A+ A A-

के पी ओली गएकै जाति

कृष्ण केडेम 

राज्यलाई सम्बृद्ध र कंगाल बनाउनमा शासक हरुकै हात हुन्छ, यो सन्दर्भमा के पी ओलीको नौ महिने साशन र त्यो वरिपरि राज्यले के पायो अथवा के गुमायो र उनि कस्ता राजनीतिज्ञ रहेछन, भन्नेमा यो लेख केन्द्रित छ ।

राजनीतिको केन्द्र अथवा सर्बोच्च पद प्रधानमन्त्री सम्म पुग्न जस्तोसुकै तरिकाहरु अपनाइए पनि त्यो सजिलो काम चाहिं पक्कै होइन । यस्ता व्यक्तिहरुमा बेजोड क्षमता, गुण र आफ्नै खालका स्वभावहरु हुन्छन चाहे त्यो राम्रो अथवा नराम्रो होस् । यो पाटोमा के पी ओली क्षमतावान र बुद्धिमान भन्दापनि अहंकारी, जिद्धि र छुद्र रणनीतिकार हुन् भन्दा फरक नपर्ला ।

बिगत ५ दशकमा नेपालमा भएका राजनीतिक परिबर्तनहरुमा उनको दह्रो उपस्थिति रहेको अथवा राष्ट्रलाई भलो हुने कुनै निर्णयहरुको पक्षमा भूमिका निर्वाह गरेको सुन्नमा कहिल्यै आएन, त्यस्तो गरेर पनि पत्र पत्रिकाले लेखि दिएन भने बेग्लै कुरा हो । तर, जब पार्टीको अध्यक्ष हुँदै देशको प्रधानमन्त्री पद सम्म भ्याए त्यसपछि उनको अडान र निर्णयहरुले देखायो उनि कस्ता राजनीतिज्ञ रहेछन र उनले परिकल्पना गरेको नेपाल कस्तो रहेछ भन्ने । आफ्नै पार्टीका नेता माधव कुमार नेपालले भर्खरै मात्र नेपालको संसद भवनमा भनेकाछन् के पी ओलीले जहिल्यै र जतै पनि गुटबन्दी राजनीति मात्र गरेकाछन, नेपालको स्वास्थ्य क्षेत्र सुधारको लागि ८ पटक अनसन बस्ने चर्चित डा. गोबिन्द के सीको भनाइ अनुसार हो भने माफिया रणनीति अपनाएका हुन् यिनले, बेजोड क्षमता प्रदर्शन गरेर यहाँ सम्म आइपुगेका होइनन ।

के पी ओलीले अख्तियार गर्ने रणनीति कतिसम्म खतरनाक छ भने राज्यको हरेक संयन्त्र हरुमा आफ्नो मान्छेको पकड रहोस भनेर गुट शृजना गर्नु, नभएका ठाउंहरुमा आफ्नो कार्यकर्ता नियुक्त गर्नु, उचित अनुचित तरिकाबाट आफ्ना भनिने मान्छेलाई सानो ठुलो ठेक्का पट्टा मिलाइदिनु, फाइदा गराउनु र बिपक्षिलाइ खसाउनु । आफ्ना भनिने मान्छेहरुले अनुचित र अपराध कार्य गर्दा समेत नदेखे जस्तो गर्नु, राज्यको प्रचलित कानुन अनुसार दोषी ठहर गरिएकाहरुलाई माफिया शक्ति प्रयोग गरेर छुटाउनु अथवा निर्दोष साबित गर्नु सम्म हुन्छ । यो स्थापित नेपाली राजनीतिक संस्कार भएपनि पार्टी हरु मध्ये एमाले अग्र पंक्तिमा छंदैछ तर ओली गुट अझ अगाडि छ । देश बनाउछु भन्ने पार्टी र त्यसका नेताले कुशासन र गरिबीले बादलमा हराएको काग जस्तो नेपाली जनतालाई राजनीतिक भागबन्डाको नाममा सम्बेदनहिन, लाचार, स्वाभिमान बिहिन र कम्जोर बनाउने, खण्डित गर्ने छुद्र रणनीति अख्तियार गर्नु कस्तो बिडम्बना ? सुनेकै हो ओली आफ्ना कार्यकर्तालाई राम्ररी हेर्न र सुरक्षा दिन सक्ने नेतामा गनिन्छन अरे, त्यसको उदाहरण थियो अपराधी हरुको सरदार चरी प्रहरी बाट मारिंदा के पी कुर्लिएका थिए, आफ्नो सरकारको पालामा भ्रष्टाचार र कालोबजारी गर्नेहरुको मनोमानी हुँदा खोइ त शक्तिमान प्रधानमन्त्री ओलीले तिनीहरुको बिरुद्ध एक शब्द बोलेका ? बोल्नु पनि कसरि यिनिहरुनै थिए र छन् ओली सरकारलाई बलियो बनाउने र आउने चुनावको खर्च बटुल्ने हरु ।

जे होस् के पी ओलीले यहि रणनीति अपनाएर एमालेको अध्यक्ष्य मात्र भएनन् देशको प्रधानमन्त्री सम्म हुन भ्याए । नेपाल भन्ने देशको दुर्भाग्य भन्नु पर्छ यो सबैं संबिधान निर्माणको समय र यसको वरिपरि भइदियो । संबिधान निर्माण हुने क्रममा माओबादीले १० बर्ष जनयुद्ध गरेर नेपाली जनमानसमा स्थापित गरिसकेको मुख्यत: बहुजातिय रहने विश्वका केहि देशहरुमा परिक्षण पछि सफल भएको व्यवस्था पहिचान सहितको संघियता र प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिको साशकिय व्यवस्था नेपाललाई सापेक्ष हुने दुइटा मुद्दा यिनै ओलीको अडान र लिंडे ढिपीले संबिधान किताबमा लिपिबद्ध गर्न नसकिएको होइन र ? नेपाललाई शान्त, शमुन्नत र सम्बृद्ध बनाउन यहाँ रहेका बहु धार्मिक, बहु भाषिक, बहुरंगी जनतालाई मिलाएर मात्रै सम्भव छ भन्ने बुझ्न नखोज्नु यिनको र त्यो सोंच भएका झुण्डको अहंकार होइन र ? सताब्दियौ देखि भेदभावमा पारिएका उत्पीडित जाती र बर्गको आत्म विश्वाश बढाउन, बराबरीको हैसियतमा ल्याउन अरु विकल्पहरु अपनाउन सकिने कुरा गरेपनि त हुन्थ्यो दुर्भाग्य, राज्यका एकथरी जनता घोंडा भइरहनु पर्ने र एकथरी जनता घोड्चढि भइरहनु पर्ने कस्तो समाजको परिकल्पना गर्न सक्ने केपीओली र उनका उत्प्रेरक हरु ? अरु त अरु भए, सिंगो राज्यको अभिभावक भैसकेपछि पनि त्यो पनि कम्युनिष्ट सिद्धान्त अंगालेका ओलीले एउटा बिशेष समूहको मात्र बर्चश्व रहनेगरी देशको संबिधान बनाउन लागि पर्नु राजनेता हुनु हो र ? विभेदमा परेका समुदाय हरुले उठाएका मुद्दा पट्टक्कै नसुन्नु, उल्टै मान मर्दन गर्नु, बिरोध हड्ताल लाई दबाउन अत्यधिक बल प्रयोग गर्नु उनको तानाशाह होइन र ?

भारतले दुर्बल नेपालमाथि आफ्नो चाहना पुरा गर्न कुटिल चालहरु प्रयोग गर्दैनन् भन्ने होइन, तर नेपालका राजनीतिक पार्टी र नेताहरुले नेपाली जनता महाभूकम्पले बेहोस रहेको अवस्थामा द्रुतमार्ग भन्दै कपटपूर्ण तरिका अपनाएर भेदभावपूर्ण संबिधान जारि गर्यो भनेको त सहि हो नि । यदि जारी संबिधान सबै नेपालीलाई मान्यहुने लेखिएको भए, सबैको चित्त नबुझेपनि मुद्दाहरुमा चित्तबुझ्दो तर्क र बहसहरु सबैपक्ष संग गरेको भए, महत्वपुर्ण मुद्दाहरुमा जनमत संग्रह बाट छिनिफानो गरेको भए मधेश र जनजाती हरुबाट बिरोध हड्ताल हुनेनै थिएन । हड्ताल हुँदै गर्दा के पी ओलीले प्रधानमन्त्रिको कुर्सीबाट बिरोध कर्ताहरुलाई मत्थर पार्ने रणनीति अख्तियार गर्नुको बदला जिस्काउनु होच्याउनुले अझ आगोमा घिउ थपिएको हो । बिरोधकर्ता वा भारत जोसुकैलाई दोष दिइएपनि नाकाबन्दी हुनुको कारण भेदभावपूर्ण संबिधान जारीनै थियो । बबुरो नेपालीहरुले पाउनसम्म दुख: पाए , राज्यको अर्थतन्त्रमा ७ खर्बको नोक्सान भयो, यसको कारक के पी ओली एकमात्र हुन् । यस्तो नेता हुनुभन्दा नहुनु राम्रो, लिब्या मा गदाफी, इराकमा सद्धाम हुस्सेन, शिरिया मा बाशार अस्साद जस्तो राष्ट्रबादिको नाम लिएर देश र जनतालाई ध्वस्त पार्ने नेता नआवोस, त्यो मानेमा के पी ओली गएकै जाति । आन्दोलन ताका बिरोधि नेताहरुले धन्न नियन्त्रित बिरोध हड्ताल गर्न सके, भारतले अन्तराष्ट्रिय कानुनको बर्खिलाप गर्दै नाकाबन्दी गरेकोमा आन्तरिक र बाह्य दबाब झेली रहेको, त्यसमाथि मधेस क्षेत्रमा अर्ध भूमिगत अवस्थामा रहेको सशश्त्र समूह हरुले सशश्त्र बिरोध थाल्दा भारतले उक्साएको भन्ने संदेश जाने, त्यसले भारतलाई झन् अप्ठ्यारो पार्ने भएकोले त्यो हुन नसकेको हो ।

केपी ओली अथवा उनको शोंच र शैली २०० बर्ष अग्गडि सम्म मात्र यो गर्न सम्भव थियो तर आजको विश्व परिवेसमा मेल खाँदैन, हुँदैन । यहि सोंच र शैलीबाट देशलाई अगाडी बढाउन खोज्नु भनेको ढिलो चांडो मधेस वा अन्त कतै बाट द्वन्द निम्त्याउनु हो । मिलेर बसेको बिबिध जाती र समाजमा घृणा भनिने बिष छरेर तहस नहस बनाउनु, त्यसपछि यो मुलुकमा कसैलेपनि सुख र सान्तिले बस्न नसकिने दुषित बाताबरण बनाउन खोज्नु हो । त्यो दुस्साहस कसैबाट नहोस ।

तस्विर :-इन्टरनेट  

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर