थापालाई मगर संघ हङकङको आधिकारिकता के गर्लान् नेपाल मगर संघ र हर्क रानाले ?

Read Time:14 Minute, 45 Second

हङकङ सम्वाददाता

फागुन ९, २०७८ – गत सालको १४ नोभेम्बरमा आयोजित मगर संघ हङकङको १० औँ अधिवेशनबाट निर्वाचित मगर संघ हङकङका अध्यक्ष हेमराज थापा र उनको कार्यसमितिलाई हालै हङकङ सरकारले आधिकारिकता दिएको छ । विगत चार महिनादेखि मगर संघ हङकङमा फुटको आगो झोसेर संस्थागत विवादलाई सतहमा ल्याउँदै अवैधानिक अध्यक्ष बनेका हर्क रानामाथि यस आधिकारिकताबाट निक्कै ठूलो रेक्टरको भूकम्प आएको छ भने नेपाल मगर संघको कार्यसमितिको निर्णयबिनै तीनजना पदाधिकारीले एकलौटी निर्णय गर्दै आधिकारिकताको बिल्ला भिराउँदा अहिले संघकै नाक काटिएको छ ।

अक्टोबर ४ का दिन आयोजित मगर संघ हङकङको १० औँ अधिवेशनको बन्दसत्रमा हर्क राना र उनका पक्षका व्यक्तिहरूले चुनाव हार्ने त्रासकै कारण भोटिङअगावै एक्कासि हुलहुज्जतका साथ होहल्लाका गरे । कोरोनाको संवेदनशील अवस्था र शान्तिसुरक्षाका कारण हङकङ प्रहरीले सो अधिवेशनलाई तत्काल स्थगित गर्न आदेश दिए तापनि सो हुलहुज्जतले हर्क रानालाई एकलौटी तरिकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्यो र अर्का उमेदवार हेमराज थापामाथि उल्टै अवैधानिकताको कुतर्क लादेर दिउँसै विधान मिच्ने कार्य गर्यो ।

सोही दिन नै नेपाल र हङकङमा परिचय बनाएका विद्वान् मानिने केही मगरहरूले षड्यन्त्रपूर्वक उनै हर्क राना सर्वसहमतीले अध्यक्ष निर्वाचित भएको रटान लगाए र उनीहरूकै लहैलहैमा लाग्दै नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन र वैदेशिक संयोजक रक्षाबहादुर रैकाले आधिकारिक रूपले हर्क रानाका फोटासिहत बधाई पोस्ट्याए । त्यसरी नियोजित योजना बोकेका मगरहरूको साथले आफू अध्यक्ष भएको उन्मादमा हर्क रानाले आफूलाई बधाई दिएको भन्दै हेमराज पक्षका केही व्यक्तिहरूका फोटाहरू अनधिकृत रूपले प्रयोग गरे । जसबाट उनी झनै विवादको भुङ्ग्रोतिर तानिए । केही कुटिल मगरहरूको विश्वासमा परेका नेपाल मगर संघका अध्यक्ष नवीन रोका, महासचिव ज्ञानेन्द्र पुन र वैदेशिक संयोजक रक्षाबहादुर रैकाले भातृसंस्थाका प्रत्येक सदस्यहरूका समस्याहरूलाई गहन रूपले बुझेर सबैलाई मान्य हुने समाधानको खोजीतिर लाग्नुको साटो हर्क पक्षलाई काख र हेमराज पक्षलाई पाखा मात्र गर्न उद्यत भएनन्, उल्टै उनीहरू हर्क पक्षालाई भ्याकुरा खेदाइ लगाउन पनि बाँकी राखेनन् । हर्क पक्षले जेजे भन्छ, उनीहरू लाजै नमानी त्यही त्यही गर्न हात धोएरै लागी परे ।

मगर संघ हङकङको दुई खेमाको विवादको जड नै यस संघको भवन खरिदको आर्थिक पक्ष हो भन्नेमा नेपाल मगर संघका ती तीन पदाधिकारीलाई सामान्यत सम्झनासम्म भएन । हीरामाया (चन्द्रज्योति) आले अध्यक्ष हुँदा मगर संघको भवन खरिदमा ठूलो आर्थिक चलखेल र अपारदर्शिताको बबण्डर मच्याई त्यसलाई अध्यक्ष आलेले हालसम्म पनि गुमनाम बनाउने भरमग्दुर प्रयास गरिरहेकी छन् । रूखमा झुन्डिएको नरिवलको फलको बोक्रा जस्तै जटिल बनाइएको अपारदर्शी आर्थिक विवादको गुजुल्टोलाई नवौँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिमाथि थोपरेर नेपाल फर्केकी आलेलाई नै नेपाल मगर संघले उल्टै कार्यदलको सदस्य बनायो । अधिवेशनको समस्या अध्ययन र समाधान भन्दै चन्द्रज्योतिकै निकट रहेका व्यक्तिहरूको यस्तो नियोजित कार्यदल बन्नु आफैँमा हास्यास्पद थियो । मगर भवन खरिदलगायत अन्य विषयका आर्थिक हिनाविनामा आवाज उठाउँदै आएका हेमराज थापा पक्षले यस कार्यदलप्रति सहमती नै जनाएन । अन्ततः रक्षाबहादुर रैका, ज्ञानेन्द्र पुन, चन्द्रज्योति आले, भोलानाथ थापा र इन्दिरा श्रीसको कार्यदलले एकलौटी निर्णय गर्दै हर्क रानालाई नै वैधानिकता दिलाउने र मुतको क्षणिक न्यानोमा रमाउने कार्य गर्यो ।

नेपाल मगर संघको यस आधिकारिकताले हर्क रानाको आत्मबललाई अरू टेको दियो । उनले तिहारको देउसीभैलो कार्यक्रम आयोजनामा अर्थ सङ्कलन गर्न मगर संघ हङकङको नाम, लेटरहेड र छापको प्रयोग गर्दै आफूलाई वैधानिक बनाउने प्रपन्च रचे । उनी यतिमा मात्र सीमित रहेनन्, संघकै नाम, लेटरहेड र छाप प्रयोग गर्दै माघेसकरातीलगायतका अन्य चन्दा अभियानलाई समेत अगाडि बढाए । उनले आफू नै वैधानिक अध्यक्ष भएको कथित पत्रकार सम्मेलनसमेत गरे । आफूलाई आधिकारिकता दिलाउन उनले देशविदेशका मगरहरूसामु निक्कै गोरु बेचेका नातासम्म जेडेर भरमग्दुर कसरत पनि गरे । यस्ता कार्यका लागि उनलाई उनकै झुण्डमा रहेका मगरहरूले उक्साए र अगाडि बढाए ।

(हर्क रानाको वैधानिक अध्यक्ष घोषणाको पत्रकार सम्मेलन)

मगर संघ हङकङका अत्यधिक बहुमत मगरहरू चुनावको पक्षमा थिए । सोही जनमतको कदर गर्दै निर्वाचन मण्डलले विधानसम्मत नोभेम्बर १४ का दिन निर्वाचन आयोजना गर्यो । यस निर्वाचनमा हार्ने निश्चित भएकाले हर्क रानाले निर्वाचनलाई वेवास्ता गरे र आफू नै वैधिनक अध्यक्ष भइसकेको रटान लगाए । निर्वाचनको समयमा मतदाताहरू उपस्थित भएर मतदान गरे । सो मतदानबाट अत्यधिक मत ल्याई हेमराज थापा अध्यक्षमा निर्वाचित भए । यता नेपाल मगर संघका ती तीनजना पदाधिकारीले हेमराज पक्षमाथि झड्केलो व्यवहारको तिक्ततालाई झन् पेचिलो बनाए । पुराना भनिएका पत्रहरू एकलौटी रूपमा हर्क पक्षलाई नै उपलब्ध गराउँदै प्रचारप्रसारमा उतारेर हेमराज पक्षालाई मनोवैज्ञानिक प्रभाव पार्न सक्रिय भए । त्यतिबेला नवीन, ज्ञानेन्द्र र रक्षाले आफूहरूलाई मगरहरूकै मसियार ठाने र आफ्ना हरेक निर्णय नै अन्तिम भन्नेमा साँढेपन देखाए । लाग्थ्यो उनीहरूका अगाडि हेमराजहरू बबुरा हुन्, उनीहरूविना बबुराहरूको केही चल्दैन ।

यस्तो रवैयाका बीच एकलौटी तरिकाले हर्क पक्ष भातृ संस्थाको रूपमा मगर कलाकार संघ, मगर महिला संघ, नौमती बाजा समूह आदि गठन गरेर आफूलाई आधिकारिक र अब्बल भएको भ्रम छर्नतिर लाग्यो । एक मगर झुण्डबाट नियोजित तरिकाले निर्विरोध अध्यक्ष निर्वाचित भनिएका हर्कले मगर संघ हङकङका चलअचल सम्पत्ति पाऊँ भनी मागपत्र पनि बुझाए तर त्यसमा उनी सफल भएनन् । उनले मगर संघ हङकङको नाममा अवैध अध्यक्ष भई हङकङ सरकारको नियमविपरीतका कार्यहरूलाई अगाडि बढाइरहे । नेपाल मगर संघको अगुवाइमा हङकङ सरकारको कानुनलाई नजरअन्दाज गर्दै उनले अनधिकृत रूपले मगर संघ हङकङको नाम, लेटरहेड र छापको दुरूपयोग गरी नेपालका मगरहरूलाई सम्मानपत्र बाँड्ने गलत कार्य पनि गरे ।

(हर्क रानाबाट गठित भातृसङ्गठनहरू)

सन् २००२ को अधिवेशनदेखि सोझा मगरहरूलाई लड्काउँदै र विधान नाघेर अनि मिचेर मनोमानी गर्दै आफ्ना कुत्सित स्वार्थमा संस्था चलाउन पल्केका मगरहरू यसपालि पनि सोही दाउमा थिए तर समयले साथ दिएन । उनीहरूका लागि परिस्थिति भिन्न मात्र बनेन, प्रतिकूल नै बनिदियो । यसको मूल जड यस संघमा जकडिँदै आएको आर्थिक हिनामिना हो । आर्थिक हिनामिनाका कुरा हेमराज पक्षका कुनै व्यक्तिबाट सामाजिक सञ्जाल या कुनै माध्यमबाट बाहिर आउनसाथ सम्बन्धित केही मगरहरूको मुटुले ढ्याङ्ग्रो ठोक्छ, नाइनाडी नै गल्छ ।

(नक्कली नामबाट गरिएका गालीगलोज)

यस्ता कुरा लुकाउन केही मगरहरू नक्कली नाममा फेसबुक आईडी बनाएर तथानाम गालीगलौज र धम्कीमा उत्रिन्छन् । यसको एउटा उदाहरण हो निक्की थापा र थापा भेक नामका दुई नक्कली आईडी । यी नामबाट प्रायः तथानाम गालीगलौज र धम्की आउने गरेका छन् । यी आईडी सुनामधन्य एक परिचित डाक्टरले चलाउने रहेछन् । आफ्नो योग्यता र कर्तव्यमा धब्बा लगाउँदै आत्मनिहीत स्वार्थमा लाग्नु किमार्थ राम्रो होइन ।

(चुरा थापाले लेखेको म्यासेज)

उनी आफ्नो इज्जतमा आफैँ डढेलो झोसिरहेछन् र आम मगरहरूका बीचमा उदाङ्गो बनिरहेछन् । यस्ता कुरालाई प्रश्रय दिन भनी मगर भवनको हिसाब खोज्नेहरूका विरुद्धमा हर्क उल्टै प्रेस विज्ञप्ती जारी गर्छन् । त्यसै विज्ञप्तीमा उनी मगर संघ हङकङको नाम, लेटरहेड र छाप अनधिकृत रूपले प्रयोग गर्न लागीपरेकोमा भने थोरै होससम्म पाउँदैनन् ।

(नेपाल मगर संघले हर्क रानालाई पठाएको पत्र र रानाले राखेको स्टाटस)

भवन खरिदमा भएको आर्थिक चलखेल र हिनामिनाले मगर संघ हङकङलाई यो पेचिलो अवस्थामा ल्याएको छ । आर्थिक पारदर्शिताको पक्षमा रहेका हङकङका आम मगरहरू र हेमराज पक्षमाथि डण्डा चलाउँदै नेपाल मगर संघले धृतराष्ट्रजस्तै अन्धो बनेर हर्क पक्षलाई मज्जैले काखी च्यापिरहेको छ । यतिबेला नवीन, ज्ञानेन्द्र र रक्षालाई अवगत छ कि छैन ? हङकङ सरकारले हेमराज थापालाई नै मगर संघ हङकङको आधिकारिक अध्यक्ष मानेर आधिकारिक पत्र प्रदान गरेको छ ।

(नेपाल मगर संघको अगुवाइमा हर्क रानापक्षबाट मगरहरूलाई गरिएको सम्मान)

यसअगावै नेपाल मगर संघले आफ्नो आसन्न बाह्रौँ महाधिवेशनका लागि बडो कुटिल तरिकाले हर्क राना पक्षबाट प्रतिनिधिहरूको नामसूची मागिसकेको छ र मतदान गर्ने अधिकार दिइसकेको छ । हर्क पक्षबाट यस महाधिवेशनमा मतदान गर्न प्रतिनिधिहरू आउने छन् । यहाँनेर स्मरण रहोस्, मगर संघ हङकङ नामबाट हर्क राना पक्षले हङकङमा रहेर हङकङ या अन्यत्र कहीँ पनि कानुनी रूपले कुनै गतिविधि गर्ने वैधता पाउँदैन ।

(सामाजिक सञ्जालमा पोस्ट्याएको पुरानो समाचारको अङ्श)

यस्तो जटिल अवस्थामा हर्क पक्षले अब आफ्नो एक सानो समूहलाई कि मगर संघ हङकङ या अन्य कुनै संस्थामा विलय गर्नुपर्ने छ । कि त मगर संघ हङकङ चोइटाएँ भन्दै अन्य कुनै नामबाट तदर्थ समिति गठन गरेर पहिलो अधिवेशनको बाटोतिर लाग्नुपर्ने छ । बडो उदेक लाग्दो कुरा, नवीन रोका, ज्ञानेन्द्र पुन र रक्षा रैकाको सनकले निम्त्याएको यस्तो विषम अवस्थामा हर्क पक्ष कसरी नेपाल मगर संघको भातृ संस्था बन्न सक्ला र यसको आसन्न महाधिवेशनमा मतदान गर्न पाउला ? के त्यतिबेला आम मगरहरू सत्रौँ शताब्दीमा जस्तै आँखा चिम्लेर बस्लान् ? यतिबेला एउटा ज्वलन्त प्रश्न उब्जेको छ, ‘नेपाल मगर संघ र हर्क रानाले के गर्लान् ?’

(हर्क रानाको प्रेसविज्ञप्ती)












3 0
Happy
Happy
11 %
Sad
Sad
22 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
11 %
Surprise
Surprise
56 %