आपुन एचकेले कोरोना बिरामीलाई गरे डेढकरोड सहयोग !

Read Time:3 Minute, 55 Second

राज्यसत्ता,

५ जेठ, काठमाडौँ । हङकङमा बसोवास गर्ने आपुन एचके (भोटे) ले कोरोना बिरामीहरूको उपचारका लागि डेढ करोडभन्दा बढी नेपाली रकम सङ्कलन गरी नेपाल पठाएका छन् ।
अहिले नेपालीहरू कोरोना महामारीको तातो भुङ्ग्रोमा छटपटाइरहेका छन् र स्वदेश तथा विदेशमा बस्दै आएका दानी मनहरू सेवाका कार्यमा जुटिरहेका छन् । यस्तै सेवाभावले नेपाल र नेपालीका समस्याहरूमा मनैदेखि सहयोग गर्दै आएका व्यक्ति हुन् आपुन एचके (भोटे) । आपुनले आफ्नो एकल प्रयासबाट १० लाख ५ हजार हङकङ डलर अर्थात् १ करोड ५१ लाख ३४ हजार ३१ रुपैयाँ नेपाली रकम सङ्कलन गरेका हुन् । आपुनले आफ्नो रोजगारदाता रियल स्टेट व्यापारी प्याट्रिक सेकबाट कोरोना सङ्क्रमित नेपालीहरूको सहयोगका लागि भनेर यो रकम प्राप्त गरेका हुन् ।

शैक्षिक परोपकारी संस्था सावर एक्सनमार्फत सो सङ्कलित रकमबाट नेपालीको उपचारका लागि ५ सय थान अक्सिजन सिलिन्डर खरिद गरिने छ भने स्वास्थ्य उपचारमा अत्यावश्यक सामग्रीहरू पनि किनिने छ । आपुन नेपालीहरूको दुखप्रति निरन्तर सेवामा तल्लीन एक असल समाजसेवी हुन् । यिनले २०७२ सालको महाभूकम्पका बेला पनि १५ लाख रुपैयाँ नेपाली रकम सङ्कलन गरेर नेपाल पठाएर नेपालीहरूलाई सहयोग गरेका थिए ।
लामो समयदेखि हङकङलाई कर्मथलो बनाउँदै आएका आपुनको जन्म गण्डकी प्रदेश, पर्वत जिल्लाको भोकसिङमा भएको हो । सानैदेखि खेलकुद र समाजसेवाप्रति ढल्केका आपुन बक्सिङका कुशल खेलाडी मानिन्छन् । सन् २००४ देखि थाई बक्सिङमार्फत हङकङबाट व्यावसायिक खेल सुरु गरेका अपुनले ३३ व्यावसायिक खेल खेल्ने अवसर पाए । यिनले शारीरिक सुगठनको खेललाई समेत अगाडि बढाउँदै नेपालका विभिन्न समयका अन्तर्राष्ट्रिय खेलहरूमा सफलतासमेत हासित गरे । यिनले नेपाल शारीरिक सुगठनमा चौथो, हिमालयनमा चौथो र धर्मश्री २०१२ मा दोस्रो स्थान प्राप्त गरे ।
नेपाल र नेपालीका लागि सधैँ राम्रा सामाजिक काम गर्न चाहने आपुनले यसपालिको कोरोना महामारीमा नेपालीको हृदयविदारक अवस्था देख्दा मन थाप्न सकेनन् र चन्दा सङ्कलन गर्ने उद्देश्य बनाए । यही उद्देश्यले नेपालीहरूको अवस्थाका बारेमा आफू कार्यरत रियल स्टेटका व्यापारी प्याट्रिक सेकलाई अवगत गराए अनि चन्दाका लागि आह्वान गरे । सेकले उनको आह्वानलाई स्वीकार्दै यति ठूलो रकम चन्दास्वरूप उपलब्ध गराए ।
हालसम्म नेपालका लागि एक व्यक्तिले यति ठूलो चन्दा रकम सङ्कलन गरेको यो नै पहिलो हो । आपुन भोटेले तीन दशकदेखि हङकङको बसाइलाई निरन्तरता दिँदै आएका छन् । हाल यिनले हङकङका विभिन्न संघसंस्थामा आबद्ध भई खेलकुद र सामाजिक सेवाका कार्यहरूलाई मनैदेखि अगाडि बढाइरहेका छन् ।


12 0
Happy
Happy
85 %
Sad
Sad
0 %
Excited
Excited
15 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %