्रको मानिस रोयो । आँसु झर्न भरसक दिइनँ । तर मन उडेर भोटाहिटीको धर्ना कार्यक्रममा पुग्यो । नियतिको क्रेनले गोरेदाइलाई उठाइसकेको थियो । मलाई समात्नु भनेको झोला अब गोरेदाइसँग थिएन । भए पनि यतिखेर म त्यसलाई समातेर उनलाई रोक्न पनि सक्तिनथेँ र झोला समातेर सँगै जान पनि सक्तिनथेँ । नेपालमा यतिखेर लाखभन्दा माथि शिक्षकको संख्या छ । पचासौं हजारले पेन्सन पाउँदै छन् । त्यो सुविधाको लागि गोरेदाइले गरेको संघर्षको कति मूल्य छ ? त्यो आँकलन गर्न सकिँदैन । तर स्वयं गोरेदाइको पेन्सन थिएन । भएन ।

धेरैअघिको कुरा हो । सुरुमा गोरेदाइ विशुद्ध माक्र्सवादी लेनिनवादी थिए । शिक्षण पेसाबाट उनले राजनीति थालेपछिको कुरा हो । वर्गीय राजनीतिबाट उनले नेपालको परिप्रेक्ष्यमा वर्णको सुधार हुने देखेनन् । नत्र माले पार्टीले पञ्चायतको ‘आउटपोस्ट’ कब्जा गर्न जनपक्षीय राजनीति सुरु गरेका बखत उनी सर्लाहीतर्फको कुनै निर्वाचन क्षेत्रबाट निर्वाचन लडेर पराजित भएपछि ‘सर्वहारा राजनीतिको खाता अबदेखि नेपालमा खोलिएको छ’ भन्दै खुसीसाथ फर्किएका थिए । तर पार्टी नेतृत्वमा रहेको एकल जातीय परम्परा देखेपछि उनले वर्ण सुधारको नारा उठाए । खोटाङ जिल्लाको सिम्पानीबाट सदरमुकाम दिक्तेलतर्फ जाँदै थिएँ, एक दिन । मेरो लागि करिब डेढ दिनको पैदल, बाटैभरि ठूलाठूला ढुंगामा इनामेलले ‘वर्गभन्दा पहिले वर्णको सुधार गरौं’ भनेर लेखिएको नाराका मुनि ‘गोरेबहादुर खपांगी’ लेखिएको थियो ।

म त्यो दिनभरि उकालो ओरालो हिँड्दै गोरेदाइका नारामा विचार गर्दै गएँ । वास्तवमा वर्णमा सुधार नल्याई वर्गीय नारा मात्रै दिइएको राजनीतिले आजको राजनीतिलाई नै गन्तव्यहीन बनाए जस्तो देखिँदैछ नेपालमा । सर्लाहीको लालबन्दीमा एकपटक एउटै वसमा यात्रा गर्न पुगेछौं । ‘मेरो राजनीतिको झण्डा उठाऊ गणेश ’ भने उनले । ‘जातीय राजनीति नभए त मान्थेँ’ भनेँ मैले । ‘नेपालको एउटा मगर एउटा बाहुनकोमा गोठालो बसेको छ, तर तिमी जति नै गरिब भए पनि छोरो कुनै मगरकोमा गोठालो रख्न सक्छौ ?’ गोरेको यस प्रश्नले मेरो छातिमा ठूलो तुफान उब्जाइदियो । सामाजिक असमानताको यो खाडल वास्तवमा पुरिसक्नु थिएन । सायद गोरेदाइले त्यसै वर्ष ‘दसैं बहिष्कार’

को नारा  दिएका रहेछन् । त्यो नारा गाउँघरमा यस्तो आगोसरी फैलियो कि मलाई दसैंको टीका लगाएर हिँड्न संकोच लाग्यो । यति मात्र होइन, गोरेबहादुर खपांगी  जनजातिका माझमा यति प्रख्यात र उच्च आदर्शको नारा बन्यो कि मैले कसैसँग पनि ‘गोरेदाइ मेरो साथि हो’ भन्ने आँटै गर्न सकिनँ । किनभने मैले त्यसो भन्दा कसैले पनि पत्याउने देखिन । खोटाङ, उदयपुर, भोजपुरका प्रत्येक गाउँमा र गाउँका प्रत्येक जनजातिका घरमा गोरेबहादुरको नाम लिन थालिएको थियो ।

गोरेबहादुर खपांगीको एकल संगठन यति द्रुत गतिमा गाउँमा फैलिएको थियो कि पछि त्यस गतिमा जनयुद्ध पनि फैलिएको देखिएन । पूर्व शिक्षामन्त्री देवी ओझासँगै  श्रद्धाञ्जली सभामा जाने सल्लाह भए पनि उनी पहिला नै पुगेर पनि फर्किसकेकाले म एक्लै गोरेदाइको पार्थिव शरीर नजिकै उभिएर टोलाउन पुगेछु । त्यहाँ मानिस धेरै थिए । मलाई चिन्ने कोही थिएन र म पनि कसैलाई चिनिरहेको थिइनँ ।

‘नर्भिक अस्पतालमा ‘गोरेदाइ बेहोस छन्’ भन्ने सुनेर एक दिन त्यहाँ पुगेको थिएँ । छोरीले धेरै पटक बुबालाई बोलाइन् । ‘गणेश अंकल आउनु भएको छ, बाबा आँखा हेर्नु न’ भनेर धेरै पटक भन्दा पनि गोरेदाइको आँखा खुलेन । अन्त्यमा, नानी छोरी अव भयो बाबालाई नबोलाऊ भनेर केहि क्षणपछि कोठाबाट बाहिर निस्केर हिँडेको पनि सम्झिएँ ।

राजतन्त्रले पनि गोरेबहादुर खपांगीमाथि खेल खेलिसकेको थियो । त्यो सम्झेर पनि एकछिन टोलिएँ । के राजाको मन्त्री बन्न गोरेबहादुरले गल्ती गरेका थिए त ? त्यसो पनि होइन । त्यो राजतन्त्रको चरित्र थियो । उसले विगत अढाइ सय वर्षको इतिहासमा कसमाथि खेल खेलेन ? उसको खेलमा को गएन ? गोरेबहादुर खपांगीको मूल्यांकन त्यस कोणबाट गरिनु अन्याय हुन्छ । नेपालको सत्तरी प्रतिशत जनसंख्यामा रहेको जनजातिलाई गोरेबहादुर खपांगीले घोर निद्राबाट ब्युँझाइदिएका छन् । गणतन्त्र नआउँदै गोरेबहादुरले आफ्ना भागमा पर्ने काम गरिसकेका थिए । गोरेबहादुरलाई कसले कसरी प्रयोग गरे, त्यो अब महत्त्वको कुरा होइन । गोरेबहादुर आपूm सदाका लागि निदाए । तर उनले ब्युँझाएका मानिस अब पुनः निद्रामा पर्नु हुँदैन । मुख्य कुरा यो हो ।

यति सोच्दै गर्दा मैले सामुन्नेमा राखेका तीनवटा श्रद्धाञ्जली पुस्तिकामा हस्ताक्षर गरिसकेको थिएँ । पुनः गोरेदाइको अनुहार अन्तिम पटक हेरेर खुलामञ्चबाट बाहिर निस्कें । मनले भन्दै थियो, ‘गोरेदाइ ' म पनि बाँचुन्जेल यो असमानताको विरोध गरिरहने छु ।’

२४ भदौ, २०७३ तदनुसार ९ सेप्टेम्बर २०१६ को राजधानी राष्ट्रिय दैनिकमा  छापिएको लेख हुबहु यँहा पोस्ट गरिएको छ ।

 

 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर