एक वेल्पालीको दैनन्दिनी

Read Time:65 Minute, 37 Second

एक्काइसलाई फर्केर हेर्दा
– विजय हितान

सन् २०२१ धेरैका लागि असहज बनेर बित्यो, कोभिड महामारीका कारणले । सन् २०२० मा पसेको कोभिड भाइरस अझै हाम्रो श्वासप्रश्वासमा छ । मेरा दैनिकी पनि यसबाट अछुतो रहन सकेनन् । करोनाले बनाएको बन्दाबन्दी अवस्थाबाट त्रासदीपूर्ण ती सेकेण्ड–सेकेण्ड, ती मिनेट–मिनेट घडीका सुई घुम्दै जाँदा सकारात्मक सोच मनमा पालेर बाँच्दै गरेछु । केही महत्त्वपूर्ण व्यक्तिगत उपलब्धि हासिल गर्न सकेको महशुस गर्दै सन् एक्काइसलाई गलहत्याएर निकाल्दै बाइसलाई भित्र्याएको छु ।

१. जनवरी

नछोड्दो रहेछ कोरोनाले । बेलायत तेस्रो लक डाउनबाट गुज्रिँदै छ । एकैदिनमा ५०–६० हजार सङ्क्रमण र १५–१६ सयको मृत्यु हुने गरेको छ । बिनाकारण बाहिर निस्के २०० पाउण्ड जरिवाना छ । मध्यरातमा जागेर निद्रा नलाग्ने रोगबाट ग्रस्त हुँदै छु म ।

मास्टर मित्रसेनको १२५ औँ जन्मजयन्ती पारेर अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न गरेँ, विनेसाम साउथ युकेको व्यानरमा । नेपाल, भारत, बेलायत, अमेरिका, रसिया, मध्य पूर्वबाट ८६ जनाको सहभागिता रह्यो ।

‘लाहुरेको रेलिमाई’ उपन्यास पुनर्लेखन गर्दै छु । सन् २०२२ को अन्त्यतिर प्रकाशन गर्ने उद्देश्य राखेको छु ।

रेडियो हिमालयका बुद्धि विश्वकर्माबाट इको राइटिङ विषयमा मेरो अन्तर्वार्ता लिने कार्य भयो । पर्या साहित्यलाई नेपाली मूलधारको साहित्यमा भिœयाउने मेरो सन् २००९ देखिको अभियान हो । त्यसै सिलसिलामा मिडिया मलाई सोध्दै खोज्दै जोडिन आएको पाउँदा खुसी लाग्छ ।

आदिवासी जनजाति पत्रकार महासंघ युकेले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा एक सल्लाहकारको नाताले सहभागी भएँ । डा. ओम गुरुङले विदेशी शक्तिले गर्दा नेपालको राजनैतिक अवस्थामा उथलपुथल आएको कुरा राख्नुभयो ।

२९ औँ वर्षगाँठ आएको पत्तै पाइएन । नौमती बाजामा उनलाई भिœयाएको हिजोजस्तै लाग्छ ।

दुबसु क्षेत्रीको सम्पादनमा ‘बेलायतमा नेपाली कथा’ प्राप्त गरेँ र त्यही पढ्दै छु । मेरो पनि एउटा इको कथा ‘बन्दी कृषक’ यसमा समावेश छ ।

कोरोनाबाट डा. चन्द्र लोक्सम्वाको निधन भएको खबरले मर्माहत भएँ । सन् २००८ मा मैले उनीसँग थेसिसको सर्वेक्षण गर्दाको क्षण स्मृतिमा बल्झिन पुग्यो ।

नमस्ते रेडियो नेपाल र हातेमालो सामाजिक संस्थाले मलाई प्रमुख वक्ताको रुपमा निम्त्याए । फेसबुक लाइभ गरिएको उक्त भर्चुअल प्रसारणमा युद्ध साहित्यको विषयमा बोलेँ । कार्यक्रम राजकुमारी श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।

मेरो इको कथासङ्गालो ‘ब्लु प्लानेट’ प्रकाशन सम्बन्धमा फिनिक्स बुक्सका गणेश सुवेदीसँग कुराकानी अगाडि बढाएँ । ‘मगर रिन्हाक’ पुस्तकउपर पनि केही काम भए । प्रकाशन संयोजक भावेश भुमरीसँग दिनैजसो म्यासेन्जरमा छलफल भयो ।

नेपाल मुक्तक प्रतिष्ठान बेलायतले सञ्चालन गरेको जुम कार्यक्रममा सहभागी भएँ । तीन इको मुक्तक वाचन ‘मैले भन्द्या छु, जलवायु परिवर्तनको एजेण्डा ह्वाइटहाउस भित्रिएको छ (वातावरण अमैत्री राष्ट्रपति ट्रम्प बाहिरिएर नयाँ राष्ट्रपति जो वाइडन ह्वाइटहाउसमा भित्रिँदै गर्दा लेखेको मुक्तक), बाघ मरेको हो मान्छे मरेको भए चक्का जाम हुने थियो (चितवनको पूर्वपश्चिम राजमार्गमा निकुञ्जको बाघलाई गाडीले किचेर मारेको समाचार पढेपछि लेखेको मुक्तक) ।

२. फेब्रुअरी

कोभिड महामारी र बन्दाबन्दीले गर्दा अन्त कतै जानु छैन । सप्ताहान्तको दुई दिन धित मारेर डेडदुई घण्टा हिँड्ने गर्छु, कठ्याङ्ग्रिने जाडोले गर्दा खैरो फौजी रङको गोटेक्स ज्याकेट लगाएर । स्थानीयवासी गोराले यो त गोर्खाज नै होला भनेर आदरभावले ममाथि दृष्टि लगाउँछन् । कोही मुस्कुराउँदै त कोहीले गुड मर्निङ भन्दै बाटो काट्छन् ।

क्या. टम मोरलाई १०० वर्षको उमेरमा कोभिडले छिनेर लग्यो । आफ्नै आँगनमा १०० पल्ट ओहोरदोहर गरेर उनले ३३ मिलियन पाउण्ड राष्ट्रिय स्वास्थ्य योजना एनएचएसका लागि च्यारिटी सङ्कलन गर्न सफल भएका थिए । वृद्ध अवस्थामा यस्तो महान् कार्य गरेर उनी हामी सबैका हिरो बनेका थिए ।

गत वर्ष कोरोना महामारी लागेदेखि घरैबाट काम गर्दै छु । यसका फाइदा बेफाइदा दुवै भोग्नुपरेको छ । अफिस गएर काम गरेजस्तो सहकर्मीलाई भेटिरहन त पाइन्न तर ड्राइभिङ गरेर काम जान नपर्दा मेरा गतिविधि शून्य कार्वन उत्सर्जन भएका छन् । यसो गर्दा एकातिर पाप पखाल्न गङ्गामा गएर डुबुल्की मार्दाको जस्तो आत्मसन्तुष्टि मिलेको छ । अर्कोतिर डिजलको मूल्य बढेर प्रतिलिटर १ पाउण्ड १५ पेन्स भएको छ र घरै बसेर काम गर्दा पैसा जोगाएको छु । तर सापोनापो एउटै छ । घरमा हिटर ताप्दा र पानी चलाउँदा पानी, बिजुली र ग्यासको बिल बढेर ढाड भाँचेको छ । 

रोमनाइज्ड युनिकोडमा नेपाली टाइप गर्न सिक्दै छु । यसअघि युनिकोडमा टाइप गरेर छवटा पुस्तक कसरी लेख्न सकँे हुँला भनेर आफैँलाई अचम्म लाग्यो ।

लेखक, साहित्यकार मित्रले आफ्ना पुस्तकमा भूमिका/शुभकामान लेखिनदिन प¥यो भनेर प्रेमभावले अनुरोध गर्छन् । अर्थदान गरेर पुञ्य त कमाइँदै छ नै शब्ददान गरेर पनि पुञ्य कमाउँदै छु जस्तो लागेर केही कोरिदिन्छु । गत वर्ष एक महिना लगाएर युद्ध साहित्यकार रक्ष राईको कथा ‘पल्टनेको फोटो’उपर समीक्षा लेखिदिएको थिएँ । त्यसैगरी इको कवि डा. देवेन सापकोटाको कवितासङ्ग्रह ‘परिश्रान्त पृथ्वी’का लागि एक महिना लगाएर भूमिका लेख्ने अवसर जुरेको थियो । यसपालि बेल्पाली साहित्यकार चिम्खोले काइँलाको पुस्तक ‘लोसोगोठदेखि बकिङ्घम प्यालेससम्म’का लागि शुभकामना मन्तव्य लेखिदिएँ ।

मेरो इको गीत निर्माणका लागि सङ्गीतकार राजकुमार बगर र गायक नवराज थापासँग म्यासेन्जरमा वार्तालाप भयो ।

१४४ औँ प्रथम शहिद लखन थापा स्मृति दिवस पारेर लाफा ग्रुप अनलाइनमा मेरो अन्तर्वार्ता आयो ।

मेरो पुस्तकको शीर्षक ‘ब्लु प्लानेट’ अङ्ग्रेजीमा भयो । यसलाई नेपाली शब्दमा नामाकरण गर्नैपर्छ भन्ने सल्लाह यसका प्रकाशक फिनिक्स बुक्सबाट आयो । अङ्ग्रेजी शीर्षकका नेपाली कृतिलाई मदन पुरस्कार दिइन्न रे ! यस्तो कुरा आउँदा एकमनले ओहो ! बडो स्तरीय कथा लेखिएछ भन्ने लाग्यो । अर्को मनले पुरस्कार पाइन्छ भनेर होइन, पर्या साहित्यमार्फत् वातावरण संरक्षणमा पो म लागेको हुँ भन्ने सोचेँ ।

विनेसाम साउथ युकेले प्रणय दिवस जुममा भर्चुअल साहित्यिक कार्यक्रम गरेर मनायो ।

२२ औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसको विनेसाम साउथ युकेले आयोजना ग¥यो सचिव अमित थेवेको प्रमुख संयोजनमा । मदन पुरस्कार विजेता राजन मुकारुङलाई प्रमुख अतिथि बनाइयो । १६ जनजातिका ३५ भन्दा बढी सर्जकको सहभागिता रह्यो । यस्तो कार्यक्रम बेलयातबाट प्रथमचोटि आयोजना गरिएको हो ।

बेलायतमा अर्को महिना लक डाउन खुकुलो हुने भन्ने समाचार आयो । स्कुल सुरु हुने कुरा भयो । अर्को एकजनासँग बाहिर भेट्न सकिने रोडम्याप प्रधानमन्त्री बोरिस जोन्सनको घोषणाबाट आयो । कैदीजस्तै बनेको मेरो स्कुले विद्यार्थी छोरो खुसीले बुरुकबुरुक भयो ।

नेपालमा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीविरुद्ध फैसला ग¥यो । एउटा दल खुसी अर्को बेखुसीको अवस्था आयो । राजनैतिक रस्साकसीले देश कसियो मात्रै ।

३९ औँ मगर स्थापना दिवसको भर्चुअल कार्यक्रममा जोडिएँ मगर संघ युकेको आयोजनामा । सुरेश आले हुनुहुन्थ्यो प्रमुख अतिथि । खुर्पेटो र हँसियालाई मगर संघको चिह्नको रुपमा प्रस्ताव गर्दा विरोध आएको उहाँले खुलासा गर्नुभयो । मैले मेरा बुबा जयबहादुर हितानले त हैन विरोध जनाउनुभएको ? भनी प्रश्न राखेँ । हो रहेछ, बुबाले नै विरोध जनाउनुभएको । सुरेश आले कम्युनिष्ट, मेरो बुबा कांग्रेस । सुरेश आले संस्थापक महासचिव । मेरा बुबा संस्थापक सचिव ।

विनेसाम केन्द्रको जुम बैठकमा सहभागी भएँ । उपाध्यक्ष सावित्रा लुइँटेलको असामयिक मृत्युमा शोकसभा भयो ।

साहित्य चौतारीको नियमित साहित्यिक जुम बैठकमा सहभागी भएँ । ‘हिउँको सिन्दूर’ कविता बाचन गरेँ ।

३. मार्च

नेपालमा मेरो नजिकका दुई आफन्त गुमाउनुको पीडाबोध गरेँ । कोभिडको कारण त होइन, तर महामारीबाट गुज्रिएको अवस्था नहुँदो हो त उहाँहरू यति चाँडै बितेर जानुहुने थिएन जस्तो लाग्यो ।

विनेसाम पश्चिम शाखाले १११ औँ नारी दिवस आयोजना ग¥यो । मोमिला जोशी, विमला तुम्खेवा, शशी थापा सुब्बा र पुनम गुरुङ प्रमुख वक्ता हुनुहुन्थ्यो । मैले ‘अर्को जुनीमा पुरुषै भएर जन्मिन पाऊँ’ कविता वाचन गरेँ । सन् २०१३ मा लेखेको ‘नारीप्रति मेरो नजर’ निबन्ध अनलाइनमा पुनः प्रकाशन गराएँ ।

विगतमा केही गीत लेखेको थिएँ । यसपालि मेरो जीवनको सबैभन्दा पहिलो गीत ‘वनजङ्गल’ रेकर्डिङ भयो, राजकुमार बगरको सङ्गीत र नवराज थापाको स्वरमा । यस्तो मन प¥यो कि दोह¥याएर तेहे¥याएर सुनेको सुनै गरेँ । फूलबुट्टे सारीजस्तै भाइरल भैदिन्छ कि जस्तो लागेको थियो । धन्न भएन !

रूखहरू समात्दै गरेका फोटा खिच्यौँ ‘वनजङ्गल’को युटुब भिडियोमा हाल्न । मित्र सुरेन्द्र इङ्नामले यसमा सहयोग प¥याउनुभयो ।

इको कवितासङ्ग्रह ‘स्वच्छन्द सुसेलीहरू २’ अन्तिम सम्पादनमा व्यस्त भएँ । यसलाई काठमाडौँमा संयोजन गरेर सहयोग पु¥याउँदै गरेकी प्रगति राईसँग निरन्तर सम्पर्कमा रहेँ । म्यासेन्जरमा घण्टौँ बोलेर काटछाँट गर्ने काम भयो । अरुका सिर्जना बटुलेर कृति सम्पादन गर्नु साह्रै गाह्रो काम हो । तर काम सम्पन्न गरेर जब किताब पाठकको हातहातमा पुग्छ तब आत्मसन्तुष्टिले हृदय छचल्किन्छ ।

कोभिडको पहिलो खोप आष्ट्राजेनिका लगाएँ । यसको ८० प्रतिशत प्रभावकारिता रहेको बताइँदै गर्दा अब कोभिडबाट बाँचिने भैयो भनेर ढुक्क भएँ । पाँचौँ दिनदेखि सुक्खा खोकी, छाती दुख्ने ग¥यो । अस्पताल गएँ । अति उच्च रक्तचाप देखियो । दिसा तथा रगत जाँच गराएँ । एक्सरे गरियो । सबै नर्मल देखियो । वास्तवमा यो खोपको प्रभाव हुनसक्थ्यो ।

मेरो अर्को पुस्तक ‘मगर रिन्हाक’को काम पनि समानान्तररुपमा अघि बढ्दै रह्यो । काठमाडौँमा यसका भाषासम्पादक भावेश भुमरीसँग सम्पर्क भइरह्यो । सेटिङमा लगिँदै छ भन्ने खबरले केही चैनको श्वास लिएँ ।

सन् २००९ देखि वातावरण संरक्षण सचेतना कार्यक्रम ‘अर्थ आवर’को आयोजना गर्दै आएको छु । यसैलाई पारेर बीएफबीएस गोर्खा रेडियोमा मेरो वातावरणीय अन्तर्वार्ता, साथै मेरो इको गीत ‘वनजङ्गल’ यसै रेडियोमार्फत सार्वजनिक गरियो ।

आसफोर्ड हाई स्ट्रिटमा अमित थेवेको संयोजनमा म, कल्पना थापा, औतारी साइँला, विश्वासदीप तिगेला र भोजकुमारी तिगेला वातावरण संरक्षणका प्लेकार्ड बोकेर प्रदर्शनमा उœयौँ । राजनैतिक हड्ताल गर्न सडकमा उत्रन मन लाग्दैन । तर यस्ता पर्यावरणीय अभियानका लागि जे पनि गर्न तयार हुन्छु ।

विनेसाम साउथ युकेले ‘अर्थ आवर’ तथा इको गीत वाचन/गायन कार्यक्रम भर्चुअल जुममार्फत आयोजना ग¥यो । विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू ‘परदेशी’ प्रमुख अतिथि हुनुहुन्थ्यो । ६ वटा बेल्पाली साहित्य सङ्गठनका प्रतिनिधिका साथै तीन दर्जनभन्दा बढीको सहभागिता रह्यो । सुरेन्द्र इङ्नामले निर्माण गरिदिएको ‘वनजङ्गल’को युटुब भिडियो यसै कार्यक्रममा सार्वजनिक गरियो । अमित थेवेले नेपालको हिमचितुवालाई वन्यजन्तु संरक्षण कोषमार्फत एडप्ट गरेको घोषणा गर्नुभयो । मैले अझ एकजनालाई पर्यावरण संरक्षणका अभियन्ता बनाउन सफल भएको अनुभूति गरेँ ।

यो महिनाको अन्तिमतिर कोरोनाको बिगबिगी केही साम्य भयो । लकडाउन खोलियो । जेलबाट मुक्त भएको आभास भयो । दुई महिना स्कुल बन्द भएर घरैबाट अध्ययन गरेपछि छोराको स्कुल लाग्यो ।

४. अप्रिल

महामारी नभएको भए इस्टरको बिदा मनाउन अन्त कतै गइन्थ्यो । स्थानीय इलाकामै हिँडडुल गरेर बित्यो । मेरो वस्तीवरिपरि निलो समुद्र छचल्किन्छ । सुनौलो बिच लमतन्न पसारिएको छ । हिमाललाई बिर्साइदिने सेतो चुने पहाड तेर्सिएको छ । हरिया पार्क र फूलैफूलका बगैँचा छन् ।

लाहुरेको रेलिमाई, मगर रिन्हाक, ब्लु प्लानेट, स्वच्छन्द सुसेलीहरू २ लेखन/सम्पादनका काममा व्यस्त भएँ । प्रकाशकले ब्लु प्लानेट हेरेर अन्तिम पाण्डूलिपि पठाए । तीनवटा कथामा पुनर्लेखन गर्नुपर्नेभयो, धस्सेर लागेँ ।

नेपाललगायत बेलायतमा कोरोना संक्रमण दर घट्दो अवस्थामा देखियो । यसले मनमा आशाको दीप प्रज्ज्वलन गरायो । कोरोना खोप कतिले त लिन मानेका छैनन् तापनि धेरैले लिने क्रम बढ्दो अवस्थामा छ ।

प्रिन्स फिलिप बिते, विचरा ! सयौँ जन्मदिन मनाउन नपाउँदै । यो आप्रवासी मन बन्यो दुखित ।

देवेन सापकोटाको इको कवितासङ्ग्रह ‘परिश्रान्त पृथ्वी’उपर भूमिका लेखनमा व्यस्त भएँ । विज्ञान र साहित्यिक कलाले पर्यावरणीय चेतनालाई प्रष्ट्याइएको पाएँ ।

विनेसाम केन्द्रीय सल्लाहकार स्व. कृष्णप्रकाश श्रेष्ठको भर्चुअलमा राखिएको श्रदाञ्जलीसभामा जोडिएँ । कोरोनाका कारणले उहाँलाई गुमाउनुप¥यो । यस्ता वरिष्ठ साहित्यकारसँग ‘बिम्ब र विमर्श’मा एउटै मञ्च शेयर गर्ने सौभाग्य जुरेको थियो । मस्कोमा बसेर पनि इको राइटिङमा मलाई निक्कै प्रोत्साहन दिनुहुन्थ्यो । मेरा इकोकविता रसियन भाषामा छापिदिन्छु भनेर माग्नुभएको थियो ।

हाई स्ट्रिटका दोकान खुले । पबरेष्टुरेन्टमा बाहिर बसेर खानपिउन पाइने भयो । कोरोनाका कारण मृत्युदर घटेर दिनमा ७–१० जनामा झरे ।

लारा बैनीले नेतृत्व गरेको अनेसास बेलायतले पारिजात दिवसको आयोजना ग¥यो । म जोडिन भ्याइनँ । पछि लारासँग लामो साहित्यिक वार्तालाप भयो ।

केदार सङ्केतको आत्मपरक उपन्यास ‘अफगानी रणभूमि’ पढेँ । उनी आफैँ स्वयम्ले भोगेर लेखेको युद्ध उपन्यास । इकोपछि मलाई गर्न मनपर्ने, पढ्न मनपर्ने साहित्यको अर्को विधा उपन्यास हो ।

महिनाको अन्त्यतिर नेपाल इन्डियामा कोरोना बढ्न थाल्यो । भारतमा दिनमै २–३ हजारको मृत्यु र सामूहिक दाहसंस्कार गरेको देख्दा मन खिन्न हुन थाल्यो । काठमाडौँमा लकडाउन सुरु भयो । नेपालमा एउटै परिवारका सदस्य कोरोनाले अस्पतालमा भर्ना हुँदा हेरचाह गर्ने मान्छे नहुने अवस्था आयो । भारत र नेपालका अस्पतालमा पर्याप्त मात्रामा अक्सिजन सप्लाई हुन नसक्दा कोभिडका हजारौँ बिरामीले ज्यान गुमाउनुप¥यो ।

५. मे

यता वसन्त ऋतुले घमाइला दिन र हरिया फाँट लिएर आउँदै छ । उता नेपालमा कोरोनाले सताउँदै छ र धेरै स्थानमा निषेधाज्ञा पनि जारी छ । कोरोनाले आफन्त सिकिस्त परेका फोटा फेसबुकमा हालेको हेर्दै बिरामीलाई शीघ्र स्वास्थ्यलाभको कामना र मृतकलाई हार्दिक श्रद्धाञ्जली नदिएका दिनै छैनन् भनेपनि हुन्छ । मेरा साहित्यका दुई अग्रज गुरुहरूलाई कोरोना लागेको समाचारले चिन्तित छु ।

सी ब्रुक र फोक्सटन डाउनतिर पैदल यात्रामा निस्कन्छु । सिस्नोघारी लटरम्म मौलाउँदै छ । अलिकति मन्टा टिपेर दालमा मिसाएर र सब्जी बनाएर पनि खाइयो । नेपालको जस्तो तिख्खर हुँदैन ।

राति सुत्नुभन्दा अघि नेपाली कमेडी च्याम्पियन, भोइस अफ नेपाल, दोहोरी च्याम्पियन हेर्न पल्केको छु । यस्ता रियालिटी शोमा नेपालले विकास गरेको देख्दा गौरव अनुभूति हुन्छ । यसबाट अरु क्षेत्रमा पनि यस्तै प्रगति गरे हुने भन्ने लाग्छ ।

विनेसाम पश्चिम शाखाले भर्चुअलमार्फत राखेको २८ औँ पारिजात स्मृति दिवसमा समावेश भएँ । ‘शिशिर खेल्छ लुकामारी’ इकोगीत वाचन पनि गरेँ ।

नेपाल मुक्तक संघ बेलायतसँग सहकार्य गर्दै आउँदो वातावरण साहित्य गोष्ठी इको मुक्तक वाचनका साथ आयोजना गर्ने भनेर छलफल अगाडि बढाएँ ।

एक वर्षपछि परिवारसँग आसफोर्ड डिजाइनर आउटलेटमा शपिङ गएँ । कोरोना सरिहाल्छ कि भन्ने डरले कारमा बसेर मेक्डोनाल्ड खायौँ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन् । बहुमतको सरकार प्रचण्डले ढालिछाडे । वैकल्पिक सरकार गठन हुन नसक्दा सबैभन्दा ठूलो पार्टीको नाताले ओली पुनः प्रधानमन्त्री बने ।

बेलायतमा २ परिवार घरभित्र भेट्न पाइने, स्कुलमा विद्यार्थीले मास्क लाउन नपर्ने, रेष्टुरेन्टमा भित्र बसेर खान पाइने, एकअर्कालाई हग गर्न पाइने, ग्रिन लिस्टका देशमा छुट्टी मनाउन जान पाइने भयो ।

छैटौँ वातावरण साहित्य गोष्ठी आयोजनाको तयारीमा जुटेँ । साहित्यकार गोविन्दराज भट्टराई र खगेन्द्रप्रसाद लुइँटेललाई निम्त्याइने भैयो । तर यी दुई वरिष्ठ साहित्यकारलाई जुमको एउटै मञ्चमा कसरी उभ्याउने भनेर भारी गृहकार्य गर्नुप¥यो ।

बीबीसी टेलिभिजनमा पर्या प्रोग्राम ‘स्प्रिङ वाच’ हेर्छु । गुँडमा चराले फुल पार्दै गरेको, बचेरा जन्मेपछि तिनलाई शिकार गरेर खुलाएको, अर्को शिकारीले आफ्ना बच्चा खाइदिएको, प्रजनजक्रिया र भाले भालेको जुधाइजस्ता वन्यजन्तुका गतिविधि प्रत्यक्ष प्रसारण गरिन्छ ।

कोभिडका नियम खुकुलो भएपछि एक वर्षमा पहिलोचोटि लण्डन भ्रमणमा निस्केँ । एउटा घरेलु पार्टीमा समावेश पनि भएँ । कोरोनाबाट बाँचियो, मोज गर् विजय ! भन्ने भावना जागृत भयो ।

जुन महिनाको छैटौँ वातावरण साहित्य गोष्ठीमा ब्लु प्लानेट प्रकाशन हुन नसक्ने भयो । गहिरो पहिरोसरी चिन्तामा परेँ । तर ‘स्वच्छन्द सुसेलीहरू २’ विमोचन हुने भएर मन केही शान्त भयो । गत वर्षको पाँचौँ वातावरण साहित्य गोष्ठीदेखि यसमा काम गर्न थालेको । उपन्यासकार प्रगति राईले नेपालमा यसको प्रकाशनमा प्रमुख भूमिका खेलेर समयमै किताब छापी कार्गो गरेर पठाइदिएको छ । यसैभित्रका विभिन्न सर्जकका कविता खोलानाला, सामुद्रिक तट, वनजङ्गल र पार्कमा वाचन गर्दै इको साहित्यको प्रचारप्रसारका खातिर बाचन गरेको भिडियो फेसबुकमा पोष्ट गरेर यो महिनाभरि अभियान चलाएँ ।

बीएफबीएस गोर्खा रेडियोमा योगराज राईसँग वातावरण साहित्य गोष्ठीसम्बन्धी अन्तर्वार्ता रेकर्ड भयो । ‘स्वच्छन्द सुसेलीहरू २’ को विमर्श र प्लाष्टिक प्रदूषणले सागरलाई कस्तो प्रभाव पार्दै र यसका रोकथामका बारेमा पनि केही बोलेँ ।

६. जुन

जुन महिनाको सुरुमै कोभिडको दोस्रो खोप आष्ट्राजनिका लगाएँ । यसले शरीरमा खुन जम्ने समस्या देखापर्ने र केही मान्छे यसबाट मरेको खबरले त्रसित बनेँ । १ लाखमा १ जनालाई यस्तो हुँदोरहेछ । त्यसभित्र म पर्दिनँ होला भन्ने विश्वास जाग्यो । १ जुनको दिन कोभिडबाट मर्नेको सङ्ख्या शून्य रह्यो ।

यो धर्ती सुन्दर स्वर्गजस्तो लाग्न सुरु गरेको छ । कोभिडले गर्दा भेटघाट, पार्टी, बैठक, मेला प्रत्यक्षरुपमा हुन सकेका छैनन् । त्यसैले जानु कतै छैन । फुर्सदको समयमा फोक्सटनको हार्बर, बिच, डाँडाकाँडा घुमेर बिते । तर उल्टो दिशाबाट आउने मानिसहरू तर्केको देख्दा आजकल त स्वाभाविकै लाग्न थाल्यो । साँघुरो बाटोमा भित्तातिर लागेर मानिसलाई बाटो छोडिदिन्छु । उनीहरू पनि त्यसै गर्छन् ।

वातावरण साहित्य गोष्ठी नजिकिँदै जाँदा चिन्ताले रातमा निद्रा परेन । रेडियो हिमालयका बुद्धि विश्वकर्माले लाइभ प्रसारण गरिदिने भए । यसभन्दा अघि पनि उनले हाम्रा कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गरेर सहयोग पु¥याएका थिए । सहयोग लिएपछि सहयोग दिन पनि प¥यो । यस संस्थाको संरक्षक सदस्यता लिएँ ।

५ जुन आयो । छैटौँ वातावरण साहित्य गोष्ठी दुई दिने कार्यक्रम सम्पन्न भयो । प्रथम दिन प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल प्रमुख अतिथि हुनुहुन्थ्यो भने गौरी तमु प्रमुख वक्ता । ‘स्वच्छन्द सुसेलीहरू २’ भव्यरुपले विमोचन भयो । दोस्रो दिन प्रा. डा. गोविन्दराज भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो ज्ञानबहादुर क्षेत्री प्रमुख वक्ता । डा. देवेन सापकोटाको ‘परिश्रान्त पृथ्वी’को विमोचन भयो । दुवै दिन इको मुक्तक वाचन कार्यक्रम रह्यो । जुममा विश्वका ९ राष्ट्रका गरेर ७ दर्जनभन्दा बढीको सहभागिता रह्यो । मेरो इको राइटिङ वृक्ष झाँगिँदै गरेको जस्तो महसुस भयो । कार्यक्रमपश्चात अति थकित महसुस भयो तथापि आत्मसन्तुष्टि प्राप्त भयो ।

मध्य जुनतिर कोभिडको इन्डियन भेरियन्ट (पछि डेल्टा भनियो ।) ले सताउन सुरु ग¥यो । तै पनि गरम ऋतुको सुन्दर वातावरणको फाइदा लिँदै केन्टवरिपरिका केही स्थान घुम्दै खाने पिउने गरियो ।

प्रतिभा प्रतिष्ठानले साहित्यकार कोमल मल्ललाई सम्मान गरेको जुम कार्यक्रममा सहभागी भएँ ।

नेपालमा असार मास सुरु भयो । मनसुनले भारी वर्षा गराउँदा मुस्ताङ र मेलम्चीमा नराम्रोसँग बाढीपहिरो गयो । मेलम्चीको यति ठूलो बाढी र त्यसले गरेको विनाश मैले अहिलेसम्म देखेको थिइनँ । जलवायु परिवर्तनले पार्दै गरेका असरबारेमा अध्ययन गर्ने बानी र चासो राख्ने भएकाले यस घटनाले मलाई निक्कै चिन्तित बनायो ।

विनेसामका साथीहरूलाई बोलाएर मुक्तक वाचन गर्दै र गत हप्ताको कार्यक्रमको समीक्षा गर्दै आफ्नै गार्डनमा मेसिङ खाइयो ।

फादर्स डे परेको हुनाले छोराहरूबाट कार्ड र रक्सीको बोतल प्राप्त गरेँ ।

नेपालमा प्रधानमन्त्री ओलीले पछिल्लोपटक बनाएको मन्त्रीमण्डललाई सर्वोच्च अदालतले असंम्वैधानिक घोषणा गरिदियो ।

महिनाको अन्त्यतिर हाम्रो वर्षेनि हुने क्याम्पिङ कार्यक्रम आयो । दिनभर साउथ डाउनका डाँडाकाँडा, तालतलैया, वनजङ्गलतिर पदयात्रा गरेँ । तिनै स्थानमा ‘स्वच्छन्द सुसेलीहरू २’ भित्रका कविता वाचन गर्दै भिडियो खिचेर फेसबुकमा राख्दै इको राइटिङको प्रमोशन गरेँ । टेन्टमा सुत्ने, त्यहीँ पकाएर ब्रेकफास्टको व्यवस्था मिलाई साँझको डिनर रेष्टुरेन्ट वा पबमा खाने कार्य भयो ।

मैले चेल्सी फुटबल क्लबलाई सपोर्ट गरेको दुई दशक भयो । प्रिमियर लिग हेर्न छुटाउँदिनँ । जसरी म्यानेजर र खेलाडी ट्रफी जित्न दिनरात मेहनत गर्छन्, हामी पनि जीवनमा त्यस्तै मेहनत गरी खट्नुपर्छ भन्ने लाग्छ । बेलायतमा युरो २०२० सुरु भयो, पोहोर हुनपर्ने । कोभिडले गर्दा सारिएको थियो । टिभीमा यही फुटबल म्याच हेरेर दिन बित्न थाले ।

७. जुलाई

गत महिनाको छैटौँ वातावरण साहित्यको तरङ्ग यस्तो फैलिएछ कि नेपाली मिडियाका साथीहरू यस विषयलाई अझै प्रवद्र्धन गर्न सहकार्य गरौँ भनेर प्रस्ताव गर्न आए । सोअनुसार साहित्य पोष्टका प्रधान सम्पादक अश्विनी कोइरालालाई मैले सानो फन्डिङ गर्ने भएँ र ‘पर्या साहित्य’ भनेर साहित्य पोष्टको वेबसाइटमा एउटा सेक्सन निर्माण गरियो ।

फुटबल खेल्न आउँदैन तर हेर्न निक्कै रुचाउँछु, बच्चाले चकलेट रुचाएसरी । फुटबलको ठूलो फ्यान हुँ म भन्छु । युरो २०२० को फाइनलमा इङ्लेण्ड पुग्यो इटालीसँग भिड्न । दुर्भाग्यवश इङ्लेण्डले हा¥यो । मजस्ता लाखौँ फ्यानको मन पनि दुखेर आयो । १९६६ दोहोरिन सकेन ।

नेपालमा तानाशाही प्रवृत्ति देखाउन खोज्दै गरेका ओलीलाई निकालेर देउवा प्रधानमन्त्री बने । माओवादीसँग साँठगाँठ गरेर चुनाव जितेपछि आधाअवधि आफू प्रधानमन्त्रीको कुर्चीमा बसेपछि प्रचण्डलाई छोडिदिनुपर्ने । बूढालाई लोभ लागेछ, नछोड्नुको परिणति भोगे ।

जर्मन र बेल्जियममा भएको भारी वर्षा र त्यसले ल्याएको बाढीपहिरो पत्याउनै नसकिने थियो । सम्पूर्ण गाउँ नै उजाड बनेको थियो । जलवायु परिवर्तनको असर भनियो जताततै । वातावरण विज्ञले पनि त्यही भने । कोप– २६ ग्लास्गो सँघारमा आउँदै गर्दा ।

२८ डिग्री तापक्रम, कोभिडले गर्दा विदेशमा होलिडे मनाउन जान पाएका छैनन् बेलायतीहरू । सो मेरै नजिकको सामुद्रिक तटमा ओइरिएका छन् मानिसहरू । हार्वर र बिचमा खुट्टा हाल्ने ठाउँ छैन । पव र रेष्टुरेन्टले बाहिर गार्डन तथा आँगनमा बसेर खाने सुविधाको व्यवस्था गरेका छन् । ती जताततै डम्म भरिएका देखिन्छन् ।

मैले पनि केही आफन्त बोलाएँ र मेरो गार्डनमा बीबीक्यु पोलेर खायौँ ।

डा. खगेन शर्माले संयोजन गर्नुभएको गुवाहटी ओपन युनिभर्सिटीको जुम बैठकमा सहभागी भएँ । एमएको पाठ्यक्रममा पर्यावरण साहित्य राखिने प्रस्ताव आयो । मेरा स्वच्छन्द सुसेली र ब्लु प्लानेट सन्दर्भसामग्री हुन सक्ने कुराले मलाई खुसी तुल्यायो । एक लेखकलाई योभन्दा ठूलो सन्तुष्टि के नै हुन सक्छ र !

गोविन्दराज भट्टराई सरले कृष्णप्रसाद भण्डारी र गीता त्रिपाठी मेमले प्रेम धामीले पर्यावरण साहित्यमा पीएचडी गर्दै गरेको समाचार दिनुभयो । ती दुईसँग फेसबुकमा जोडिएर बोल्ने हुटहुटी चल्यो । प्रेम धामीसँग म्यासेन्जरमा ३४ मिनेट बोलेँ ।

‘लाहुरेको रेलिमाई’ उपन्यास लेखनमा पनि निरन्तरता रह्यो ।

पाँच दिने फेमिली क्याम्पिङका लागि अक्फोर्डसायरतिर लागेर जुलाई महिनालाई बिदा गरेँ । बेलायत आएका सुरुका वर्षहरूमा सानो टेन्ट टाँगेर बतास, पानी र चराका धुन सुन्दै क्याम्पिङ गरिन्थ्यो । अहिले जीवनस्तर उच्च भएर त होइन होला तर क्याम्पिङ कटेज र काराभानमा गर्ने भइएको छ ।

८. अगस्त

वर्षभरि गरिएका परिश्रमका थकाईलाई भुल्ने गरेर होलिडे मानेर फर्कें । छ परिवारका चौबीस जना एउटै कटेजमा बसेर पनि एकआपसमा कोभिड सरेन । त्यसको मतलब हामी होटेल, अस्पताल, ब्यारेक, केयर होममा काम गर्ने र स्कुल जानेहरू कोही पनि कोभिडबाट सङ्क्रमित भएका रहेनछौँ भन्ने सावित भयो ।

लामो समय भयो म हप्तामा दुई दिन मात्रै नुहाउँछु । शनिबार हिँडेर आएपछि शरीर मात्रै र आइतबार हिँडेर आएपछि शरीर र कपाल दुवै । दाह्री हप्तामा एकचोटि काट्छु । वातावरणमैत्री हुनाको नाताले आफ्नो पानीको पाइला अर्थात् ‘वाटर फुटप्रिन्ट’ न्यून गर्न पनि म यस्तो गर्ने गर्छु । अर्को कुरा, बेलायतमा पसिना आउने कुरा भएन र शारीरिक काम पनि मलाई गर्नुपर्दैन । मैला भइन्न त किन दिनदनै नुहाउनुप¥यो र ! दाह्री त सैनिक हुँदा दिनदिनै खुर्काउनुपथ्र्यो । नत्र आरएसएमको टोकाई भेटिन्थ्यो । अहिले बुढेसकालमा धारिलो स्पातबाट चिउँडोलाई टाढा राख्न खोजेको ।

एनआरएन बेलायतको चुनावी गर्मागर्मी बढ्दै आयो । यसपालि जोसुकै उठेपनि सदस्यता नलिने निर्णय गरेँ । मैले मात्रै होइन, अन्य हजारौँ सजग बेल्पालीले पनि यस्तै निर्णय लिएका होलान् । यस संस्थाको विगतका आर्थिक अनियमितताका मुद्दा अनि अन्य कारणले । चुनावको बेला सबै गुटले सम्पर्क गरे । तर मेरो अडान स्पष्ट बताएँ । सन् २००९ देखि प्रत्येक वर्ष ५ देखि २५ पाउण्डसम्म सदस्यता शुल्क तिर्दै आएको, यसपालि नवीकरण नगर्ने भएँ ।

‘हिमाली संरक्षण समूह’ले राखेको जुम बैठकमा भाग लिएँ । सरुभक्त, निलम कार्की निहारिका, रोशन शेरचन, अभय श्रेष्ठ र ऋषि बस्ताकोटीसँग साइबर भेट भयो । यस संस्थाले वि. सं. २०५५ देखि इको राईटिङमा काम गर्दै आएको रहेछ । बल्ल मैले चाहेको समूहसँग जोडिन पाएँ । मैले इको राइटिङभित्र जलवायु परिवर्तन, वन्यजन्तु चोरीशिकारी, जैविक विविधता, शहरीकरण र ग्राम्यता, विकास निर्माण र वातावरणमा असर जस्ता ९ वटा सहविधाका बारेमा आफ्नो मन्तव्य राखेँ ।

जन्मदिन प¥यो मेरो । आधा शताब्दी नाघेको पनि ५ वर्ष भैसकेको रहेछ । फेसबुकले सम्झायो र शुभकामनाका शब्दहार बर्सिए ।

भर्चुअल जुममा पर्यावरण साहित्य विमर्शको संयोजन गरी चलाएँ । प्रा. डा. गोविन्दराज भट्टराईलगायत बेलायत, अमेरिका, क्यानडा, भारतबाट २३ जना जोडिए । विश्वविद्यालयका प्राध्यापक, साहित्यकार, समालोचक वन तथा वातावरण विज्ञ साथीहरू ।

काबुलमाथि तालिवानले कब्जा जमायो । राष्ट्रपति घानी देश छाडेर भागे । ब्रिटिश र अमेरिकी फौजले अफगानिस्तान छाडे । २० वर्षपछि पुनः अफगानिस्तान तालिवानको हातमा पुग्यो । विदेशी साथै अफगानी नागरिक एयरपोर्टमा काबुल छोड्दै गरेको दुखद् दृष्य यो मानसपटलमा रहिरहने छ । त्यही भीडमा केही दिनपश्चात् आत्मघाती बम हमला भयो र सयौँ अफगानी नागरिकसहित ११ अमेरिकी फौजको निधन भयो । पश्चिमेली शक्ति परास्त भयो । तालिवान र आईसस अनि उग्रवादी मुस्लिम समुदायको विजय भयो । क्रिस्चियनउपर मुस्लिमको विजय अर्थात् जिससउपर महम्मदको विजय माने होलान् कसैकसैले ।

बुटवलमा मेरो प्यारो रमेश अङ्कलको निधनले स्तब्ध बनायो । कोरोनाले त होइन तर कोरोनाको अवस्था नहुँदो हो त लामै बाँच्ने मान्छे हुन् ।

मास्टर मित्रसेन थापामगरको ‘मित्रको डायरी’उपर गुवाहटी ओपन युनिभर्सिटीको मास्टर डिग्रीमा अध्ययन गरिने भनेर पाठ्यक्रम बनाउनमा व्यस्त भएँ । यसै सिलसिलामा अमेरिका बस्दै आएका प्रदीप परियार थापासँग बोलेँ । उनले ‘मित्रसेन र उनको देन’ सन् २००० मा प्रकाशन गरेका थिए । ‘बीसौँ वर्षअघि छापेको पुस्तक आज आएर कसैले सन्दर्भसामग्री बनाउला जस्तो लागेको थिएन, हितानजी ।‘ भन्दै निकै खुसी भए ।

९. सेप्टेम्बर

काठमाडौँमा भारी वर्षाका कारणले बाढी आयो । ३०० घर डुबानमा परेको समाचार प्रसारण भयो । शहरी इलाकामा बाढी आउनुको अर्को कारण व्यवस्थित ढल सञ्जालको कमीले हुनसक्छ । बेलायतका शहर पनि वर्षायाममा यसरी डुबानमा परेको देख्छु । खोलालाई अतिक्रमण गरेर सडक तथा घर बनाउँदा यस्तो समस्या झेल्नुपर्छ । जसरी वनजङ्गल अतिक्रमण गरेर कृषिकार्य गर्दा र गाउँ बसाल्दा वन्यजन्तुको टोकाइले मान्छेले ज्यान गुमाउनुपर्छ ।

मेरो काममा कहिलेकसो हप्ताभरि एनभाएरोमेन्ट म्यानेजमेन्ट ड्युटी अफिसरको रुपमा ड्युटी पर्छ । रोम्नी मार्समा एक कृषकले आफ्नो खेतमा गहुँको नलमा आगो लगाएर वायु प्रदूषण गर्दै छ भन्ने खबर आयो । भारतमा विशेष गरेर पञ्जाबका किसानले नलपरालमा आगो लगाउँदा दिल्लीको वायु प्रदूषित पारेजस्तो । तर त्यो स्तरमा यहाँ गरिन्न । यहाँका कृषकलाई सानो स्तरमा आगो लगाएर नलपराल विसर्जन गर्ने छुट छ तर एनभाएरोमेन्ट एजेन्सीसँग अगावै दर्ता भएको हुनुपर्छ । यो घटना पनि त्यसै श्रेणीमा पर्ने हुनाले मैले कुनै कारवाही अघि बढाउनुपरेन ।

यस वर्षको दोस्रो युद्ध साहित्य गोष्ठी विनेसाम साउथ र पश्चिम शाखाको संयुक्त आयोजनामा गर्ने भनेर जुम बैठक भयो । यसपल्ट युद्ध साहित्यलाई पल्टन पल्टनमा पु¥याउने भनेर बेलायती गोर्खा सेना, जीआरयु, सिंगापुर पुलिस, भारतीय गोर्खा पल्टन, नेपाल प्रहरी, नेपाली सेनामा सम्पर्क गर्न सुरु गरेँ ।

भीसी कुलवीर थापामगरको सालिक अल्डरसटमा अनावरण भयो । एउटा स्मारिका प्रकाशन भएको छ । जसमा मेरो कथा ‘भीसीका मित्र’ परेको छ ।

दिनमा सयौँ शरणार्थी डुङ्गामा इङ्लिश च्यानल तरेर यताको बिचमा अवतरण गर्छन् । उनीहरू प्राय अफगानी, इराकी, इरानी, सिरियन र एरेट्रियन हुन् । सम्झन्छु, म पनि उनीहरूजस्तै शरणार्थी भएर बेलायत भित्रिन परेको भए मेरो हालत कस्तो हुन्थ्यो ? पुर्खाले पौरख गरेका थिए र सजिलै यो देशमा आएर रोजिरोटी कमाउन पाएको छु । यी शरणार्थीलाई पारि नै रोक्न फ्रेन्च सरकारलाई बेलायतले मिलियन पाउण्ड दिएको छ । तर भनेजस्तो काम नहुँदा दिनदिनै शरणार्थी ओइरिएको ओइरै छन् । उनीहरूलाई बोर्डर फोर्स र इमिग्रेशनका कर्मचारीले शरणार्थी शिविरमा लगेर बडो सम्मानसाथ मानवअधिकार हनन् नगरी राख्छन् । अन्य देशमा देखिन्छ, शरणार्थीलाई पिटपाट गरेको, खानबस्न नदिएर कुकुरलाई जस्तो व्यवहार गरेको । त्यस्तो स्थिति यहाँ नदेख्दा क्रिस्चियन धर्मावलम्वी निकै नै मानवप्रेमी हुन्छन् भन्ने लाग्छ ।

फिनिक्स बुक्सका प्रबन्धक गणेश सुवेदीले ‘ब्लु प्लानेट’को छाप्ने काम सम्पन्न भएको र बडादशैँ पारेर बजारमा ल्याउने समाचार सुनाए । मेरा लागि एक अविस्मरणीय दिन बन्यो । मेरो ३–४ वर्ष लामो कामले पूर्णता पायो भनेर । यसभित्रका कथाको पाठक प्रतिक्रिया कस्तो आउने हो तर यसको आवरण चित्र निक्कै पृथक् र आकर्षक छ भन्ने लागेको छ । मेरै अनुहारको फोटोलाई निलो पृथ्वीले छोपेको छ । यसै आवरण चित्रसँगको पुस्तकको नक्सा फेसबुकमार्फत सार्वजनिक गरेँ । सयौँ साथीहरूले बधाई दिए । यो मन प्रफुल्ल भएर आयो ।

मेरो सैनिक रेजिमेन्ट क्युजीईको जन्मदिवस । सदा सहभागी हुन्थेँ, यसपटक कोभिडका कारणले सहभागी भइनँ ।

आसामको प्रसादसिंह सुब्बा अकादमीले भर्चुअल पर्या साहित्य विमर्श कार्यक्रम राख्यो । प्रा. डा. गोविन्दराज भट्टराई र डा. देवचन्द्र सुब्बासँग एउटै मञ्च शेयर गर्दा गर्वानुभूति भयो । बेलायतबाट पर्या साहित्यसम्बन्धी भएका कार्यक्रमका बारेमा एक प्रमुख वक्ताको रुपमा प्रवचन दिने सौभाग्य जु¥यो । आसाम, सिक्किम तथा दार्जिलिङमा सन् २०२० देखि पर्या साहित्य घन्किँदो छ । समालोचक ज्ञानबहादुर क्षेत्री, डा. देवेन सापकोटा, छत्रमान सुब्बा, डा. देवचन्द्र सुब्बा, राजा पुनियानी र अन्य केही साथीहरू पर्या साहित्यमा लागिपर्नुभएको पाउँदा गर्वानुभूति भएको छ ।

१०. अक्टोबर

पेट्रोल, डिजेल पर्याप्त मात्रामा पाउन छाड्यो । कैयौँ पेट्रोल स्टेशन बन्द र खुला भएकामा कारहरूको लामो लाइन लागे । बेलायत आएदेखि यो मेरो पहिलो अनुभव हो । नत्र त प्राय नेपालमा यस्तो लाइन देख्नुपथ्र्यो । बेलायत पनि नेपालजस्तै तेस्रो विश्वराष्ट्रतिर धकेलिन लागेको त होइन ? तेल आपूर्ति पर्याप्त मात्रामा हुन नसक्नुको कारण पेट्रोल ट्याङ्क चलाउने चालकको कमीले र जसको कारण कोभिड र ब्रेकजिट थियो । कोभिडले गर्दा प्रचुर मात्रामा ड्राइभर पास नभएका र ब्रेकजिटले गर्दा युरोपियन ड्राइभर यहाँ आएर काम गर्न नपाउँदा ।

म घरैबाट काम गरेको दुई वर्ष हुन लाग्यो । त्यसर्थ मैले कार चलाउन त्यति पर्दैन । दाम्लोले बाँधिराखेको गोरुझैँ बाहिर आँगनमा थन्किरहेको हुन्छ प्राय । यो इन्धनअभावले मलाई खासै असर पारेन । मजस्ता जलवायु परिवर्तनविरुद्धका अभियानकर्ता/संरक्षणकर्मीका लागि गाडी नचल्नु, इन्धन नजलाइनु फाइदाकै कुरा हो ।

बेल्पाली कवियत्री निर्मला न्यौपानेको ‘निर्मल मनको भावहरू’ कवितासङ्ग्रहमा शुभकामनाका शब्दहार कोर्ने अवसर मिल्यो ।

अक्टोबरभरि बेलायतमा अश्वेत समुदायद्वारा ‘ब्ल्याक हिस्टोरी मन्थ’ मनाइन्छ । अश्वेत जाति, अफ्रिकी इतिहास, असमानता इत्यादि विषयमा सचेतना फैलाउने अभियान हो यो । यस्तैखाले ‘गोर्खा हिस्टोरी मन्थ’को अवधारणा मेरो मनमा पलायो । विनेसाम साउथ र पश्चिम शाखाले यस अभियानको घोषणा ग¥यौ । ११ अक्टोबरदेखि ११ नोभेम्बरसम्म भनेर लोगो पनि बनायौँ । अनि बकाइदा फेसबुकमा लेख्न थाले । न्युज रिपोर्ट बनाएँ । बीएफबीएस रेडियोमा अन्तर्वार्ता दिएँ । हिमाल खबरमा यसको न्युज रिपोर्ट बनाएर छापेँ ।

गोकुल पोखरेलले पर्यावरण साहित्यमा पीएचडी र महेन्द्र न्यौपानेले एमफिल गर्दै गरेको जानकारीले मलाई खुसी तुल्यायो ।

साझा कुरियरबाट ६५ प्रति ब्लु प्लानेट बेलायत भित्रियो । साथमा प्रा. डा. गोविन्दराज भट्टराईको मायाको चिनो ‘उत्तर आधुनिक विमर्श’ पनि । त्यस दिनदेखि यो पुस्तक कहिले मेरो अध्ययन कक्षमा त कहिले मेरो बिस्ताराको छेउमा गीताको ठेलीसरी पल्टिरहेको हुन्छ । यस पुस्तकभित्रका इको क्रिटिसिज्मका पृष्टहरू, सन् २०१३ मा कपी गरेर, तिनै प्रतिलिपि पढ्दै मैले आजसम्म इको राइटिङको अभियानलाई बढाउँदै आएको छु । ब्लु प्लानेटलाई छुन पाउँदा आफ्नै सन्तानसँग साक्षात् भेट भएको महसुस भयो । दुईटा छोरा छन् । ब्लु प्लानेट मेरी छोरी हो । अर्की सन्तान थपिएकी जस्तो भान भइरहेछ ।

साहित्यिक गतिविधि अलिक बढी हुन लागेर होला राति तीनचार बजेतिर पिसाब फेर्न ब्युँझिन्छु । त्यसपछि निद्रा लाग्दैन । आउँदा कार्यक्रमहरू कसरी चलाउने भनेर सोच्छु ।

सप्ताहान्तमा टिभीमा बडो रोचक नृत्यप्रतियोगिता ‘स्ट्रिक्ली कम डान्सिङ’ हेर्छु । केटाकेटीको जोडीमा । तर यसपालि एउटा जोडीमा केटाकेटा छन् भने अर्को जोडीमा रोज नामकी एक बहिरी लाटी केटी छे । यी दुई जोडीको सहभागिताले यो कार्यक्रम रोचक र पृथक् बनेको छ । मेरो खाली समय साहित्य लेखनबाहेक स्ट्रिक्ली कम डान्सिङ, फुटबल, स्प्रिङ वाच, नेपालका कमेडी च्याम्पियन, दोहोरी च्याम्पियन, भोइस हेरेर र बीबीसी साँझपख सुनेर, पैदल यात्रा गरेर बित्छन् ।

मगर युवाहरूले आयोजना गरेको मगर भाषा, संस्कार र संस्कृतिको कार्यक्रममा जजको भूमिका निभाउन अल्डरसट पुगेँ । झण्डै दुई वर्षपछिको यो पहिलो अलडरसट/फार्नबरोको यात्रा । यसै मौकामा भीसी कुलवीर थापाको सालिक दर्शन गरेँ । बडो गौरव लागेर आयो, बिल किटले भन्ने लेस्टर रेजिमेन्टको सिपाहीलाई कुलवीरले ‘फायरमेन क्यारी’ गरेर बोकेको सालिक देख्दा । बेलायतीलाई गोर्खालीले युद्धमा होस् या शान्तिमा, कसरी सुरक्षा प्रदान गर्छन्, कसरी सेवा दिँदै आएका छन् भन्ने प्रतीक हो । नेपाली र बेलायती दौत्यसम्बन्धको एक अचल साक्षी पनि हो ।

पश्चिम नेपालमा बेमौसमी भारी वर्षा भयो । तराईमा पाक्दै गरेको धानबाली डुवानमा । खान बसेको थाली कसैले लतारिदिँदा कस्तो हुन्छ त्यस्तै भएहोला विचरा कृषकहरूलाई । दसैँतिहारको बेला यस्तो वर्षा पहिला कहिल्यै भएको थिएन । जलवायु परिवर्तनको प्रभाव त होला ।

संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप– २६ ग्लास्गोमा सुरु भयो । केही महिनादेखि बेलायतमा इन्सुलेशन ब्रिटन मुभमेन्ट चलेको छ । अभियानकर्ताहरू राजमार्गमा बसेर आफूलाई सडकमा चप्काउँछन् र यातायात ठप्प पार्छन् ।

११. नोभेम्बर

कोप– २६ सम्मेलन मेरै आँगनमा हुँदै गरेकाले यसलाई नजिकबाट नियालेँ । ‘जलवायु शङ्कट निरन्त्रणमा कति प्रभावकारी होला कोप– २६?’ शीर्षकमा मेरो एउटा लेख छापियो हिमाल खबरमा । विश्वका राष्ट्रहरूले सन् २०४५– ०७० सम्म कार्वन न्युट्रल हुने प्रतिबद्धता जनाए । नेपालले सन् २०४५ सम्ममा कार्वन न्युट्रल हुने प्रतिबद्धता जाहेर ग¥यो । चाइना र रसियाली राष्ट्रपति क्रमस सि जिङ पिङ र भ्लादिमिर पुटिन सम्मेलनमा आएनन्, बेलायत र अमेरिकासँगको बिगँ्रदो राजनैतिक सम्बन्धले गर्दा । यी दुई राष्ट्रलाई नसमेट्दासम्म र प्रविधिको विकास नगर्दासम्म जलवायु परिवर्रतनका समस्या प्रभावकारी ढङ्गले सम्बोधन गर्न नसकिने मेरो ठम्याइ छ ।

युद्ध साहित्य गोष्ठीका लागि भारतमा अवस्थित १, ३, ४, ५, ८, ९, ११ गोर्खा राइफलका ३९ वटा पल्टनका सुवेदार मेजलाई निमन्त्रणापत्र पठाएँ । हतुवाली जेठाले तिनका सम्पर्क उपलब्ध गरिदिएर ठूलो गुन लगाउनुभयो । त्यसैगरी बेलायती गोर्खा पल्टनहरू, सिंगापुर गोर्खा पुलिस, नेपाल प्रहरी र नेपाली सेनालाई पनि पत्र पठाइसकेको थिएँ ।

नोभेम्बर ११ रिमेम्बरेन्स डेलाई पारेर मेरो संयोजनमा बृहत् दुई दिने युद्ध साहित्य गोष्ठीको आयोजना ग¥यौँ । १३ जना भीसीको स्मृतिमा गरिएको यस कार्यक्रममा पहिलो दिन भीसी शेरबहादुर क्षेत्रीका नाति पूर्व राजदूत लोकबहादुर थापा क्षेत्री र दोस्रो दिन विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू ‘परदेशी’ प्रमुख अतिथि हुनुभयो । बेलायत, भारत, नेपाल, रसिया, ब्रुनाई, मध्यपूर्व, अमेरिका, म्यानमारबाट ७ दर्जनभन्दा बढीको सहभागिता रह्यो । म आफैँ पूर्व गोर्खा सैनिक भएको नाताले यस्तो कार्यक्रम गर्ने पहिल्यैदेखिको इच्छा थियो । सैनिक जीवन अति गतिशील हुन्छ । यसभित्र लेखनका विषय महासागरजस्तै गहिरा र आकाशजस्तै फराकिला हुन्छन् । हामी नेपालीमा ठूलो सङ्ख्यामा लाहुरे अथवा सैनिक संस्कार स्थापित भैसको छ । तथापि यहाँ पश्चिमा राष्ट्रमा जस्तो हाम्रोमा सैनिक साहित्य झाँगिएको छैन । यसैलाई प्रवद्र्धन गर्न मैले युद्ध साहित्यको आयोजना गरेको हुँ । तर युद्ध साहित्यमै लागिपरेका केही मित्रहरूले होस्टेमा हैँसे नगरिदिँदा दुःख लागेर आयो ।

यसै युद्ध साहित्य गोष्ठी पारेर मेरो ‘लालबुक’ युद्ध कथा बीएफबीएस गोर्खा रेडियोमा तुलसी बस्नेतले गीतिकथा बनाएर प्रसारण गिरदिनुभयो । त्यसैगरी हिमाल खबरमा मेरो युद्धकथा ‘युद्धको राप’ प्रकाशित भयो । गोष्ठीमा आएर वाचन गरिएका युद्ध कविताहरूलाई बीएफबीएसमै योगराज राईले सिर्जनाका फूलहरू कार्यक्रममा प्रसारण गरिदिनुभयो । बीएफबीएसमै गोष्ठीपश्चात विनोद खड्कासँग मेरो ३० मिनेट लामो अन्तर्वार्ता भयो । यी मिडियाका सबै साथीहरूप्रति कृतज्ञ छु ।

अनि यही गोष्ठीको समाचार लेखेर एभरेष्ट टाइम्स, साहित्य पोष्ट, सिलौटीमा छाप्न पठाएँ ।

इङ्लिश च्यानल तर्ने क्रममा २६ जना आप्रवासी डुङ्गा पल्टिँदा डुबेर मरेको समाचारले आँसु चुहिने गरायो ।

शरद् ऋतु परेको हुनाले रुखका पातहरू पहेँलिन/रातिन थाले । त्यस्ता रुखका शृङ्खलामा जब बिहानी वा साँझको घामको किरण पर्छ, त्यो दृश्य स्वर्गजस्तै लाग्छ । घरवरिपरिका यस्ता रमणीय दृष्य देखेर व्यस्तताको बावजुद पनि रमाउन भने छोडिनँ ।

कोभिड महामारी नलागेको भए, भिजिट नेपाल वर्षलाई पारेर, सन् २०२० मा नेपाल गएर पाँचाँै वातावरण साहित्य सम्मेलन आयोजना गर्नेवाला थिएँ । त्यसका लागि मित्र गोविन्द बेलवासेसँग हवाई टिकट बुक भैसकेको थियो । अहिले बेलायत नेपाल दुवै देशमा कोभिड साम्य भैरहेको अवस्था छ । त्यसै टिकटलाई बडो उत्साहका साथ सन् २०२२ मा नेपाल जाने भनेर नवीकरण गरेँ ।

कानुङ लाङ्घाका लागि नानु, गोमा र विश्वजीतले सङ्लन तथा तयार पारेका लेख/तथ्याङ्कलाई सम्पादन गर्ने काम गरेँ ।

नेपालमा राजनैतिक पार्टीहरूको अधिवेशन प्रारम्भ भए । रेडियो र अन्य मिडियामा समाचार सुन्दा लाग्छ, हाम्रो देशमा सरकार, सांसद र नेताहरू देशविकास होइन, आफ्नो कार्यकालमा माथिदेखि स्थानीय तहसम्म यस्तै आआफ्ना पार्टी सुदृढीकरणका काम गर्छन्, वास्तविक देश विकासका काम गर्दैनन् । त्यही भएर त बजेटको ३०/४० प्रतिशत पनि विकास निर्माणका कार्यमा खर्च गरिएका हुँदैनन् ।

महिनाको अन्त्यतिर कोभिडको साउथ अफ्रिकन भेरियन्ट ओमिक्रोनले सताउन थाल्यो । गाडी, पसल र स्कुलतिर मास्क लगाउने सरकारको सुझाव आयो । कोभिडको तेस्रो खोप तीव्र रुपमा लगाउन सरकार कटिबद्ध भयो । मलाई पनि एनएचएसले टेक्स मेसेज ग¥यो, तेस्रो खोप लगाउन आइज भनेर । खोपले सुताउने भयो फेरि भनेर डर लाग्यो ।

१२. डिसेम्बर

वेलायतमा पानि प्रसोधन गरेर वितरण गर्दा अत्यधिक उर्जा खपत हुन्छ । बढि उर्जाको प्रयोग भनेको कार्वन उत्सर्जन हुनु हो जो जलवायु परिवर्तनलाई वढवा दिने ग्यास हो । यसर्थ घरमा बढि पानिको प्रयोग गर्नु भनेको तपाँइको कार्वरन फुटप्रिन्ट बढाउनु हो जसलाई वाटर फुटप्रिन्ट पनि भन्ने गरिन्छ । त्यसर्थ यो महिना नुहाउदा, धुदा, भाँडा माझ्दा, टोयलेटमा कम पानि प्रयोग गरौं भनेर आफ्नै परिवारमा जागरणका कुरा चलाएँ । वेल्पाली साहित्यकार मित्र बाशु शर्माको ‘पोएट, कफी एण्ड वाटरफुटप्रिन्ट’ (कवि, कफी र पानीका पाइलाहरू’) कविताको सम्झना गर्दै ।

डिसेम्बर लागेपछि वन्यजन्तु संरक्षण कोषले चिठ्ठी पठाउँछ, म यसको सदस्य भएको नाताले । लोपोन्मुख वन्यजन्तुलाई सहयोग गर भनेर । क्रिसमसलाई पारेर इसाई धर्मावलम्वीहरू दान गर्दा रहेछन् । यसपालि नेपालको हिउँ चितुवालाई सानो आर्थिक सहयोग गरेँ, चेक काटेर पठाइदिएँ ।

ब्लु प्लानेट असम पुगिसकेको छ । डा. देवेन सापकोटाले त्यहाँ वितरण गरिदिँदै हुनुहुन्छ । म उहाँको ऋणी छु । यहाँ बेलायतमा पनि चार दर्जनभन्दा बढी इको साहित्यअनुरागी मित्रहरूलाई हुलाकबाट यसलाई पठाइदिएँ ।

साहित्य पोष्टमा हाम्रो पर्या साहित्य खण्डले राम्रो बजार लिएको छ । धेरै साथीहरूले इको कविता/गीत/कथा/समाचार पठाएर इको राइटिङलाई व्यापकता दिन मद्दत गरेका छन् । यही सेक्सन सुचारु रुपले सञ्चालन गर्न अश्विनी कोइरालालाई मेरो दोस्रो किस्ताको आर्थिक सहयोग पठाइदिएँ ।

यो पाखुरामा कोभिडको तेस्रो खोपको सुइरो पस्यो । खोपले ओमिक्रोन भेरियन्टलाई बाढीले माछालाई बगाएर लगेको जस्तो कल्पना गरेँ । यसले ओमिक्रोनलाई भन्दा उल्टै मलाई १ हप्ता सुतायो, फ्लुको लक्षण देखा परेर । ला ! कोभिडले भेटेछ भन्ठानेर लेटेरल फ्लो टेस्ट गरेँ, नाकभित्र सुइरो घुसार्दै नाकेगुजी झिकेर । तर नेगेटिभ देखियो, ढुक्क भएँ । यसरी बिमारी भएर बस्दा, सिर्जना र सामाजिक कार्यमा व्यस्त रहँदा सम्झिन नपाएका आफन्तलाई फोन घुमाएर घन्टौँसम्म बोलेँ ।

मास्टर मित्रसेनको १२७ औँ जन्म दिवस आयो । यसपालि विनेसाम साउथ युकेले कार्यक्रम नगर्ने भयो । मगर संघ युके र मास्टर मित्रसेन स्मृति प्रतिष्ठानले कार्यक्रम राखे । दुवै कार्यक्रममा म एक वक्ताको रुपमा जोडिएँ । पहिलो कार्यक्रममा मित्रसेनको जीवनीको चर्चा गरेँ । उनको सैनिक जीवन र उनी प्रथम विश्वयुद्धमा सहभागी भएका विषयमा बढी केन्द्रित रहेँ । जसका बारेमा मैले गत ३– ४ वर्षदेखि अध्ययन अनुसन्धान गर्दै गरेको छु ।

क्रिसमस र नयाँ वर्षमा बाहिर कतै पार्टी खान, रेष्टुरेन्टतिर डिनर खान गइएन । त्यो हिसाबले यो वर्षका यी पर्व सुक्खा नै भए । कोभिडको ओमिक्रोन भेरियन्टले बेलायतलाई सोत्तर पार्दै छ । दिनमा एक लाख असी हजार सङ्क्रमित, १२–१३ हजार कोभिड बिमारी अस्पतालमा, औसत मृत्युदर प्रतिदिन १५० जना रहेको छ । एनएचएसका कर्मचारी बिरामी बिदामा बस्दा अस्पतालमा काम गर्ने मान्छेको कमी भएको छ । कोभिड पासपोर्ट देखाएर मात्रै कोठाभित्रका गतिविधिमा छिर्न पाउनुपर्ने बोरिस जोन्सनको प्रस्ताव पार्लियामेन्टमा पास हुन सकेन । तर कोभिड टेस्ट गरेर नेगेटिभ भएमात्रै पार्टी, नाटक, सिनेमास्थलमा जान सरकारको सल्लाह ।

मैले चाहिँ नयाँ वर्षको भर्चुअल पार्टीको आयोजना गरेर सन् २०२२ लाई स्वागत गरेँ । विनेसाम साउथ र पश्चिम शाखाका सदस्य साथै मेरा अन्य शुभचिन्तक मित्रहरू जुममा जोडिए । साहित्यिक/साङ्गीतिक रमाइको गर्दै सन् २०२१ लाई बिदा दिएँ ।

मेरा लागि समग्रमा सन् २०२१ सिर्जनशील, स्वस्थकर र फलदायी नै रह्यो ।

बाई बाई २०२१ !

2 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %