A+ A A-

यो संविधान कसरी एकल जातिवादी छ ?

बलदीप प्रभाश्वर चामलिङ

आधा हिस्सा जनताहरूको असन्तुष्टीबीच संविधान जारी गरिएको छ । सत्तापक्षधरहरूले यो संविधान उत्कृष्ट हो भनेर दाबी गरिरहेका छन् भने असन्तुष्ट पक्षले यो संविधान अझ परिस्कृत भएन भनेर विरोध जनाइरहेका छन् । मधेसी समुदायले प्रान्तीय राज्यको सिमाङ्कनको विषयलाई असन्तुष्टीको मूल मुद्दा बनाएका छन् भने आदिवासी जनजातिहरूले त्योभन्दा पनि पहिचान र अधिकारको मूल्य र मान्यताको धरातलमा टेकेर जारी संविधानको सिंहावलोकन गरिरहेका छन् । उनीहरूले आफ्नो प्रतिकृयालाई तत्काल आन्दोलनको स्वरूपमा प्रकटीकरण नगरेता पनि दीर्घकालीन असरजन्य रोषलाई कुण्ठा बनाएरचाहिँ राखेको अवस्था अवस्य हो ।
आजको समाज चेतनाको समाज हो । यस्तो समजले हरकुराहरू तर्क र कारणसम्मत खोज्दछ । आफू कहाँसम्म अगाडि बढ्ने र कहाँसम्म पछाडि अडिने भन्ने कुराको न्युनतम मापदण्डीय आधारको तय यस्तो समाजले गर्दछ । कतिपय कुरा यस्ता हुन्छन् जो बहुमत र अल्पमतको नभै ¥याशननालिटी को कसीमा बोध गर्नुपर्ने हुन्छ र त्यही अनुसार व्यवहार निर्धारण गर्नुपर्ने हुन्छ । यो सन्दर्भमा जारी गरिएको संविधान कहाँ र कसरी चुक्न पुग्यो ? यसको विश्लेषण हुन आवश्यक छ ।

बन्धक बनाइएको धर्मनिरपेक्षता

सबै भन्दा असुहाउँदिलो कुरा धर्मनिरपेक्षताको विषयमा भएको छ । धर्मनिरपेक्षताको सारलाई तोडमोड गरिएको छ । नेपाल धर्मनिरपेक्ष राज्य हुने कुरा लेखिएको छ तर त्यसको स्पष्टीकरणमा धर्म निरपेक्ष भनेको सनातन धर्मको संरक्षण भन्ने अर्थ लगाइएको छ । यो घुमाइफिराइ नेपाललाई पुनः हिन्दुराज्य नै हो भन्न खोजिएको हो । अंग्रेजीमा एउटा ‘युफेमिजम’ भन्ने शब्द छ । यसको अर्थ लक्षित व्यक्तिलाई अप्रिय लाग्ने कुरालाई घुमाएर नरम शैलीमा भन्ने हो । नरम शब्दमा भनिएता पनि त्यसको सार आखिर उही हुन्छ । जस्तो, “फलानो म¥यो” भनेर सिधै नभनेर “फलानोको हृृदय गति बन्द भयो” भने जस्तै धर्मनिरपेक्षता भनेको सनातन धर्मको संरक्षण हो भन्नु भनेको उही नेपाल हिन्दुराज्य नै हो भन्ने हो । किनकि राज्यले नै प्रकाशन गरेको नेपाली बृहत शब्दकोषमा ‘सनातन’ धर्मको अर्थ हिन्दुधर्म हो भन्ने लागाएको छ ।
धर्मनिरपेक्षतालाई एक थरीहरूले आयातित मुद्दा हो भनेर यसको विषयान्तर गर्न नखोजेका होइनन् । तर धर्मनिरपेक्षता बहुजातीय तथा बहुधार्मिक मुुलुकमा अपरिहार्यता हो । धर्र्मनिरपेक्षतालाई पुरातनवादीहरूले हिन्दुधर्मको निषेध हो भन्ने बुझिदिए । समस्या यहीँ आयो । धर्मनिरपेक्षता भनेको समाजबाट धर्म अलग रहने भन्ने होइन । मानिसलाई धर्मको अभ्यासबाट टाढा राख्ने भन्ने होइन । समाजबाट होइन, बरु समाजलाई नियम गर्ने राज्यबाट चाहिँ धर्मलाई अलग राख्ने भन्ने हो, धर्मनिरपेक्षता । विविध समाजको अस्था हो, राज्यसत्ता । जुन कुराले सबैलाई प्रभावित पार्दछ त्यो कुरा सबैको सर्बसम्मत हुनुपर्दछ । राज्य त हिन्दुधर्म मान्नेको पनि हो, बुद्धधर्म मान्नेको पनि हो, इशाई धर्म मान्नेको पनि हो र मुस्लिम धर्म मान्नेको पनि हो । राज्य धर्म नै नमान्नेहरूको पनि हो । त्यसकारण राज्यसत्ता धर्मको सम्बन्धमा तटस्थ रहनु नै धर्मनिरपेक्षता हो । धर्मनिरपेक्षता कुनै पनि धर्मको निषेध होइन, बरु सबै धर्मको कदर हो । र त्यो कदर तटस्थताको नीतिबाट गरिने हो । तर धर्मनिरपेक्षालाई प्रहार गर्न सनातनधर्मको रक्षाको स्पष्टीकरणको तरबार चलाइएको छ । यो कुराले यो संविधान खोटी भएको छ ।

प्रतिकात्मक प्रभूत्वः व्हाईटहाउस, प्रतिक र चिन्ह

राज्यमा बनाइने विभिन्न राष्ट्रिय प्रतिकहरूले ठूलो अर्थ राख्छ । राष्ट्रिय एकताको नाममा ती प्रतिकहरूद्वारा कुनै एक जातीय प्रभूत्वलाई वैधानिकता प्रदान गरिएको हुन्छ । यो कुराको चाल साधरण जनताले पाउन सक्दैन । वास्तवमा ती प्रतिक तथा चिन्हहरूले कुनै एक विशेष आस्था र झुकावलाई प्रतिनिधित्व गरेको हुन्छ ।
अहिलेको शासन भनेको एकले अर्कोलाई प्रत्यक्ष रूपमा अनुभूति हुने गरी दमन गर्ने होइन । आफ्नो मूल्य र मान्यतालाई सांकेतीकरण गरेर कानूनी मान्यता प्रदान गराउने र त्यही अनुसार जनताको आचरण निर्धारण गराउने अभ्यास नै शासनको अर्को छद्म संस्करण हो । यो कुरा नागरिकको तहमा पुगिनसकेकाहरूले बुझ्न सक्दैनन् । त्यसको फाइदा सत्ताधारीले लिएको हुन्छ ।
संसारलाई राज गर्ने अमेरिकाको राष्ट्रपतिको प्रशासनिक भवनको कानूनी आधिकारिक नाम हो, ‘व्हाईटहाउस’ । यो त्यत्तिकै यस्तो नामकरण गरिएको होइन । त्यो भवनलाई सेतो रंगले पोतेकै कारण व्हाईट हाउस भएको होइन । यो गोराहरूको जातीय अहंकारको कर्तुत हो । व्हाईट हाउस भनेको गोरा जातिहरूको मूल्य र मान्यताको सांकेतिकरण हो । यसले गोरा जातिको प्रभूत्वलाई प्रतिनिधित्व गर्दछ । कुनै काला जाति राष्ट्रपति भएर त्यो राष्ट्रपति भवनमा गए पनि “आई एम लिबिङ ईन व्हाईटहाउस” भन्नुपर्ने हुन्छ । यसको अर्थ गोराको संरक्षण (व्हाईटहाउस) मै म रहेको छु भन्ने हो ।
यस्तो अभ्यास नेपालमा नभएको होइन । पृथ्वीनारायण शाहको उदयसंगै नेपाललाई एक असली हिन्दुस्तान बनाउने अभियान चलाइएको थियो । त्यस पछि हिन्दुजातीय मान्यता र झुकाव अनुसारको आचार संहीता बनाइयो । प्रशासनिक प्रयोजनमा हिन्दुजातीयतासंग जोडिएको कुरालाई प्राथमिकता दिइयो । पृथ्वीनारायण शाहको पालादेखि लालमोहर प्रचलनमा ल्याइयो । फारसी शब्द ‘मूर्ह’ बाट मोहर भएको हो । यो सरकारी आदेश तथा उर्दीलाई प्रमाणीकरण गर्ने छाप हो । लालमोहरभन्दा अगाडि स्याहमोहर थियो । यो स्याह फरसी शब्द ‘सियाह’ बाट अपभ्रंश भएको हो । सियाह भनेको कालो रंग हो । तर पछि हिन्दुआर्यहरूको जातीय रंग रातो हुने भएको हुदा छापमा रातो (लाल) रंग प्रयोग गर्ने भनेर लालमोहर पृथ्वी नारायण शाहकै पालाबाट प्रचलनमा ल्याइयो ।
संविधानमा राष्ट्रिय झण्डा, फूल र रंगले हिन्दुआर्य जातिको प्रतिनिधित्व गर्दछ । हिन्दुआर्यको जातीय रंग रातो हुनाले नै राष्ट्रिय झण्डाको पृष्ठभूमि रातो राखिएको हो । राष्ट्रिय फूलमा रातो फूल्ने लालीगुराँस राखिएको हो भने रातो रंग हुने सिम्रिकलाई राष्ट्रिय रंग बनाइएको छ । उता नेपाल सरकारको परिचयात्मक चिन्ह निशान छापमा “जननी जन्मभूमिश्च स्वार्गदपि गरीयसी” भन्ने संस्कृत भाषा कुदिँएको छ । यो भनेको हिन्दु आर्यको संस्कृत भाषाको सर्वोच्चतालाई कायम गराइएको हो ।
उता नेपालमा राष्ट्रिय जनावर गाई बनाइको छ । यो विशुद्ध जनावर मात्र होइन, यो त हिन्दुधर्म–संस्कृतिसंग जोडिएको चिज हो । हिन्दुधार्मिक मान्यताअनुसार गाई भनेको लक्ष्मीमाता हो । तसर्थ गाई एउटा हिन्दु धर्मको कोड ९अयमभ० हो । गाईलाई संवैधानिक मान्यता दिएर राष्ट्रिय जनावर बनाउनु भनेको हिन्दु धर्मको प्रतिकात्मक प्रभूत्व स्थापित गराउनु हो । यसले हिन्दु धार्मिक संस्कृति अनुसार गैर–हिन्दुहरूको आचरणमा लगाम लगाउछ । जस्तो कुनै बुद्धिष्ट किराँत समुदायमा अनवरत रूपमा गोमांश सेवन गरिदै आएको परम्परा छ । तर सो समुदायको सदस्यहरूले राष्ट्रिय जनावर बनाइसके पछि गाईलाई काटमार नगरेर श्रद्धा गर्नुपर्ने हुन्छ । यो गाईलाई श्रद्धा गर्ने कुरा बाध्यात्मक र स्वतस्फूर्त दुईमा एक हुन्छ । गैर–हिन्दु किराँत भए पनि राष्ट्रिय जनावरप्रति झुकाव राख्नै पर्ने हुन्छ । यसरी गैर–हिन्दु तथा नास्तिकले पनि गाई प्रति श्रद्धाझुकाव राख्नुलाई हिन्दु धर्मको प्रभूत्वलाई स्वीकार गरेको मान्नुपर्ने हुन्छ किनकि गाई भनेको हिन्दु धार्मिक मूल्य र मान्यताको सांकेतिक प्रतिनिधित्व हो । यसरी यो संविधान एकल हिन्दु जातीय दस्तावेज भएको छ । हिन्दु जातीयताको आयमहरूलाई यो संविधानले मज्जाले स्थापित गरेको छ । हिन्दु जातीय मूल्य, मान्यता र झुकावलाई संविधानमा सांकेतिक रूपमा प्रतिनिधित्व गराइएको छ ।
यस्तो अवस्थामा मुुलुक विशुद्ध आर्थिक क्रान्तिको बाटोमा अगाडि बढन सक्दैन । आर्थिक विकासको पहिलो सर्त भनेको स्थायी शान्ति हो । समाजमा जनताको कुण्ठाहरू रहन दिएर मुुलुकमा दीर्घ कालिन शान्ति कायम हुनसक्दैन । स्थायी शान्ति त जनताहरूको प्रफुल्लित अन्तस्करणको जगमा कायम हुने हो ।
जनताको बहुपहिचानको अकांक्षालाई एकल जातीय पहिचान हो भनेर जबरजस्त अर्थ लगाइदैछ । वास्तवमा वर्तमान संविधानचाहिँ हिन्दु आर्य जातिको एकल पहिचानको द्योतक भएको छ । जातीयता भनेको सम्बन्धित जातिको धर्म, भाषा र संस्कृति प्रतिको झुकावीय प्रवृत्ति हो । हो, एकल हिन्दु आर्य जातिको मूल्य, मान्यता र झुकावको प्रतिकात्मक प्रतिनिधित्व संविधानको प्रारम्भले नै गरिदिएको छ । एक पक्षले आफ्नो जातीय पहिचानलाई यसरी संविधानमा नै ठाउँ दिनु र अरू बाँकीको पहिचानको आवाजलाई चाहिँ वेवास्ता गर्नुले मुलुकमा राजनीतिक समाधान निक्लन सक्दैन । 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी