इको कथा संग्रह ‘ब्लु प्लानेट’उपर समिक्षकका टिप्पणी

Read Time:21 Minute, 13 Second

राज्यसत्ता यु.के .संबादाता

२ जनवरी २०२२ का दिन विजय हितानको नयाँ कथा कृति ‘ब्लु प्लानेट’ भर्चुअल माध्यमबाट सार्वजनिक भएको छ । यस कथासङ्ग्रह विमोचन कार्यक्रममा कृतिभित्रका १५ कथाहरूउपर विभिन्न समीक्षकहरूले आफ्ना पाठकीय राय राखेका थिए । जो यस प्रकार छन्-

१. प्रा. डा. गोविन्दराज भट्टराई
विमोचन कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराईले कृतिउपर समष्टिमा बोलेका थिए । प्रा. डा. भट्टराईले आफ्नो पुस्तक उत्तर आधुनिक विमर्शमा पर्या साहित्य समालोचनाको एक अध्याय लेखेका छन र उनलाई यस विषयका सिद्दान्तकार मानिन्छ । उनले ब्लु पल्नेटउपर बोल्दै पृथ्वीको अवस्था, जवलवायु परिवर्तन र वातावरण संरक्षणका विषयहरूलाई हितानले आफ्ना कथाहरूमा उनेको टिप्पणी गरे । उनले सन् १९७२ पछि तीन चरणमा पर्यावरणका विषय र विधामा केन्द्रित भएर साहित्य लेखन र समालोचकीय बहसले स्थान लिएको बताए । उनले प्रकृतिकेन्द्रित, मानवकेन्द्रित हुँदै विश्वकै परिस्थितिका विषयहरूमा लेख्न सुरु भएको जनाए र विजयका बारेमा भने, ‘इको लेखनको विश्व तरङ्ग बुझेर प्रयोगमा व्यापकता ल्याउने प्रथम नेपाली विजय नै हुन् ।’ प्रा. डा. भट्टराईले अगाडि थपे, ‘वातावरणलाई भौतिकदेखि साहित्यिक अभियानका रूपमा अघि बढाएर अरू लेखकसम्म लैजाने श्रेय पनि उनलाई नै जान्छ ।’

२. डा. सरिता शर्मा
डा. सरिता शर्माले ‘पँधेरीले लुकाएको अँध्यारो’ कथाउपर आफ्नो पाठकीय टिप्पणी पेस गरिन् । डा. शर्माले अँग्रेजी साहित्यमा विध्यावारिधि गरेकी छिन र उनि मोटिभेसनल स्पिकर पनि हुन् । यसै कथाको ‘मदेशकी छोरी म, पहाडकी बुहारी बन्न चाहन्छु ।‘ भन्ने वाक्यलाई उधृत गर्दै यो कथा पर्या–नारीवादी भएको बताइन् । जलवायु परिवर्तनका कारणले पँधेरा र इनारजस्ता पानीका मुल सुक्दै गरेका र यस्ता समस्याले पानी बोक्ने बुहारी र घरकी सासूबीच पैदा गरेको कलह कथाको मूल सार रहेको बताउँदै हितानले पर्यावरण संरक्षण अभियानलाई कलात्मक तरिकाले साहित्यमार्फत व्यक्त गर्न सकेको धारणा राखिन् ।

३. डा. गीता त्रिपाठी
डा. गीता त्रिपाठीले ‘सहरले पन्छाएकी बुहारी’ कथाउपर टिप्पणी गरिन् । डा. त्रिपाठीले वातावरण साहित्यमा विध्यावारिधि गरेकी छिन र उनि बरिष्ठ समालोचक पनि हुन् । कथाले काठमाडौँ र बाग्मतीको प्रदूषित अवस्थाले मानिसको स्वास्थ्यमा पारेको नकारात्मक असरलाई उजागर गर्न खोजेको बताउँदै त्रिपाठीले कथामा पतिपत्नीबीचको मानवीय संवेदनालाई बडो साहित्यिक रससँग पस्केको तथ्य उजागर गरिन् । काठमाडौँ सहरमा भैरहेको वायु तथा नदी प्रदूषणजस्ता वातावरणीय समस्याका बारेमा मानिसलाई सचेत गराउन खोजिएको भन्दै कोठाभित्र बसेर पढ्नुभन्दा यस कथालाई माइकिङ गर्दै सडकमा हिँड्ने इच्छा जागेको डा. त्रिपाठीले भनिन् । पर्यावरणमैत्री भाषाले भरिएको यस कथा अन्य कथाभन्दा अलि लामो लागेको र कथाको शीर्षकमा बुहारीभन्दा पत्नी अथवा आमा राखेको भए सान्दर्भिक हुने सुझाव पनि दिइन् । कथा कृतिको विमोचनमा एकदुई जनालाई समीक्षा गराएर बोल्न लगाउनुभन्दा यसरी कृतिभित्रका प्रत्येक कथाउपर एकएक जनाबाट समीक्षा गराइएको कार्यक्रम आफूलाई पृथक् लागेको पनि बताइन् ।

४. डा. देवचन्द्र सुब्वा
डा. देवचन्द्र सुब्वाले ‘कार्वन फुटप्रिन्ट र उत्सर्जित आशङ्का’ कथामाथि आफ्नो समीक्षात्मक टिप्पणि पेस गरे । डा. सुब्वाले पर्यावरण साहित्यमा विध्याबारिधि लिएका छन भने ‘नेपाली कवितामा परिवेश’ समालोचनात्मक ग्रन्थ प्रकाशन गरेका छन् । भौतिक प्रदूषण त भई नै रहेको छ पृथ्वीमा तथापि यो कथाले श्रीमान् र श्रीमतीबीचको मनमा पनि प्रदूषणको जालो बुनेको कुराउपर बडो कौतुहल जगाउने तरिकाले उल्लेख गरिएको बताए । उनले मानिसलगायत अन्य जीव तथा वनस्पतिका लागि कार्वन अति आवश्यक ग्यास हो तर त्यही कार्वन अधिकमात्रमा हुन गए हानि पु¥याउँछ भन्दै कथा डायस्पोरिक अनि प्रतिकारात्मक रहेको ठहर गरे । कथाको शीर्षक कार्वन फुटप्रिन्ट मात्रै भएको भए पनि उत्तिकै सान्दर्भिक हुनसक्ने सुझाव राखे ।

५. डा. देवेन सापकोटा
डा. देवेन सापकोटाले ‘गहिरो पहिरो’ कथामाथि टिप्पणी गरे । डा. सापकोटाले ‘परिश्रान्त पृथ्वी’ इको कविता संग्रह प्रकाशित गरेका छन र एक अर्को इको कथा संग्रहको प्रकाशनमा जुटेका छन् । विकासका नाममा गरिने प्राकृतिक श्रोत र साधनको विनाशले पर्यावरणीय असन्तुलन निम्त्याउँछ भनेर हितानको यस कथाले प्रष्ट पार्न खोजेको उनको भनाइ थियो । कथाभित्र विकासका पूर्वाधार निर्माण गर्नुपूर्व पूर्णरुपमा वातावरण प्रभाव मूल्याङ्कन गरिनुपर्ने उल्लेख गरिएको उनले बताए । देशको संरचना निर्माणमा राजनैतिक पाटोबाट वातावरण अमैत्री निर्णय लिइयो भने बाढीपहिरोजस्ता विपत्ति निम्तिन्छन् भन्ने सचेतना यस कथाले दिन खोजेको पनि डा. सापकोटाले उल्लेख गरे ।

६. महिम आचार्य
त्यसैगरी महिम आचार्यले ‘बाग्मती ब्लुज’ कथाउपर टिप्पणी गरे । आचार्य असमेलि साहित्यकार तथा इको कविताका अनुरागि हुन । उनले यस कथाले एक प्रेमिका पात्राको रुपमा उभ्याएर बाग्मतीको प्रदूषित पीडालाई पोखेको बताउँदै ब्रह्मपुत्र तथा गङ्गा नदीहरू पनि यसरी नै प्रदूषित भएको सम्झना गरे । काव्यिक रसमा पर्यावरणीयस समस्या औँलाइएको यो एक प्रेमकथा हो भन्ने उनको भनाइ थियो ।

७. विलोक शर्मा
विलोक शर्माले ‘गैँडालाई चार वर्ष’ कथाको समीक्षा गरे । शर्मा वनस्पति विज्ञ तथा कवि हुन र उनले ‘समयाभास’ कविता संग्रह प्रकाशन गरेका छन् । ‘निकुञ्जको गैँडा मर्दा मेरो गोठको गाई मरेजस्तो लाग्छ ।’ भन्ने यस कथाभित्रको वाक्यलाई दोहोर्‍याउँदै शर्माले आन्दोलन र युद्धले मानवीय वेदना मात्रै दिँदैनन् प्राकृतिक विनाश पनि गर्छन् भने । आफू पनि गैँडासँग सानैदेखि नजिक भएको बताउँदै यो कथा गैँडा संरक्षणकर्मी तथा वातावरण अभियानकर्ता कमलजङ कुँवरप्रति समर्पित रहेको बताए ।

८. प्रज्वल अधिकारी
प्रज्वल अधिकारीले ‘भुइँचालोले भत्काएको भट्टी’ शीर्षकको कथाउपर आफ्नो पाठकीय टिप्पणी राखेका थिए । अधिकारी राष्ट्रिय स्तरका एक चर्चित युवा कवि हुन् र उनले कविता लेखनमा दर्जनौ पुरस्कार र सम्मान प्राप्त गरेका छन् । मानिसका कुकार्यले आफूमाथि पारेको असह्य पीडालाई प्रकृतिले आफूलाई सुरक्षित राख्न भुइँचालोको रुप धारण गरेर आणविक भट्टीजस्ता मानवनिर्मित संरचना ध्वस्त पारेको यस कथा पढेर आफूले बुझेको बताए । क्लाई–फाई अर्थात् climatic–fictional ढाँचामा लेखिएको यस कथाको साराङ्श जलवायु परिवर्तनले नेपालको हिउँ पग्लेर नदीनाला सुक्न जान्छन् । फलस्वरुप नदीमा पानी नहुँदा जलविद्युत् उत्पादन गर्न नसकिने तर यस २१ औँ शताब्दीको अन्त्यतिर हाम्रो देश भारत र चाइनासरी आर्थिक विकासमा छलाङ मार्ने र आणविक भट्टी निर्माण गरेर ऊर्जा उत्पादन गरिरेहेको हुने छ भन्ने संभावनालाई कथाकारले प्रस्ट्याउन खोजेको पनि अधिकारीले बताए ।

९. अमित थेवे
अमित थेवेले यस सङ्ग्रहको शीर्षक कथा ‘ब्लु प्लानेट’उपर आफ्नो टिप्पणी प्रस्तुत गरे । कवि तथा समिक्षक थेवे बहुआयामिक व्यक्तित्वका धनि हुन् र उनि आधा दर्जन भन्दा बढि साहित्यिक/सामाजिक/राजनैतिक संघसंगठनमा पदाधिकारि छन् । उनले यो कथाको परिवेश कोरोना महामारीको उद्गमस्थल चाइनाको वुहान सहर भएको बताउँदै बीबीसीका विश्वप्रसिद्ध पर्यावरण प्रस्तोता सर डेविन एटनबर्ग एक पात्र रहेको र कथामा तिनको कोरोनाले मृत्यु भएको प्रस्ट्याए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हालैको महाधिवेशन प्रस्तावमा केही हदसम्म पर्यावरणीय विषयलाई उठान गरेको सम्झना गर्दै यस कथाले कोरोना महामारीले मानवीय गतिविधिमा केही हदसम्म रोकावट आएको र फलस्वरुप पृथ्वीको आयु लम्बिन सक्ने बोलेको जानकारी दिए ।

१०. भावेश भुमरी
भावेश भुमरीले ‘नव वर्षले जन्माएका वृक्षहरू’ कथामा आफ्नो समीक्षात्मक टिप्पणी राखे । भुमरीले नेपाली गित विधामा स्नाकोत्तर गरेका छन भने गिति एलवम, गिति संग्रह, नियात्रा लगायतका एक दर्जनभन्दा बढि कृति प्रकाशन गरिसकेका छन् । राजनैतिक पार्टीका आर्थिक विकास, सामाजिक न्यायजस्ता पर्यावरण संरक्षणका एजेण्डा पनि हुनुपर्ने हितानको यस कथाको सार रहेको उनले प्रष्ट पारे । कथामा कथाकारले आफ्ना अनुभवहरूलाई अन्तर्वार्ताको सन्दर्भ जोडी संवाददाता पात्रको प्रश्नहरूमा मुख्य पात्रले उत्तर दिँदै बेलायतमा पर्यावरण संरक्षणमा गरिने आधुनिक तथा वैज्ञानिक तौरतरिकाको ज्ञान बडो सूक्ष्म रुपमा पस्केको उनले औँल्याए ।

११. नीलिमा आचार्यले
नीलिमा आचार्यले ‘बघिनीको शोकशभा’ कथाउपर टिप्पणी राखेकी थिइन । आचार्य कवि, उपन्यासकार तथा पेशाले शिक्षिका हुन र उनले ‘रजत’ उपन्यास लेखेकी छिन् । यस कथामा टिप्पणी राख्ने क्रममा उनले भनिन्, ‘पर्यावरण विषयमा पनि यसरी सरल तरिकाले कथा लेख्न सकिन्छ भनेर मैले चिताएकी थिइनँ । चितवन निकुञ्जमा पालिएको बाघ अचानक मान्छे र वन्यजन्तुबीचको द्वन्द्व र बासस्थानको सङ्कुचनका कारणले मारिएको र कथा पढदै जाँदा ती गौरी नामक बघिनीको शोकसभामा आफू स्वयम् पुगेजस्तै अनुभव भएको छ ।’ मानिसले मानिसका छोराछोरी पाल्छन् तर यस कथामा बाघलाई एक घनश्याम नामक पात्रले धर्म छोरी बनाएर पालेको कुरा कथामा नौलो प्रयोग गरिएको उनको ठम्याइ थियो । हितानको यस कथासङ्ग्रहमा अब आफ्ना विद्यार्थीका लागि पर्यावरणीय चेतका सामग्री भेटेको आचार्यको भनाइ थियो । कथाको शीर्षक बघिनीको शोकसभाभन्दा गौरीको शोकसभा राखेको भए अझै अमूर्त हुन्थ्यो भन्ने सल्लाह पनि कथाकारलाई दिइन् ।

१२. छत्रमान सुब्बा
छत्रमान सुब्बाले ‘बाढीको घटुक्क बाडुली’ शीर्षकको कथामाथि प्रकाश पारे । सुब्बा असमनिवासि कवि, कथाकार, समालोचक, अनुवादक तथा पेशाले शिक्षक हुन् । हितानको यस कथामा एक बाढीपीडित बृद्धको कथा कहिएको बताउँदै आफू स्वयम् वास्तवमै एक बाढीपीडित बनी आन्तरिक शरणार्थी हुनुपरेको सुब्बाले सम्झना गरे । यसर्थ यस कथाको शीर्षक पर्यावरणीय शरणार्थी पनि राख्न सकिन्थ्यो भन्दै उनले आफ्नो टिप्पणीको बिट मारे ।

१३. रन्जू पान्डे
ब्लु प्लानेट विमोचका दिन रन्जू पाण्डेलाई आफ्नो पाठक प्रतिकृया राख्न दिन सकिएन । वहाँ साहित्यकार/समालोचक हुनुहुन्छ । वहॅाले प्रेमपुर्वक दुइ कथाउपर आफ्नो प्रतिकृया लेखि मलाइ मेसेज गर्नुभएको जसलाई यॅाहा जस्ताको त्यस्तै उतारिइको छ-

हितान सर, कार्यक्रममा सहभागी हुन पाउँदा धेरै ज्ञान प्राप्त गर्ने अवशर पाएँ ।
आजमात्रै साहित्य पोस्ट्मा आएको पुस्तक विषयक लेखमा याहाँले भन्नुभएको छ, ईको राइटिङ् नौलो भएकोले अध्यनका श्रोतहरु पाइँदैनन्। यो भन्नुको अर्थ अध्ययनका पाठकहरु पनि स्वतः कम हुन्छन भन्ने मेरो बुझाइ रह्यो । श्रोतको कमीका बाबजुद पनि एक दशकअघि देखिनै पर्यावरण लेखनलाई आफ्नो अभियान बनाउँदै आउनुभएको सरको यो पुस्तक ब्लु प्लानेट पढदा मेरो अहिलेसम्मको अनुभव मात्र दुई कथाको माध्यमबाट भन्नुपर्दा- वातावरणीय मुद्दा मान्छेलाई थाहा छैन तर मान्छेको मस्तिष्कमा छिराउनु त पर्‍यो र छिराउन त्यति सजिलो भने छैन । किनकि मान्छे यति स्वार्थी भइसक्यो कि उनीहरुलाई मान्छेकै मुद्दा मात्र ठुलो लाग्छ । जलवायु परिवर्तन र यसको प्रभावलाई मान्छेले दैनिक जीवनमा उतार्न सहज होस भनेर कतै सासु बुहारीको मुद्दा त कतै लोग्नेस्वास्नी बीच आउने तेस्रो व्यक्तिको चर्चा याहाँले गर्नुभएको छ जुन चर्चा धेरै वर्षदेखि चल्दै आएको छ र अझै धेरै वर्ष जाने निश्चित छ ।

“पँधेरीले लुकाएको अध्यारो कथा” मा सम्बन्धमा एउटा शंकाले जसरी बिष घोल्छ त्यसलाई इटाभट्टाको चिम्नीबाट उत्सर्जन हुने धुवाँसंग तुलना गरेर याहाँले पाठकको मस्तिष्कमा त्यो धुवाँको प्रदूषणको खार नाकबाट सिधै पुर्‍याउनु भएको छ ।

यस्तै अर्को कथा “कार्वन फुटप्रिन्ट र उत्सर्जित आशंका” मा लोग्ने स्वास्नी बिच हुने द्वन्दका धेरै मुद्दाहरु हुन्छन् । ती मुद्दाहरु मध्ये पनि सबैभन्दा रापिलो मुद्दा हो सम्बन्धमा तेस्रो व्यक्तिको आगमन । मान्छेलाई एकदमै चाख छ अरूको सम्बन्धमा चासो राख्न । लोक्ने स्वास्नी बीचको सम्बन्धमा हुने द्वन्दलाई याहाँले यस्तो राम्रोसँग पर्यावरण सँग जोडेर देखाइदिनु भएको छ कि पाठकलाई एउटा गहिरो सन्देश गएको छ । प्रदुषण कम गर्नको लागि पनि कहिलेकाहीँ हामी कसैको मोटरसाइकलमा अथवा कसैको गाडीमा लिफ्ट लिइरहेका हुन्छौ । घरमा श्रीमतीसंग तेस्रो व्यक्तिको आगमनले हल्का द्वन्द चलिरहेको बेलामा आफ्नो केटी साथीलाई के भन्न खोजेको होला भने एउटा उत्सुकता पाठकको मनमा जगाएर कथाको अन्तमा जुन सन्देश दिनुभएको छ कि पाठकले आफ्नै अनुहार ऐनामा देख्छ र लाज मान्छ कि हरे ! मैले कस्तो रोमान्चित कुरा होला भनेर सोचेको तर केटा र केटी साथी बीच सधैं रोमाञ्चक कुरा मात्र हुँदैन यस्तो विषयमा पनि कुरा हुन्छ । यसरी भोलिदेखि बाटोमा हिड्दा सडकमा कुकुरको दीसा देखे पक्कैपनि पाठकले लेखकको यो कथा चै सम्झन्छ ।

यसरी मान्छेलाई मान्छेको मुद्दासँग जोडेर पर्यावरण सम्बन्धी सचेतना जागाउदा त्यो सुचना मान्छेको अर्ध अनि अवचेतन मस्तिष्कमा बसेको हुन्छ जसलाई आवश्यकता अनुसार क्रियामा ढाल्न सजिलो हुन्छ ।

१४. ज्ञानहादुर क्षेत्री
विषेश अतिथि ज्ञानबहादुर क्षेत्रीले कार्यक्रमको अन्त्यमा सबै वक्ताहरूले बोलेका विषयउपर समीक्षात्मक टिप्पणी गरेका थिए । असमको तेजपुर निवासि क्षेत्री बरिष्ट समालोचक हुन । आफ्नो समिक्षात्मक टिप्पणी राख्ने क्रममा उनले ‘ब्लु प्लानेट’ कथासङ्ग्रह एक मास्टर पिस भएको धारणा व्यक्त गरे । अनुराधा शर्मा पुजारीको ‘यहाँ एउटा वन थियो’ नामक पुस्तकले भारतको साहित्य अकादमी पुरस्कार पाएको स्मरण गर्दै ‘ब्लु प्लानेट’ पनि पुरस्कृत हुनसक्ने एक उत्कृष्ट कृति रहेको दावी गरे । ‘वर्षगाँठमा रेड पाण्डा’ सर्वोरउत्कृष्ट कथा रहेको आफूलाई लागेको बताउँदै हितानका कथाले भविष्यमा जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास, मानवीय प्रदूषण, वन्यजन्तु चोरीशिकारी, विकासनिर्माण इत्यादिले अबको २०– ३० वर्षमा पृथ्वीमा कस्तो असर पर्छ र अहिले यसका लक्षण केकस्ता छन् भनी आम पाठकलाई सचेतना दिलाउने कुरा बताए ।

कार्यक्रममा नेपाल, भारत बेलायत तथा विश्वका अन्य मुलुकबाट विजय हितानका ५२ जना शुभचिन्तक, इको तथा नेपाली साहित्य अनुरागी, साहित्यका विद्यार्थी, विद्यालय तथा विश्वविद्यालयका प्राध्यापक साथै विभिन्न साहित्यिक संघसङ्गठनका पदाधिकारीहरूको उपस्थिति थियो ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %