A+ A A-

जनजाति आवाजका अगुवा

गणेश रार्इ

भाद्र १८, २०७३-नेपालका आदिवासी जनजातिमा खपांगीले जति चेतना छरे, त्यसको मूल्यांकन हुनुपर्छ । एउटा प्रखर वक्ता तथा अभियानकर्ता सदाका लागि अस्ताएका छन् ।

 

पहिचानवादी आदिवासी नेता गोरेबहादुर खपाङ्गी मगरको ७० वर्षको उमेरमा २०७३ भदौ ११ गते राति न्युरो अस्पताल बाँसबारीमा निधन भयो । मोटरसाइकल दुर्घटनाको सिकार भएका उनी वर्षौंसम्मको उपचारपछि पनि जीवित फर्किएनन् । प्रखर वक्ता गोरेबहादुरले माक्र्सवाद, लेनिनवादमा भएको जातीय अन्तरविरोधलाई उठाउन खोजेका थिए । तत्कालीन माले र माक्र्सवादीले जातीय सवाललाई माक्र्सवादी ढंगमा सम्बोधन गर्न नचाहँदा गोरेबहादुरहरूको अभियान आयो, जनमुक्तिको नाममा । तर गोरेबहादुरको अभियान पच्न सक्ने चेतना आइसकेको थिएन । नेपालका आदिवासी जनजातिमा खपाङ्गीले जति चेतना छरे, त्यसको मूल्याङ्कन हुनुपर्छ । एउटा प्रखर वक्ता तथा अभियानकर्ता सदाको लागि अस्ताएका छन् । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव बालकृष्ण माबुहाङले भनेका छन्, ‘मगर संघका पूर्वअध्यक्ष तथा राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव गोरेबहादुर खपाङ्गी नेपालमा विद्यमान जातीय विभेदको मुद्दालाई खुला चौरमा ल्याएर सामाजिक बहसको मुद्दा बनाउन सक्ने एक काविल नेता थिए । उनी जातीय विभेदको मुद्दा उठाउन जति काबिल थिए, त्यसलाई सम्हाल्न र व्यवस्थापन गर्न विभिन्न कारणले सफलता हासिल गर्न सकेनन् । अपितु नेपालको सामाजिक राजनीतिक परिदृश्यमा सामाजिक अन्तरविरोधलाई मिहिन रूपमा राजनीतिक–दार्शनिक दृष्टिकोणमा विश्लेषण गर्नसक्ने क्षमता उनीमा थियो ।’ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङको शब्दमा ‘मगर संघका पूर्वअध्यक्ष तथा पूर्वमन्त्री, आदिवासी जनजातिहरू र आम उत्पीडित समुदायका सर्वमान्य नेता गोरेबहादुर खपाङ्गी मगरको निधनले अविस्मरणीय क्षति पुगेको छ ।’ २००३ साउन २५ मा उदयपुरको तावाश्री–४ थाक्ले, जल्केनी दमाई डाँडामा जन्मिएका खपाङ्गीको परिवार महोत्तरीको रामनगरमा बसाइँ सरी आएको थियो । हाल उनको परिवार ललितपुरको नख्खुमा डेरा गरी बसेको छ । उनका अर्धाङ्गिनी विद्या, २ छोरा शिलाजित र शिखरजित तथा २ छोरी चारू र शिरू छन् ।

राजनीतिक रफ्तार

खपाङ्गीले महोत्तरीको त्रिभुवन मिडिल स्कुलबाट २०२० सालमा एसएलसी द्वितीय श्रेणीमा पास गरेका थिए । त्यसपछि जनकपुरको आरआर डिग्री कलेजबाट बीए र काठमाडौंबाट अंग्रेजी विषयमा एमए, एमएड अध्ययन गरेका थिए । उनी पञ्चायतकालका राष्ट्रिय पञ्चायत सदस्य पृथ्वीमानसिंह भण्डारी ९मनुबाबु० का मितज्वाइँ थिए । भण्डारीले पढेलेखेका मितज्वाइँलाई सुरुमा जनकपुरमा रहेको सुर्ती विकास कम्पनीमा जागिर लगाइदिएका थिए । त्यसपछि विराटनगर जुटमिलमा पनि केही समय जागिरे बन्नपुगे । कम्युनिस्ट वामपन्थी झुकावका खपाङ्गीको गतिविधिलाई न्युन गर्न उनै माननीय मनुबाबुले रामेछापका माननीय नवराज सुवेदीसित सल्लाह गरी रामेछापको गौरीशंकर माविमा हेडमास्टर नियुक्ति दिलाए । त्यो घटना २०२९ सालको थियो । उतिखेर उनी कम्युनिस्ट विचार प्रचार र संगठनकर्ताका रूपमा चिनिएका थिए । निरन्तर आठ वर्ष रामेछापमा हेडमास्टर भएका गोरेबहादुर खपाङ्गी अन्ततस् २०३६ सालका जनमत संग्रहमा बहुदलीय पक्षमा खुलेर देखापरे । उनलाई करिब एक वर्ष नजरबन्द राखियो भने त्यसपछि ९ महिना जलेश्वर कारागारमा राजनीतिक बन्दीका रूपमा थुनिए । जेलपछि खपाङ्गी कम्युनिस्ट विचार त्यागेर जातीय राजनीतितर्फ होमिए । २०४७ सालमा गठित नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा (नेराजमुमो) पार्टी गठन गरे । जसको अध्यक्ष मालवरसिंह (एमएस) थापा र खपाङ्गी महासचिव बने । चन्द्र योङयाङ नेतृत्वको नेपाल जनजाति पार्टी र नेराजमुमो एकीकरण भएर राष्ट्रिय जनमुक्ति पार्टी बन्यो । जसका महासचिव खपाङ्गी रहे भने अध्यक्ष एमएस नै । २०५९ सालमा खपाङ्गी मन्त्री बनेपछि पार्टीका अध्यक्ष एमएस थापासित वैचारिक मतभेद बढ्यो । मन्त्री पदबाट बाहिरिएपछि खपाङ्गीले आफ्नै नेतृत्वमा प्रजातान्त्रिक जनमुक्ति पार्टी निर्माण गरे । कार्यकर्ताको दबाबका कारण अन्ततस् एमएस थापासितै एकीकृत भएर राजमुमोको महासचिवकै जिम्मेवारी खपाङ्गीले लिए । पार्टीको महाधिवेशनमा १९ मतले एमएससित अध्यक्ष पदमा पराजित भएपछि खपाङ्गीले सम्मानजनक स्थान पाएनन् । त्यसपछि उनको अध्यक्षतामा लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) गठन गरियो । दोस्रो संविधानसभा (२०७०) मा उनको नेतृत्वको पार्टी चुनावी प्रतिस्पर्धामा सहभागी भयो । त्यतिखेर खपाङ्गी भने मोटरसाइकलको ठक्करका कारण अचेत अवस्थामा थिए ।

खपांगी र दसैं टीका
२०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रको मन्त्रीमण्डलमा खपाङ्गी महिला बालबालिका तथा समाज कल्याण मन्त्री भएका थिए । मन्त्री छँदा खपाङ्गीले राजाको हातबाट विजया दसमीको टीका ग्रहण गरेको फोटो सार्वजनिक भएपछि ‘दसैं बहिस्कार भन्ने नेताले टीका लगाए’ भनेर कडा टिप्पणी र आलोचना खेपे । राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध लेखक बलदीप प्रभाश्वर चाम्लिङ खपाङ्गीको टीका प्रकरणको अपव्याख्या भएको टिप्पणी गर्छन् । ‘वास्तवमा त्यो बेला सार्वजनिक परम्परागत समारोहमा खपाङ्गीले टीका लगाउनु भनेको हिन्दु धर्मको अवलम्बन नभएर हिन्दु धर्मको कदर थियो,’ जनजातिले दसैंमा टीका लगाउनु उसको परम्परागत संस्कार नभएको उल्लेख गर्दै उनी भन्छन्, ‘तर कुनै जनजाति मन्त्री हुन्छ भने ऊ सबैको मन्त्री हो । मन्त्री भनेको सार्वजनिक पद हो । जनमुक्ति पार्टी कुनै धर्म र जाति विरोधी नभएको हुँदा त्यही पार्टीको नेता मन्त्री भइसकेपछि जुनसुकै धर्म र संस्कारको सम्मान र कदर गर्नुपर्ने नै हुन्छ ।’

सामाजिक पाटो
२०३८ सालमा गठित नेपाल मगर संघको संस्थापक सदस्यमध्ये गोरेबहादुर खपाङ्गी एक थिए । खपाङ्गीले २०४८ सालदेखि २०५९ सम्म संघको नेतृत्व गरेका थिए । संघका महासचिव ज्ञानेन्द्र पुन मगर आदिवासी जनजाति पहिचान आन्दोलनको एक सूत्राधारका रूपमा खपाङ्गीलाई लिएको बताउँछन् । ‘उहाँले उत्पीडित समुदायको पक्षमा नबोलेको भए समग्रमा समानुपातिक, समावेशीकरण र धर्मनिरपेक्षताको सवाल अहिले जसरी आएको छ, त्यो आउन ढिलो हुनसक्थ्यो,’ उनी भन्छन्, ‘खासगरी नेपालको समग्र राजनीतिमा आदिवासी जनजातिको छुट्टै पहिचान छ । एकात्मक राज्यको विकल्पमा बहुलताको सवाललाई प्रारम्भ गर्नुपर्छ भनेर मूल मुद्दालाई स्थापित गर्न खपाङ्गीले स्वीकार्य बनाउनुभयो ।’ खपाङ्गीकी श्रीमती विद्याको शब्दमा ‘जस्तोसुकै आपत्—विपत्मा पनि उनको दृढ स्वभाव’ रहन्थ्यो । उनी कसैसँग पनि कहिल्यै नरिसाउन र झगडा नगर्न सल्लाह दिन्थे ।

झन्डै ३ करोड

सहयोग खपाङ्गी दुर्घटनामा परेपछि ‘गोरेबहादुर खपाङ्गी फाउन्डेसन–२०७२’ गठन गरिएको छ । फाउन्डेसनका अध्यक्ष हुमबहादुर थापा मगरका अनुसार खपाङ्गी बचाउन खर्च जुटाउने र मरणोपरान्त व्यक्तित्व, कृतित्व, राजनीतिक, सांस्कृतिक, भाषिक, शैक्षिक, साहित्यिक चिन्तन र विचारको खोज अध्ययन, अनुसन्धान, अन्वेषण गरी अभिलेखीकरण तथा संग्रह गर्ने प्रमुख उद्देश्य रहेको छ । त्यस्तै खपाङ्गीको स्मृति पुरस्कार स्थापना गरी समाजमा योगदान दिनेलाई पुरस्कृत गरिने रहेको छ । खपाङ्गी घाइते भएपछि नेपाल मगर संघ, खपाङ्गी फाउन्डेसन, विभिन्न संघ—संस्था र व्यक्तिको पहलमा देश–विदेशबाट करिब २ करोड ८० लाख रूपैयाँ आर्थिक सहयोग जुटेको फाउन्डेसनका अध्यक्ष थापा मगर उल्लेख गर्छन् । त्यसका अतिरिक्त नेपाल सरकारले खपाङ्गीको उपचारार्थ १५ लाख रूपैयाँ सहयोग गरेको छ । ‘खपाङ्गीलाई एयर एम्बुलेन्सबाट सिंगापुर उपचार गर्न लैजाँदा २ करोड ५० लाख रूपैयाँ खर्च लाग्यो,’ सिंगापुरमा डाक्टरले खपाङ्गीको राजनीतिक व्यक्तित्वबारे जानकारी पाएकाले आफ्नो फिस नलिएको उल्लेख गर्दै अध्यक्ष थापा मगर भन्छन्, ‘डाक्टरले आफ्नो फिस नलिए पनि एक हप्ताको सट्टा दुई हप्ता बस्नुपर्दा खर्च बढ्यो ।’ अहिले तीन लाख रूपैयाँ ऋण रहेको अध्यक्ष थापा मगरले जनाएका छन् । खपाङ्गीको निधनपछि उनका अष्ट धातु (दाह्री, कपाल , नङ, अस्तु आदि) सुरक्षित राखिएका छन् । मगर संघ र फाउन्डेसनले त्यसलाई सुरक्षित राख्ने जनाइएको छ । इन्डिजिनियस फिल्म अर्काइभ (आईफा) का महासचिव सञ्जोग लाफा मगरको शब्दमा खपाङ्गी वास्तवमै आदिवासी जनजातिको आवाजलाई उठान गर्ने मध्येका एक सतिसाल नै थिए । उनी मरेर गए पनि उनको विचार मरेको छैन ।

साभर:कान्तिपुर बाट

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर