A+ A A-

एशिया कै प्रमुख धार्मिक तथा व्यापारिक शहर सिद्धार्थनगर

-हुम सुनारी मगर

विश्व भरका बौद्धमार्गीहरूको केन्द्रस्थल हो, लुम्बिनी । त्यसैले, बुद्धको जन्मस्थल लुम्बिनीसँगै जोडिएको भैरहवा-बुटवललाई जोडेर महानगरपालिका बनाउँदा अति उत्तम हुनेछ । बुद्धको वास्तविक नामबाट नामांकरण गरिएको 'सिद्धार्थनगर' लाई एशिया कै एक नमुना र सम्पन्न शहर बनाउनु पर्छ ।

इस्लामहरूका केन्द्रस्थल साउदी अरेवीयाको मक्काहसँगै जोडिएको मध्यपूर्वको प्रमुख व्यापारिक शहर जेद्धाह जस्तो भईसक्नु पर्ने थियो, सिद्धार्थनगर । अथवा, इसाईहरूका केन्द्रस्थल इटालीको रोम शहर जस्तो भईसक्नु पर्ने थियो, सिद्धार्थनगर । तर, लुम्बिनी 'सिद्धार्थनगर' लाई राज्यले नै उपेक्षा गरेकै हो । भगवान बुद्धको जन्मस्थल नेपाल हो भन्ने राज्यले संसार भर प्रचारसम्म मात्रै गर्न सकेको भए पनि सिद्धार्थनगरको रूप अहिलेसम्ममा धेरै परिवर्तन भईसक्ने थियो । तर, लुम्बिनीको विकास र यसको विश्वव्यापीकरण गर्ने हकमा राज्यले गहन भूमिका नखेलेकै हो ।

भारतको प्रत्यक राज्यमा पढाइने अनिबार्य, सामाजिक, विज्ञान, बिषयमा बुद्ध भारतमा जन्मेका हुन् भनेर भारतीय विद्यार्थीहरूलाई पढाइन्छ । त्यसको प्रमाण हाल नेपालमा पनि मान्यता प्राप्त भएको भारतीय पाठ्यक्रम केन्द्रीय माध्यमिक शिक्षा बोर्डद्वारा सञ्चालित विद्यालयहरूमा प्रष्ट भेट्न सकिन्छ । भारतीय सरकार प्रमुख नेपाल आएर बुद्धको देश नेपाल हो, भन्छ । तर, आफ्नै देशमा आयोजना गरिएका औपचारिक कार्यक्रमहरूमा हाम्रो भारत बुद्ध जन्मेको देश हो, भन्छ ।

७० प्रतिशत भन्दा बढी बुद्धिष्टहरू रहेको देश श्रीलंकामा बुद्ध भारतमा जन्मेका हुन् भनेर विद्यालय मै पढाइन्छ । विश्व कै सबैभन्दा धेरै बुद्धिष्टहरू रहेको देश मंगोलिया, चीन, कोरिया, जापान, ताइवान, म्यानमार, लाओस, भियतनाम, थाइल्याण्ड, सिंगापुर र भुटान जस्ता देशहरूका मानिसहरूको बुझाई पनि त्यहि छन्, बुद्ध भारतमा जन्मेका हुन् भन्ने । यद्यपि, पछिल्लो केहि बर्ष यता अधिकतम् बौद्धमार्गीहरूले बुद्ध भारतमा जन्मेका नभई नेपालमा जन्मेका थिए भन्ने विश्वास गर्न थालेका छन् । तर, भारत भने अझैसम्म पनि बुद्ध नेपालमा जन्मेका हुन् भनेर स्वीकार्न तयार छैन । आजको दिनसम्म तिनका विद्यार्थीहरूलाई त्यहि शिक्षा दिइरहेका छन्, बुद्ध भारतमा जन्मेका हुन् ।

विश्व भर झन्डै पाच सय मिलियन बुद्धिष्टहरू छन् । प्रत्यक बर्ष कूल बुद्धिष्टहरूको एक प्रतिशत मात्र अथवा झन्डै पचास लाख बुद्धिष्टहरूलाई लुम्बिनी भित्र्याउन सकियो भने मुलुकको राजस्वमा अनपेक्षित वृद्धि हुनेछ । पर्यटन क्षेत्रमा निजि क्षेत्रका ब्यबसायीहरू लाभान्वित हुने निश्चित छन् । लाखौं नेपाली युवाहरूको लागि रोजगारी सृजना हुने निश्चित छ। र, दश बर्षभित्र मै पर्यटन क्षेत्रबाट मुलुकको अर्थतन्त्रमा कायापलट गर्न सकिने निश्चित छ । तर, त्यसको लागि सिद्धार्थनगर अथवा लुम्बिनी क्षेत्रमा भौतिक पूर्वाधारहरूको विकास हुनु अपरिहार्य छन् ।

भैरहवामा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल धेरै अगाडि बनिसक्नु पर्दथ्यो । ढिला गरि भएपनि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अहिले धमाधम भईरहेको छ । २०७४ को माघसम्ममा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा ल्याउने लक्ष्य छ । अधिकतम् बौद्धमार्गीहरूलाई लुम्बिनी भित्र्याउने अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रमुख उद्देश्य हो । त्यसको अलावा थप भौतिक पूर्वाधारहरूको पनि विकास हुनु अत्यन्त जरुरी छ ।

सिद्धार्थनगर क्षेत्रलाई आधुनिक प्रकारको शहर निर्माण गर्न राज्यले व्यवस्था गर्नुपर्ने हुन्छ । अहिले नै त्यस क्षेत्रको ठिक ढङ्गले नगर विकास परियोजना ल्याउनु पर्ने आवश्यक छ । अहिले नै भैरहवा-बुटवल नगरको राम्रो व्यवस्थापन गरिएन भने पछि काठमाडौँ जस्तो अव्यबस्थित शहर बन्न सक्छ ।

आव ०७३/७४ को लागि नेपाल सरकारको प्रस्तुत बजेटमा भैरहवा-बुटवललाई मिलाएर महानगरपालिका बनाउँनु पर्ने भनिएको छ, जुन शतप्रतिशत जायज छ । सम्भावित महानगरपालिकाको नाम भगवान बुद्धको वास्तविक नाममा नामांकरण गरिएको भैरहवा शहरको नाम सिद्धार्थनगरलाई नै कायम गर्दा अति उत्तम हुनेछ । भगवान बुद्धको वास्तविक नाम सिद्धार्थ हो, भन्ने विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई पनि जानकारी होस् ।

यसपालिको बजेटमा समेटिएका बुटवल-तानसेन सुरुङमार्ग, कालिगण्डकी तिनाउ डाइभर्सन, लुम्बिनीमा ५ हजार अट्ने सभाहल, बुटवलमा अन्तर्राष्ट्रिय सभाहल, भैरहवामा क्षेत्रियस्तरको क्रिकेट मैदान र मोतिपूरमा आधुनिक औद्योगिक क्षेत्र निर्माण गरिने आदि ठूला परियोजनाहरू पनि परेका छन्, जुन अति स्वागत योग्य छन् ।

बजेटमा समेट्न नसकिएका तपशिलका थप परियोजनाहरूलाई पनि सरकारले प्रार्थमिकतामा राखियोस् ।

तिनाउ नदीको दायाँ बायाँ सडक र पार्क 

आव ०७३/७४ को बजेटमा उल्लेख नभएका थप पूर्वाधारहरूको विकास हुनु अत्यावश्यक छन् । जस्तैः कालिगण्डकी-तिनाउ डाइभर्सनको प्रमुख उद्देश्य विधुत उत्पादन र तीन जिल्ला रूपन्देही-नवलपरासी-कपिलबस्तुमा सिचाई व्यबस्थापन गर्नुपर्ने देखिन्छ । बुटवलको देवीनगरदेखि भैरहवाको तौलिहवा रोडसम्म नदि व्यवस्थापन गरेर तिनाउ सडक कोरिडोर र नदीको दायाँबायाँ पार्क निर्माण गर्नुपर्ने । यसले सिद्धार्थनगरको थप शोभा बढाउनेछ । सम्भवतः भैरहवा-बुटवल जलमार्ग पनि प्रयोग गर्न सकिनेछ । यो परियोजना निर्माण गर्न सके लुम्बिनी भित्रिएका स्वदेशी तथा विदेशी पर्यटकहरूलाई थप आकर्षित गर्न सकिने निश्चित छ ।

बृहत रिङरोड 

भैरहवा, लुम्बिनी, सैनामैना, बुटवल, सुनवल र परासी हुँदै भैरहवासम्मको एउटा बृहत रिङरोड निर्माण हुनु अत्यावश्यक छ । त्यस रिङरोड भित्र पर्ने सबै क्षेत्रलाई महानगरपालिका अन्तर्गत व्यवस्थापन गर्नुपर्ने हुन्छ । महानगरपालिका भित्र पुराना तथा नयाँ बस्तीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शहर व्यवस्था गर्नुपर्ने हुन्छ । बेलहियादेखि बुटवलसम्मको मुख्य सडकमा पर्ने प्रमुख संगम जन्क्सनहरू जस्तै, भैरहवाको चौराहा, बुद्धचोक, ठुटेपीपल, कोटीहवा, भल्वादी, मंगलापुर, मणिग्राम, शंकरनगर, ड्राइभरटोल, योगिकोटि, बुटवलको चौराहा र हस्पिटल रोडमा फ्लाईओभर पुल निर्माण गर्नुपर्ने आदि ।

व्यवस्थित औधोगिक क्षेत्र

भैरहवा र बुटवल आसपासमा सञ्चालित सबै उद्योग कलकारखानाहरूलाई बजेटमा उल्लेख भए जस्तै मोतिपूरमा आधुनिक औद्योगिक क्षेत्र निर्माण गरेर पुराना तथा नयाँ सबै कलकारखानाहरू त्यस क्षेत्रमा शिफ्ट गर्नुपर्ने अत्यावश्यक छ । भैरहवा-बुटवलमा स्थापित ब्यापारीहरूका समान भण्डारणको लागि सितापूरमा आधुनिक गोदामको व्यवस्थापन गर्दा अति उत्तम हुनेछ । यो व्यवस्थापनबाट ठूला मालवाहक सवारी साधनको कारणले मुख्य शहरमा प्रदूषण हुने र लामो समयसम्म ट्राफिक जामबाट मुक्त हुनेछ । ठूला मालवाहक सवारी साधनहरू सधै व्यस्त रहने प्रमुख शहर भित्र गुड्ने अनुमति दिनु हुँदैन । त्यसको लागि छुट्टै रूटको व्यवस्था गर्नु पर्छ। 


सबै प्रकारका सवारी साधनहरू मर्मत गर्ने ग्यारेजहरूको एक छुट्टै स्थानको व्यवस्थापन गर्नुपर्ने हुन्छ । सवारी साधनहरूको स्पेयर पार्ट्स पाउने स्थल सवारी साधन मर्मत स्थल कै आसपासमा व्यवस्थापन गर्नु पर्छ । बिक्रीका लागि नयाँ तथा पुराना सवारी साधनहरूको शोरूम तथा ग्यारेज स्थल मुख्य शहरभन्दा केहि बाहिर व्यवस्थापन गर्दा उचित हुन्छ।

मेट्रोरेल र लोडसेडिङको अन्त्य

सम्भावित सिद्धार्थनगर शहर व्यवस्थापन गर्दा अहिले नै सम्भावित मेट्रो रेलको लागि पनि परिकल्पना गरेर सोहि अनुसार जग्गा अधिग्रहण गर्नु पर्छ । विधुतीय मेट्रो रेललाई प्रार्थमिकतामा राख्नु पर्छ । सिद्धार्थनगर केहि बर्षभित्रै उत्कृष्ट धार्मिक तथा व्यापारिक शहर बन्ने भएपछि यहाँ ठूलो मात्रामा विधुतको आवश्यकता पर्छ सक्छ । सिद्धार्थनगर क्षेत्रमा लोडसेडिङ पूर्णरूपले अन्त्य गर्नेगरी त्यस क्षेत्रको लागि मात्र कम्तिमा तीन सय मेघावाट विधुतको व्यवस्था गर्नुपर्छ । त्यसको लागि कालिगण्डकी-तिनाउ डाइभर्सन परियोजना उत्तम हुनेछ । त्यसैले, यो परियोजनालाई सरकारले बिशेष प्रार्थमिकतामा राखिनु अत्यावश्यक छ ।

अन्तर्राष्ट्रिय फूटबल रङ्गशाला

भैरहवामा एक क्षेत्रीयस्तरको क्रिकेट मैदान दुई बर्षभित्रमा निर्माण गरिसक्ने सरकारको बजेटमा परेपनि अन्तर्राष्ट्रिय स्तरको फूटबल रङ्गशाला निर्माण गर्ने बिषयमा सरकार मौन छ । त्यसैले, सिद्धार्थनगर क्षेत्रमा एक अन्तर्राष्ट्रिय फूटबल रङ्गशाला निर्माण हुनुपर्ने अत्यावश्यक छ । जहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका फूटबल प्रतियोगिताहरूको आयोजना गर्न सकियोस् । र, यस क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरका फूटबल खेलाडीहरू जन्माउन सकियोस् ।

बौद्ध विश्वविद्यालय स्थापना

लुम्बिनी पाच सय मिलियन बुद्धिष्टहरूको केन्द्रस्थल भएकोले यहाँ विश्व भरिका बौद्ध धर्मावलम्बीहरूले उच्च शिक्षा हाँसिल गर्न पाउने व्यवस्था गरि एक बौद्ध विश्वविद्यालय स्थापना गर्नुपर्ने हुन्छ । बौद्धमार्गीहरूको केन्द्रस्थल नेपाल हुँदाहुँदै नेपालका कैयौं बुद्धिष्टहरू चीन, थाईल्याण्ड र श्रीलंका जस्ता देशहरूमा उच्च शिक्षाका लागि अध्ययन गर्न गएका हुन्छन् । लुम्बिनी सिद्धार्थनगरमै एउटा बौद्ध विश्वविद्यालय स्थापना गरेर विश्व भरका लाखौं बौद्धमार्गी विद्यार्थीहरूलाई नेपाल मै अध्यापन गराउने व्यवस्था गर्नसके नेपालले थप फाइदा उठाउन सक्ने कुरामा दुईमत नै छैन ।

सिद्धार्थनगर शान्तिका अग्रदूत भगवान बुद्धको जन्मस्थल भएकोले सिद्धार्थनगर महानगरपालिकालाई शान्ति शहर घोषणा गरेर विश्व कै शान्ति, समृद्धि र सम्मुन्नत राष्ट्रको रूपमा नेपाललाई विश्व सामू चिनाउन सम्बन्धित सबै पक्ष एकजूट हुनु अत्यावश्यक छ ।

 

हुम सुनारी मगर 

इमेल:  This email address is being protected from spambots. You need JavaScript enabled to view it.  

सिद्धार्थनगर हाल साउदी अरेवीया


 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर