A+ A A-

आर्थिक विकासको नाराः संघीयता र पहिचानको विषयान्तर

बलदीप प्रभाश्वर चामलिङ

रुजवेल्ट र बाबुराम

बाबुराम भट्टराईको नयाँ शक्तिको सन्दर्भमा अमेरिकाको २६ औं राष्ट्रपति थियोडर रुजवेल्ट जुनियरसंगको तुलना उल्लेख्योग्य छ । हुनत भट्टराई भन्दा रुजवेल्ट सिपाही, लेखक, अन्वेषक, प्रकृतिवादी र सुधारक जस्ता बहुआयामिक व्यक्ति थिए । रुजवेल्ट अमेरीकामा सन् १९०१ देखि १९०९ सम्म दुईकार्यकाल राष्ट्रपति बनिसकेको व्यक्ति थिए । पछि तेश्रो कार्यकालको लागि आफ्नो रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्न नसके पछि उनले पार्टी फुटाएर सन् १९१२ मा “प्रोगेसिभ” पार्टी बनाए । यसको विचारधारा नयाँ राष्ट्रवाद र प्रगतिवाद थियो । नयाँ राष्ट्रवाद र प्रगतिशील नाराले सबैको ध्यान ताने । यो नयाँ पार्टी खोलिसकेपछि यसको प्रचारप्रसार तामझामका साथ गरे । धेरै धनाढ्य र वौद्धिक मानिसहरू पनि यस पार्टीमा प्रवेश गरे । उनले यो पार्टीलाई “बुल मुज (साँढे जरायो)” को उपनाम दिइएको थियो किनकि प्रचारप्रसारको क्रममा आफ्नो पार्टीलाई बलियो देखाउन हृष्टपुष्ट साँढेजरायोको उदाहरण दिन्थे । रुजवेल्ट यति ज्याद्रो थिए कि एक पटक प्रचारप्रसारको क्रममा विरोधीले उनीमाथि गोली प्रहार ग¥यो । ५० पेजको उनको भाषणको कापी छेडेर उनको छातीभित्र गोली पुग्यो । उनी प्राणीजीवको शारीरिक संरचनाको विज्ञ पनि भएको कारण मुखबाट खुन ननिस्किन्दासम्म मरिन्न भन्ने उनलाई आत्मविश्वास भएको कारण उनी ढल्नको सट्टा टसमस भएर ९० मिनेट भाषण गरे । अन्तमा उनले दर्शक र शुभचिन्तकहरूलाई भने, “सज्जन वृन्दहरू, मलाई गोली लागेको तपाईहरूलाई थाहा भयो कि होइन । तर त्यस्ता गोलीले साँढे जरायोलाई मार्नसक्दैन ।” उनको ज्याद्रोपन देखेर सबै छक्क परे ।

तर उनको पार्टीको तडकभडक बाबजुत पनि सन् १९१२ को राष्ट्रपतीय निर्वाचनमा सोचेभन्दा थोरै मत ल्याए । उनको पार्टीले सोचेजस्तो परिणाम ल्याउन सकेन । राज्यस्तरको निर्वाचनमा पनि उनको पार्टीको हार भयो । यसबाट जनतामात्र होइन, सो पार्टीका कार्यकर्ता र नेताहरूमा नैराश्यता आयो । पछि सबै नेताकार्यकर्ता माउ पार्टी रिपब्लिकन पार्टीमै फर्कन थाले । अन्तमा रुजवेल्ट पनि पहिलेकै पार्टीमा आए । सन् १९१८ सम्म आइनपुग्दै यो पार्टी पूर्णरूपमा विघटन नै हुनपुग्यो । यसरी स्थापना भएको ६ वर्ष सम्म मात्र यो नयाँ पार्टी टिक्न सफल भयो ।

हो, इतिहास त नदोहोरिएला । संयोग नै मान्नुपर्ला कि माओवादी पार्टीलाई एक्कासी त्यागेर भट्टराईले नयाँ पार्टी खोलेका छन्, उही थियोडर रुजवेल्टको शैलीमा । रुजवेल्टको नियती बाबुरामले भोग्नै पर्छ भन्ने त छैन । तर बाटो सरल छैन । पार्टी खोल्नु ठूलो कुरा होइन, त्यसलाई धान्न चार्हि महत्वपूर्ण हो ।

भट्टराईको अतिरिक्त महत्वाकांक्षा

राहुल साँस्कृत्यायनले भनेका छन, “दुनियाँदेखि भाग्ने होइन, त्यसलाई बदल्ने हो ।” बाबुरामले माउ पार्टीमा जुन खोट देखाएर त्यहाँबाट टाढिए, यसबाट माउ पार्टीमा रहेको त्यो खोटले उन्मुक्ती पाउने भए । माउ पार्टीमा गम्भीर त्रुटी भए त्यसलाई समाधान नगरी भाग्ने हो भने त्यो त्रुटीको पक्षपोषकहरू त माउ पार्टीमा रहने नै भो । उनीहरूले त्यसलाई संस्थागत गर्ने नै भो । भोली त्यही शक्ति बाबुरामको प्रतिद्वन्दीको रूपमा रहिनै रहने भो ।

यद्यपि भट्टरार्ईले त्यो आरोपले नयाँ पार्टी खोल्नुको औचित्य प्रदान गर्न खोजेका हुन् । वास्तवमा उनमा महत्वकांक्षी लहड चलेको हो । मानिसले अन्तिम उपलब्धी हासिल गरिसकेपछि उ लापारवाही हुन्छ । उसले बाँकी जीवन जुवाको दाउमा राख्छ । यो मानवीय मनोविज्ञान हो । भट्टराईको मानसिकता भनेको “आए आँप गए झटारो” हो । बन्नुपर्ने मुलुकको प्रधानमन्त्री चाँडो उमेरमै बनेकै हो । भूपू प्रधानमन्त्रीको नाताले राज्यले मानसम्मान, सुरक्षा र भत्ता दिने नै छन् । सिंहदरवारमा फोटो टाँसेर इतिहास बनेकै छन् । अब उप्रान्त बाँकी उमेरमा प्रचण्डसंग कचकच गरेर रहनुभन्दा अर्कै राजनीतिक माहोल बनाएर जनताको वाहवाहीको पात्र बन्ने उनको अतिरिक्त महत्वाकाक्षा हो । लागे लाग मोहनी नत्र घरमै छ भने झै यो पथबाट भोली स्खलित हुनपरेता पनि अगाडि नै प्राप्त उपलब्धीले उनको उचाई नघट्ने उनको आत्मानुभूति हो । आम जनताले आफूलाई विद्वान र स्वच्छ राजनीतिक छवी भएको नेताको रूपमा ग्रहण गरेका छन् भन्ने उनको स्वःठम्याइलाई पनि उनले भजाउन खोजेका हुन् ।

विभिन्न झुण्डहरूको स्वार्थ केन्द्रः नयाँशक्ति

नयाँ शक्तिको विचार भने पनि सिद्धान्त भने पनि बाबुराम भट्टराई व्यक्ति हो । व्यक्ति हेरेर नै मान्छे त्यहाँ गएका हुन् । बाबुरामको व्यक्तित्व भनेको हिजोका प्रधानमन्त्री हुन् । उनको व्यक्तित्वको अर्को आयाम भनेको विद्यालय तहदेखि उत्कृष्ट हुदै विद्यावारिधि हो । लाटो समाजमा यहाँ भन्दाअरू आकार्षणको कुरा नै हुनसक्दैन । प्राज्ञिक योग्यताले हाइन, राजनीतिक सहकारीताले मात्र देश बन्छ भन्ने कुरा यो समाजले अझै बुझ्न भ्याएका छैनन् ।
नयाँ शक्ति थरिथरि स्वार्थभएकाहरूको मञ्च हो । यहाँ तीन किसिमका मान्छेहरू छन् ।

पहिलो, हिजोका आआफ्ना पार्टीमा आफ्नो राजनीतिक वृतविकासको भविष्य नदेखेर नयाँ शक्तिमा लाग्नेहरू छन् । जस्तै माओवादीमै रहेर काम गर्दा उनीहरूको राजनीतिक महत्वाकांक्षा पुरा हुने सम्भावना नदेखेका नेताहरूले नै बाबुरामलाई साथ दिएका छन् । आर्थिक विकासको नाराको आडमा मुलुकमा नयाँ तरंग ल्याएर राजनीतिमा स्थापित हुन सकिन्छ कि भन्ने दाउ हो, उनीहरूको । विभन्न पार्टीमा पदीय लाभ कुर्दाकुर्दा हैरान भएकाहरू नयाँ शक्तिमा उदयीमान नेता हुन सकिन्छ कि भनेर लाग्नेहरू हुन उनीहरू ।

दोश्रो तहका मान्छेहरू चाहिँ राजनीतिक पदीय लाभ भन्दा पनि व्यक्तिगत लाभको आशामा छन् । विशेषगरी पढेका तर जागीर नपाएका युवा जमात यसमा पर्छन । नयाँ शक्ति पार्टीले चाँडै उचाइ लिन सक्यो भने त्यसबाट केही लाभ लिन सकिन्छ भन्नेहरू छन् । बाबुरामकहाँ गइयो भने भारतको विश्वविद्यालयबाट विद्यावारिधि गर्न सजिलो हुन्छ भनेर मेरै एउटा साथी त्यहाँ गएका छन् ।

तेश्रो तहका मान्छेहरूचाहिँ निर्दोष पाराले लागेका छन् । ठूला पार्टीहरूले केही गर्न नसकिरहेको अवस्थामा बाबुरामको पार्टीले देशमा सुख र समृद्धि ल्याउला भन्ने आश उनीहरूमा छ । उनीहरूमा पदीय लाभ र अवसरको लोभ छैन् । देश कसरी समृद्ध हुन्छ भन्नेहरू हुन् उनीहरू ।

आर्थिक विकासको नाराः पहिचान र संघीयताको विषयान्तर

आर्थिक विकासको आधार भनेको स्थायीशान्ति हो । स्थायीशान्ति त जनताको राजनीतिक मुद्दा हल भएपछि कायम हुने हो । पुँजी र प्रविधिको लागानी र परिचालन स्थायीशान्तिकालमै हुने हो । यो अवस्था भनेको आर्थिक विकासको गतिविधि हो । तोडफोड, हत्याहिंसा, आतंक र असहयोगको आन्दोलनको परिवेशमा विकास निर्माणको काम गर्न सकिन्न । त्यस्तो परिस्थितिको पहिले राजनीतिक हल खोज्नुपर्ने हुन्छ ।

नेपामा आर्थिक विकासको आधार तयार तयार भएकै छैन । यहाँका जनताहरूले अझै पहिचान र अधिकार खोजिरहेको अवस्था छ । जनताहरू चेतनाले नागरिकीकरणको प्रकृयामा छन् । नागरिकहरूलाई राजनीतिक अधिकार बाहेक अन्य कुरा तपशीलका हुन् । सबै परिवर्तन विकास हुन सक्दैन र सबै विकास जनताको आकांक्षा पनि हुनसक्दैन । राजनीतिसंग जोडिएको जनताको मुद्दालाई हल नगरी आर्थिक विकासको कुरा गर्नु हावादारी विषय हो । वास्तवमा बाबुरामको आर्थिक विकासको कुरा भनेको संघीयता र पहिचानको मुद्दाको विषयान्तर हो । यस मुद्दाबाट जनताको ध्यानलाई अन्तै मोड्नु हो ।

दोहोरो मापदण्ड

भट्टराईको दोहोरो मापदण्ड देखियो । यसैले उनीप्रतिको विश्वासमा संकट पैदाभो । राजनीतिमा जे बाहिर देखिन्छ त्यो भित्र हुन्न । भट्टराईको कदम बक्रगामी देखियो । जारी संविधानप्रति नै उनको आत्मिय झुकाव र समर्थन हो भन्ने कुरा संविधानसभामा यो संविधान जारी गर्दा ताका उनको भूमिकाले प्रस्ट पार्दछ । यो संविधान जारी गराउन उनको हस्ताक्षर छ । यो संविधान यो कारणले वेठीक छ भनेर उनले नोट अव डिसेन्ट अभिव्यक्ति दिन सकेन । संविधान जारी गराउने कुरामा भित्र सही ठोक्ने अनि बाहिर आएर असन्तुष्ट पक्षको आन्दोलनमा गएर त्यही संविधान ठीक भएन भनेर भाषण गर्ने कुराले नै उनी माथि प्रश्न ठडिए ।

गाईलाई राष्ट्रिय जनावर बनाउने र धर्मनिरपेक्षतालाई सनातनधर्मसंग जोडेर नेपाललाई फेरि उही हिन्दुराज्य नै बनाउने यो छद्म संविधानको जारीकर्ता भट्टराई एकल हिन्दुनश्लीय सर्वोच्चताको पक्षपाती होइन भन्ने आधार के ?

संविधान जारी गरिसकेपछि त्यसलाई पुनरलेखन गराउन प्रायः असम्भव हुन्छ, सानातिनो आन्दोलनले त्यसलाई प्रभाव पार्न सक्दैन, यसो भएपछि यही संविधान नै रहिरहन्छ, यो संविधान रहुन्जेल् जनजाति र मधेशीमा असन्तुष्ट रहिरहन्छ र त्यही असन्तुष्टीलाई “क्यास डाउन” गरेर नयाँ शक्ति निर्माण गर्न सकिन्छ भन्ने सोचकै परिणाम हो, उनको यो राजनीतिक यात्रा ।

ब्याक फायरः मधेसी र जनजातिमाथिको निर्भरता

असन्तुष्टी मधेसी र जनजातिमा छन् र तिनीहरूलाई जनाधार बनाएर लग्न सकिन्छ भन्ने उनको नीति हो । पार्टीमा जातीय क्लष्टरको अवधारणा छ । वास्तवमा बाहुनछेत्री बाबुरामको पार्टीको जनाधार बन्न सक्ने अवस्था छैन । उनको पार्टीमा लागिदिने भनेको उही जनजाति र मधेसी हुन् । तर यी जातीय समुदायबाट पनि उनले साथ पाउला जस्तो छैन । अझै मधेसीहरू उनको पार्टीप्रति कुनै अभिरूची देखाएका छैनन् । उता जनजातिमा पनि विनाजनाधारका परशुराम तामाङहरूजस्ता छवि धमिलिएकाहरू मात्र छन् । आइएनजियो एनजिओको लाभले बानी विग्रिएकाहरू छन् ।

यसबाट के देखिन्छ भने पार्टीमा संकलित रकम भइन्जेल् उर्जा र आकर्षण हुने हो । यसको अर्थ यो होइन कि बाबुरामको पार्टी शुुुुन्य नै हुन्छ । केही जनाधार हन्छ, उसको । दुइचार ठाउँ जित्न पनि सक्छ । तर वैकल्पिक शक्ति नै भएर तुरन्तै आइहाल्ने कुराचाहिँ ठट्टाको विषय हो ।

पार्टीको दीर्घकालिन जीवनप्रति आशंका

यो पार्टी बाबुराम भट्टराईको जीवनकाल भरी मात्र रहने हो किनकि मानिसहरू उनलाई नै हेरेर लागेका हुन् । भट्टराइको जीवन कथङ्कदाचित तलमाथि भए पार्टीको जीवनमा सङकट आइपर्नेछ । त्यसपछि त्यहाँ कसैले एकले अर्कोलाई मान्नेवाला छैनन् । त्यो उचाइको नेता पनि हुने छैनन् ।

हिजो युद्धकालमा संगैमर्ने र संगैबाच्ने प्रण गर्ने सहयात्रीहरूलाई त चटक्कै छाडेर अन्य बाटो तिर लाग्ने मानिसले त्यस्तै नयाँ पार्टीमा संकट आयो भने अभागी झुण्डहरूलाई नै कुरी बस्लान् त, भट्टराई जीले ? त्यस्तै आइपरे रुजवेल्टजस्तै माउपार्टीमा फर्कन सक्दैन भन्ने के ग्यारेन्टी छ ?

बाबुराम भट्टराई अहिले आफ्नो पार्टीको औचित्य पुष्टी गर्न आफ्नै माउपार्टीविरूद्ध खनिएको देखिन्छ । काग्रेस र एमालेले आफूहरू धोइपखालिन प्रचण्ड माओवादीलाई वासिङ पाउडरको रूपमा प्रयोग गरिरहेको भनेर भट्टराईले चार्ज लगाउन थालेका छन् । कहिले कांग्रेस र कहिले एमालेले माओवादी केन्द्रलाई वासिङ पाउडरको रूपमा प्रयोग गरिरहेको भट्टराईले भनिरहदा उनी स्वयम आफूचाहिँ के हुन त ?

कुनै पूर्वाग्रह नराखी वस्तुपरक ढंगमा यसो भन्दा कसैले आपती मान्नुपर्ने आवश्यकता छैन कि बाबुराम भट्टराई उसिनेको अण्डा हुन् जस्ले चल्ला उत्पादन गर्न सक्दैन । माउपार्टीमा रहदाँ नै भट्टराईको “पोलिटिकल भर्जिनिटी” भंग भैसकेको हो । उनको उर्वरदक्षता कति हो भन्ने कुरा त्यही बेला परिक्षण भैसकेको हो । अबको उनको कदमले अधिकार र पहिचानको आन्दोलनलाई “डिस्टर्व” बाहेक अरू केही गर्दैन ।

 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर