गोलार्द्धलाई चक्कर मार्दा पढेपछि

Read Time:17 Minute, 26 Second

(भूमिका)

– भावेश भुमरी

काठमाडौँ । नेपाललाई कोरोना भाइरसले त्रसित बनाएको छ । यही भाइरसबाट सुरक्षित भइन्छ कि भनेर गत सालको चैत ११ गते जहानपरिवारका साथ काठमाडौँबाट जन्मघर प्यूठान फर्केको छु । भाइरसले संसारभर तान्डव मच्याइरहेको छ भने नेपाल सरकारले लकडाउनलाई निरन्तर लम्ब्याइरहेको छ ।

म प्यूठान फर्किंदा यहाँका वनपाखामा गुराँसहरू राताम्मै फुलेका थिए । बारीका कान्लाहरूमा ऐँसेलु पहेँलै पाकेका थिए । जङ्गल र बाँझो बारीका कान्लाहरूमा झुम्म परेका, झोत्तै फलेका र फल पाकेका काफलका हाँगाहरू राताम्मै देखिन्थे । परिर्वनशील प्रकृतिको बगाइमा बारीका हरिया गहुँ र जौँ पाके । गहुँजौँ काट्ने र मकै छर्ने काम भयो । म घरका विभिन्न काममा बगिरहेँ, बगिरहेछु निरन्तर ।

मेरो करिब २५ वर्षदेखिको दैनिकी फेरिएको छ यो जन्मठाउँमा । म एक शुद्ध किसान भएको छु । घर छाडेर काठमाडौँ पस्दा अभिभावक हुनुहुन्थ्यो बाबाआमा । बाबाआमाको स्वर्गवासपछि घरका सबै व्यवहार दिदीमा सरे । अहिले म घरको अभिभावक भएको छु । हामी आएदेखि दिदीले घरायसी सबै व्यवहार मलाई थम्याइदिनुभएको छ । यसो त गत वर्षदेखि बनाउँदै गरेको घरका केही काम अझै सकिएका छैनन् । कहिले डोकाभरिका ढुङ्गा ओसार्नु, कहिले पिँढी र आँगनका गाह्राहरू लगाउनु, कहिले बारी र खोरियामा विरुवा रोप्नु, यस्तै यस्तैमा मेरा दैनिकी बगिरहेका छन् । साँच्चै गाउँ पसेको सलहले बढ्दै गरेको मकैलगायतका खेतीपातीमा ठूलो क्षति पु¥याइदियो । करिब एक हप्ताजति सलह खेदाउँदा हलचल गर्नै नमिल्ने गरी शरीर दुख्यो । यो मेरो जीवनको पहिलो अनुभव हो । दैनिक यस्तै काम र अनुभवहरूमा हेलिँदा पढ्ने र लेख्ने फुर्सद नै छैन । यता आएदेखि अनलाइनमा कुरा भइराख्ने धेरै दाजुभाइ, दिदीबहिनी र साथीहरूसँगको सम्बन्ध एकप्रकारले विच्छेद भएको छ । गाउँमा अझै पनि वाईफाई छैन, मोबाइलमा डाटा अन गरेर सामाजिक सञ्जालमा बस्दा स्वात्तै पैसा निल्छ टेलिकमले । यसो त कोरोनाले आर्थिक रूपमा सबैलाई थिलथिलो पारेको छ । आर्थिक कारणले पनि सधैँ अनलाइन बस्ने अवस्था छैन मेरो ।

कहिलेकाहीँ म बिहान एकछिन मोबाइल डाटा अन गरी अनलाइन बस्ने गर्छु । आज पनि डाटा अन गरी फेसबुकमा आएका म्यासेजहरू पढ्दै छु । यसैबीचमा साहित्यकार दाजु चिम्खोले काइँलाको कल आउँछ म्यासेन्जरमा । म कल उठाउँछु । दाजु भन्नुहुन्छ, ‘भाइ मैले मेरो नियात्राका सबै फाइल इमेलमा पठाएको छु । काम गरिदिनुप¥यो ।’ मैले हुन्छ भन्न नपाउँदै दाजु भन्नुहुन्छ, ‘यसो भूमिका पनि लेखिदिनुस् है भाइ ।’ म दाजुको कुरामा अलि अप्ठ्यारो महसुस गर्छु । यसरी गद्यको साहित्यिक पुस्तकमा मैले कहिले पनि भूमिका लेखेको छैनँ । म आफू सिर्जनामा रमाउने एक सिर्जनाप्रेमी हुँ, भूमिका लेख्ने कुराले म एक प्रकारको बोझ महसुस गर्छु । यही कारण पनि विगतमा ‘भूमिका लेख्ने गरेको छैनँ ।’ भन्दै धेरैपटक तर्केको छु । यसपालि भने मेरो मुखमा यस्तो वाक्य आउन सक्दैन । कुरा टुङ्ग्याउने बेला भन्छु, ‘भूमिकै त होइन दाजु, आफूलाई लागेको कुरा लेख्ने प्रयास गर्ने छु ।’

म कोरोना महामारीको उच्च त्रासका बाबजुद मुखमा माक्स टाँसेर प्यूठानको सदरमुकाम खलङ्गा आएको छु । यहाँ आउनुको एउटै कारण हो चिम्खोले काइँदा दाजुका नियात्राका फाइलहरू डाउनलोट गर्नु । म मेरो ल्यापटपमा कृपालु एफएमको वाईफाई कनेक्ट गरी फाइलहरू डाउनलोड गर्न थाल्छु । इन्टरनेट एकदमै ढिलो छ । ३८ वटा फाइल डाउनलोड गरी नेपाली फन्टमा कन्भर्ट गर्न झन्डै दुई घन्टाको समय लाग्छ । कतै नहुने हो कि भन्ने बडो दोमनका साथ काम पूरा गरी सरासर घर फर्किन्छु ।

मध्य वर्षाको समय छ । दिनभरि अनि रातभरि मुसलधारे वर्षा भइरहेछ । पानीका थोपाहरूले मकैका पातहरू बजाइरहेछन् । प्रकृति एकतमासको सङ्गीतमा रमाइरहेछ । म भने चिम्खोले काइँदा दाजुका नियात्राहरूको भाषा सम्पादनमा एकोहोरिएको छु । भाषा सम्पादनका साथ नियात्रासँगै लक्का जवान सैनिक भएर घुमिरहेछु विश्वका विभिन्न देश अनि शहरहरूमा । म तालिम पनि गरिरहेछु हङकङ र बेलायतका पल्टनहरूमा । कहिले स्कुले ठिटो भएर स्कुल पढ्न डेरामा बस्ने गर्छु, कहिले समाजसेवी भएर गाउँ आइपुग्छु, समाजसेवामा जुट्छु, म्याग्दीका विभिन्न ठाउँहरूको भ्रमण गर्छु । यतिबेला म आफैँ नियात्राकार भइदिएको छु । यस्तो हुनुमा नियात्रा लेखनको शक्ति हो, नियात्राहरूका खँदिला विषय हुन् । नियात्राकार चिम्खोले काइँलाका नियात्राहरूले घुमाइरहेछन् मलाई फनफनी, घुमिरहेछु म एकतमासले विश्व ।

साहित्यकारमा एउटा विशेष खालको शक्ति हुन्छ, सिर्जनामा पाठकलाई डुबाउनु र आफू भएरै अनुभूत गर्न लगाउनु । पाठकले जबसम्म सिर्जनालाई आफू या आफ्नो परिवेशको कुनै संवेदनासँग जोडेर सिर्जनालाई अनुभूत गर्न सक्दैन त्यो सिर्जनाले प्रभाव पार्नै सक्दैन । यसो भन्नुको अर्थ प्रभाव पार्न नसक्ने सिर्जना सफलताका सिँढीहरूमा पक्कै उक्लिन सक्दैन । साँच्चै सिर्जनाहरू साझा हुन्छन् पाठकहरूका अनुभूतिमा सजिलै अन्तर्घुलन हुन सक्ने । म दाजु चिम्खोले काइँलाका नियात्राहरूमा मेरा अनुभूतिका यस्तै अन्तर्घुलन भेटिरहेछु ।

मैले ‘गोलार्द्धलाई चक्कर मार्दा’ नियात्रासङ्ग्रह पढ्नुभन्दा अगाडि चिम्खोले काइँलालाई जुन पाटोबाट चिनेको थिएँ, अहिले निक्कै फरक पाटोबाट चिन्न सकेको छु । नियात्राकारको बाल्यकाल र विद्यार्थी जीवनदेखि वर्तमानअवस्थासम्मका धेरै कुरा यस सङ्ग्रहमा समेटिएका छन् । यो एउटा यस्तो नियात्रासङ्ग्रह हो, जसमा चिम्खोले काइँलाका करिब छ दशकका महत्वपूर्ण यात्रा र जीवनकै पाटाहरूलाई समेट्ने काम गरिएको छ । साँच्चै चिम्खोलादेखि बेलायतसम्मको बसाइ अनि दूत पुनबाट चिम्खोले काइँलोसम्मको नामको सङ्घर्ष कहाँ सोचेजस्तो सजिलो रहेछ र !

कुनै पनि नियात्राकारको नियात्रामा केवल यात्राको विवेचना मात्र हुँदैन । नियात्राकार नियात्रासँगै आफ्ना अनुभव, अनुभूति, दृष्टिकोण र जीवनदर्शनलाई भन्न र पाठकहरूसामु पु¥याउन सफल बन्छ । यदि यस्तो नगरिएमा नियात्रा रसपूर्ण हुँदैन अर्थात् नियात्रा पढेजस्तो र आफैँ नै यात्रा गरेजस्तो अनुभूत हुँदैन । चिम्खोले काइँला आफ्ना नियात्राहरूमा जीवनका थुप्रै पाटाहरूलाई केलाउन सफल हुनुभएको छ । आफ्ना अनुभव, अनुभूति, दृष्टिकोण र जीवनदर्शनलाई कलात्मक तरिकाले पोख्न पनि सक्षम हुनुभएको छ । स्कूल पढ्दै गर्दा चिम्खोलाका खर्कहरूमा भैँसी चराउँदै गर्दाका क्षणहरू होउन् या रोजगारीको खोजीमा चिम्खोलाबाट भैरहवा हुँदै भारत या चिम्खोलाबाट पोखरासम्मका अत्यन्त सङ्घर्षमय यात्रा किन नहोउन्, यस सङ्ग्रहमा सङ्गृहीत गर्न सफल हुनुभएको छ । ब्रिटिश सेनामा भर्ती हुँदाका संघर्षमय समय र जागिरका सिलसिलामा काठमाडौँबाट हङकङ पुगेर संघर्ष गर्दाका क्षणहरूलाई पनि यस सङ्ग्रहमा सङ्गृहीत गर्नुभएको छ । सैन्य सेवामा कार्यरत रहँदा भोग्नुपरेका दुख, कष्ट र सफलताका प्रशस्त विषयहरू पनि समाहित छन् । वीर गोर्खा हुनुको स्वाभिमान अनि इज्जतमा गर्व गर्ने नियात्राकारले नेपाली हुनुकै कारण विभिन्न यात्रामा भोग्नुपरेका इमिग्रेशन समस्यालाई पनि इमान्दारीपूर्वक राख्नुभएको छ ।

चिम्खोले काइँलाको यस नियात्रासङ्ग्रहमा ३७ वटा नियात्रा सङ्गृहीत छन् । जसमा २४ वटा नियात्रा एशिया, युसरोप, अष्ट्रेलिया, अफ्रिका र मध्य अमेरिका भ्रमणका तितामीठा र रोचक विषयसँग सम्बन्धित छन् । यी नियात्राहरूलाई मोटामोटी रूपमा सैन्य सेवा र सेवा निवृत्त समयका स्वतन्त्र नियात्रा गरी दुई भागमा विभाजन गर्न सकिन्छ । सैन्य सेवाअन्तर्गत सैन्य तालिम, पल्टनका विभिन्न व्याण्ड एवम् म्युजिक शो र युद्धमा जाँदाका यात्रा अनि अनुभवहरूलाई समेट्ने काम गरिएको छ । सेवा निवृत्तका नियात्राहरूमा प्राय पारिवारिक एवम् फेमेली ग्रुपका स्वन्त्र अनि रोमाञ्चक भ्रमणका विषय आएका छन् । यससङ्ग्रहका ९ वटा नियात्राले स्वदेश भ्रमणका विभिन्न सामाजिक एवम् निजी यात्राका विषयहरूलाई बोकेका छन् । विशेषतः बेलायतबाट विभिन्न सामाजिक अभियान अनि कार्यसम्पादनका लागि काठमाडौँ हुँदै आफ्नो जन्म जिल्ला या सम्बन्धित ठाउँमा पुगी सामाजिक सहयोगका कार्य गरेका नियात्राहरू प्रेरणादायक छन् । केही नियात्राले भने नेपालका पर्यटकीय क्षेत्रहरूको भ्रमणलाई समेट्न सफल भएका छन् । दुईवटा नियात्रा स्वयम् नियात्राकारको रोजगारी यात्राका विषयमा लेखिएका छन् । यी नियात्राले जागिरका लागि गर्नुपरेका कठिन यात्रालाई सजीव रूपले प्रस्तुत गरेका छन् । दुईवटा नियात्रा भने आमा र भाइबुहारीको दुखद् निधन अनि अति पीडादायक यात्राका विषयमा लेखिएका छन् ।

नियात्राकार चिम्खोले काइँला जागिरका क्रममा, स्वतन्त्र भ्रमणका क्रममा या समाजसेवाका क्रममा जहाँ जहाँ पुग्नुभएको छ, आफ्नो साथमा नेपाल र नेपाली भन्ने भावनालाई शिरमा राख्नुभएको छ । संसारका संभान्त शहर, जादूमय विकासनिर्माण र स्वर्गसरी भौतिक सुखमा पनि नेपालप्रतिको निर्मल मायालाई कहिल्यै कम हुन दिनुभएको छैन । यही कारण नेपालमा भूकम्प जाँदा चन्दा सङ्कलन गर्ने अभियानमा लाग्नुहुन्छ, जिल्लामा बिरामी बोक्ने एम्बुलेन्सहरू किन्ने अभियानमा दिलोज्यान दिनुहुन्छ । भूकम्पले क्षतिग्रस्त स्कुलका लागि जग्गा र भवन निर्माण अभियानलाई सफल बनाउनुहुन्छ । संस्थागत रूपमा आफ्नो जिल्ला र नेपालसँग सरोकार राख्ने धेरै संघसंस्थादेखि मगर संघ युकेको अध्यक्षसम्मको पदमा रहेर सामाजिक अभियानमा अग्रणी भूमिका निर्वाह गर्न सफल हुनुभएको छ । जीवनलाई सरल र सहज रूपले बुझ्दै सामाजिक अभियानमा लाग्नुभएका चिम्खोले काइँला निरन्तर रूपले कलम चलाउने प्रतिभा हुनुहुन्छ । बेलायतको नेपाली पत्रकारिताको क्षेत्रमा अग्रणी स्थानमा उभिँदै लागेका कुरा भनिहाल्ने अनि वास्तविकताभन्दा बाहिर सम्झौता गर्न नचाहने नियात्राकारको खरो स्वभाव यस सङ्ग्रहका नियात्राहरूमा पनि पाइन्छन् । नियात्राकार आफूले घुमेका र देखेका खुसीमा भन्दा नेपालको विकास अनि सुशासनप्रतिको चिन्तामा बढी केन्द्रित देखिनुहुन्छ । यहाँ म के कुरा भन्न सक्छु भने पाठकहरूले नियात्राहरू पढ्दै गर्दा नियात्राकार चिम्खोले काइँलाईलाई पनि पढ्दै जानुहुने छ ।

हालसम्म प्रकाशित प्राय नेपाली नियात्रासङ्ग्रहमा नियात्राकारका एउटै भ्रमण सेरोफेरोका नियात्राहरू सङ्गृहीत छन् । जसका विषयवस्तु उस्तै, अनुभूति र लेखाइ पनि उस्तैउस्तै लाग्छन् । नियात्राकार चिम्खोले काइँलाको यस नियात्रासङ्ग्रहमा भने अत्यधित मात्रामा विषयवस्तुको विविधता पाइन्छ । विदेश भ्रमण या स्वदेश भ्रमणका क्रममा एउटा पुस्तक नै लेख्न सकिने कैयौँ विषयवस्तुलाई एकएकवटा नियत्रामै समेट्नुभएको छ । यसले गर्दा विषयको सघनता र आद्रता एकदमै बढी पाइन्छ । यस्तो हुँदाहुँदै पनि अलमलिने र नबुझ्ने अवस्था कुनै नियात्रामा छैन । यसको मुख्य कारण नियात्राकारको लेखनमा सतत बगाइको कला हो । यस सङ्ग्रहका हरेक नियात्रामा पस्ने पाठकहरू सजिलैसँग अन्त्यसम्म आइपुग्नुहुन्छ । पढ्दै जाँदा र अगाडि बढ्दै जाँदा नियात्राहरूका अन्तिम वाक्यहरूमा आइपुगेको पत्तै हुँदैन । यसरी सरल र ससहज तरिकाले पाठकहरूलाई विषवस्तुसँगै बगाउनु र आफ्नै यात्राजस्तै अनुभूत गराउनु नियात्राकार चिम्खोले काइँलाको ठूलो कला हो ।

विभिन्न पुस्तक र गीतिएल्बम प्रकाशन गरिसक्नुभएका साहित्यकार तथा गीतकार चिम्खोले काइँलाको यो पहिलो नियात्रासङ्ग्रह हो । पहिलो नियात्रासङ्ग्रहलाई यति सुन्दर र उत्कृष्ट सङ्ग्रहको रूपमा ल्याउन सफल हुनुभएकामा नियात्राकार, आरदरणीय दाजु चिम्खोले काइँलालाई हार्दिक बधाई दिँदै आगामी नियात्रासङ्ग्रह अझ सुन्दर र गहन विषय बोकेर आउन सकोस् भन्ने कामना पनि गर्दछु ।

मितिः २०७७/०४/१५
प्यूठान नगरपालिका– १०, प्यूठान, नेपाल

3 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %