प्रथम सहिद लखन थापा मगर !

Read Time:19 Minute, 27 Second


–उमेश राना “गोर्खाली”
काठमाण्डौ , माघ १६ ।

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको लागि प्राण उत्सर्ग गर्ने सपुतहरू कमै हुन्छन् । त्यसैले त्याग र वलिदानको मार्गमा हिँड्नेहरू सबैका प्रिय र पूज्य हुन्छन् । उनीहरूको महानता प्रेरणाको श्रोत बन्दछ । सिङ्गो राष्ट्रले त्यस्तो योगदानलाई आदर सम्मान गर्दछ । उनीहरू समाजका सम्पत्ति, राष्ट्रका गौरव बन्न पुग्दछन् र युगयुगसम्म धर्तीमा बाँची रहन्छन् । यस्तै सौभाग्य प्राप्त गर्ने महान व्यक्तिहरूमध्ये लखन थापा मगर एक हुन् ।

लखन थापा, साधारण परिवारमा १८९१ मा जन्मेका एक प्रतिभाशाली व्यक्ति थिए । उनको पुख्र्यौली गोरखाको बुङ्कोट हो र त्यो गाऊँ गोरखाको दक्षिणपूर्वी इलाका हो जुन सदरमुकामबाट १२ कि.मि.को दूरीमा छ । त्यहाँका युवाहरू आज पनि स्वदेशी, विदेशी सेनामा प्रशस्तै छन् । गाऊँँका अधिकांश मानिसहरू साधारण खेतीपाती र पशुपंक्षी पालन गरी जीविकोपार्जन गर्दछन् ।

सुगौली सन्धि पश्चात् लखनका पुर्खाहरूमध्ये केही ‘पुरानो गोरख गण’ सित नेपाल फर्के भने धेरैजसो इष्ट इण्डिया कम्पनीको फौजमा सेवा गर्न अल्मोडामै बसे । अल्मोडा कुनै बेला नेपालकै भूभाग थियो, त्यसैले नेपालीहरूको ठूलो संख्या अहिले पनि त्यहाँ पाइन्छ । आफन्तहरू बीच निरन्तर आउजाउ रहेको कारण नेपालमा बसेकाहरूले आफ्ना सन्तानहरू पढाउन त्यहाँ पठाउने गर्थे । लखन थापाले पनि अल्मोडामै प्रारम्भिक शिक्षाको अवसर पाए र उनको बाल्यकाल त्यहीं बित्यो । सानै उमेरदेखि उनी तीक्ष्ण बुद्धिका थिए । हरेक कुरामा रूची राख्दथे र गम्भीरतापूर्वक सोंच्दथे ।

तत्कालीन भारत अंग्रेज सरकारको अधीनमा थियो र अंग्रेज शासक विरुद्ध कोही बोल्न सक्दैनथे । भारतीयहरूको यस्तो दयनीय अवस्थासंग लखन परिचित थिए । आफ्ना पुर्खाहरूले कुनै बेला अंग्रेज विरुद्ध लड्नु परेको इतिहास उनी राम्ररी जान्दथे । त्यसैले अंग्रेजको नोकरी र दासता उनलाई स्वीकार्य भएन । गोरखा राइफल्समा सेवा गर्ने परम्परा बसिसकेको भए तापनि त्यसविपरीत नेपाली सैनिक भएर देशकै सेवा गर्ने दृढताका साथ १९११ मा उनी ‘पुरानो गोरख गण’ मा भर्ति भए ।

लखन थापा अत्यन्त होनहार र अनुशासित सैनिक थिए । असल बोली, बचन र व्यवहारका कारण यिनी पल्टनमा लोकप्रिय हुँदै गए । शारिरीक रूपले केही होचा कदका भए पनि यिनी बुद्धीमा तीक्ष्ण, रणकौशलमा निपुण र जस्तै समस्या आइपरेमा पनि उचित निर्णय लिन सक्ने क्षमता राख्दथे । वेलायतीहरूले खडा गरेको कम्पनी सरकारको अंग्रेजी सेना विरुद्ध १९१४ मा भारतीय सैनिकहरूले ठूलो विद्रोह ग¥यो, त्यो विद्रोह अंग्रेजहरूले मात्र साम्य पार्न नसकेपछि २५ पल्टन पठाएर नेपालका तत्कालीन शासक जङ्गबहादुर आफैं पनि दलबलसहित भारत पुगेका थिए । पुरानो गोरख पल्टनबाट लखन थापा, जयसिं चुमी लगायत थुप्रै देशभक्त सैनिकहरू त्यो विद्रोहमा सामेल भएका थिए ।

संघर्षको दौरानमा निर्दोष भारतीयहरूप्रति सेनाद्वारा गराइएको अन्याय, अत्याचार र दुव्र्यवहार लखनले आफ्नै आँखाले देखेका थिए । लखनऊका नवाव वाजिद अलि शाहका धनसम्पत्तिहरू उच्छृङ्खलतापूर्वक लुट्न लगाइएको थियो । यो सैनिकको व्यवसायिक धर्मको विरुद्ध थियो । भलै आफू सामेल रहेको सेनाले भारतीय जनताहरूको चाहनालाई अमानवीय ढंगले दवाउनु परेको किन नहोस्, त्यस घटनाबाट लखन भित्रभित्रै मर्माहत थिए तर नूनको सोझो गर्नु उनको बाध्यता थियो । अंगे्रजको दासताबाट मुक्त हुन वलिदान हुने सयौं भारतीयहरूको संघर्ष र त्यसमा गोर्खाली सेनाको दुरुपयोग भएको तथ्यलाई उनले राम्ररी बुझेका थिए । यिनै कारणले गर्दा लखनको मनमा पटक्कै शान्ति भएन । विद्रोह शान्त गराएर जङ्गबहादुरले आफूलाई अंग्रेजको हिमायती सावित गरे र अंग्रेजसंगको मित्रतालाई थप मजबुत बनाए । यो मैत्रीले देशभक्त सैनिकहरूको अंग्रेज विरोधी पुरानो सैन्य भावनामा चोट पु¥यायो ।

कोतपर्व र भण्डारखालपर्व जस्ता नरसंहारकारी घटनाबाट जङ्गबहादुर यसअघि नै सर्वशक्तिमान बनेका थिए । उनको अधिनायकवाद विरुद्ध कसैको बोल्ने साहस थिएन । उनले सैनिक, प्रशासनिक लगायत राज्यका महत्वपूर्ण जिम्मेवारीहरू आफ्नै खलकमा सीमित पार्दै लगेका थिए । योग्य र सक्षम जनशक्तिहरूमा व्यापक असन्तोष फैलिरहेको थियो । केही भारदारहरूको आग्रहमा उनले १९१० मा नै मुलुकी ऐन ल्याइसकेका थिए । परापूर्वदेखि नङ–मासु जस्तो मिलेर बसेको नेपाली समाज तागाधारी, मतवाली, पानी चल्ने र पानी नचल्ने वर्गमा विभाजित हुँदैगए । नेपाली समाजमा उचनीच र छुवाछूत बढ्दै गयो ।

देशको शासनसत्ता गलत व्यक्तिको हातमा पर्दा त्यसको परिणाम पनि गलत नै निस्कन्छ भन्ने कुरा लखनलाई छर्लङ्ग भयो । उनले नेपालीहरूलाई जागरुक र संगठित बनाएर सामाजिक अन्तरविरोधहरू हटाउनु आफ्नो कर्तव्य सम्झे । १९२७ तिर उनी सेनाको जागिर छाडी घर फर्के र गाऊँका सर्वसाधारणहरूलाई चेतनशील बनाउन आफैं साधुसन्त भएर जोसमनी मार्गमा लागे । यो नेपालकै पुरानो सन्तपरम्परा हो, जसमा राजाप्रजालाई समान दृष्टिले हेरिन्छ । उनीहरू जातीय भेदभाव, छुवाछूत र मूर्तिपूजामा विश्वास गर्दैनन् । लखनको मधुर वाणीले समाजमा एक प्रकारको जादू चलायो । स्थानीय जनताहरू जोसमनी मतप्रति आकर्षित हुँदै गए । ठूलो संख्यामा मानिसहरू एकत्रित भए र लखनको आज्ञा शिरोपर गर्दै जङ्गबहादुरको सर्वसत्तावाद विरुद्ध संगठित भए । नेपाली समाजको जातीय एकता र धार्मिक सद्भाव जोगाउन त्यसवेला सर्वसाधारणलाई एकजुट पार्न अति आवश्यक थियो ।

त्यसैले जङ्गबहादुरको अन्याय, अत्याचार, शोषण र दमन विरुद्ध लड्न जनस्तरबाटै संगठितरूपले आँधिबेहरी सृजना गर्ने मार्गमा लखन कम्मर कसेर लागे । पूर्वसैनिक भएकै कारण यिनमा त्याग र वलिदानको भावना छँदैथियो । स्थानीय व्यक्तिहरूको सहयोगमा बुङ्कोटमा किल्ला निर्माण भयो र स्थानीय युवाहरूलाई भेला गराई सैन्य तालिम दिन थालियो । केही हातहतियार सहित १५०० को संख्यामा विद्रोही फौज तयार भयो । त्यसपछि लखनले नेपाली सेनाको नेतृत्व गरी राजधानी प्रवेश गर्ने, जङ्गबहादुरको हत्या गरी उनको सत्ता आफ्नो अधीनमा लिएर सुनौलोयुगको आरम्भ गर्ने घोषणा गरे । यो तथ्य जङ्गबहादुरका छोरा पद्मजङ्ग राणाले आफ्नै पिताका विरोधी लखन थापा र उनको विद्रोहबारे चर्चीत पुस्तक (जङ्गबहादुरको जीवनयात्रा, २०७४) मा उल्लेख गरेका छन् ।

लखन थापाको यो घोषणा राज्यसत्ताको निम्ति ठूलो चुनौती थियो । विद्रोहीहरूलाई दमन गर्न देवीदत्त पल्टन बुङ्कोट पुग्यो । केही समय भिडन्त भयो र कतिपयले ज्यान गुमाए । सीमित हातहतियारको वलमा गरिएको युद्ध लामो समयसम्म टिकेन र अन्त्यमा १२ जना पक्राउ परे । उनीहरूमध्ये ५ जना सामान्य समर्थक ठहरिएकाले माफी दिइयो भने ७ जनालाई राजद्रोहको अभियोग लगाइयो । यथार्थमा उनीहरू न देशद्रोही थिए, न राजा विरोधी । बुङ्कोट किल्ला परिसरको मनकामना थान सामु १९३३ पौषमा सवैभन्दा पहिले लखन थापा, त्यसपछि उनका अनुयायी जयसिंह चुमी, विराज थापा, जुठ्या थापा, जीतमान गुरुङ, अजपसिंह थापा र अच्छामी मगरहरूलाई रूखमा झुन्ड््याई मृत्युदण्ड दिइयो । भनिन्छ, सेनाको घेराबन्दी तोडेर विद्रोहीहरू भाग्न सक्थे तर भागेनन्, क्षमा मागेमा ज्यान जोगिन सक्थ्यो तर त्यसो पनि गरेनन् । उनीहरूले त हाँसीहाँसी मृत्युलाई स्वीकारे र वलिदानको सुनौलो इतिहास रचे ।

त्यसवेला लखन थापा केवल ४२ वर्षका थिए । राज्यले सर्वस्वहरण गरेको हुँदा सहिदहरूका परिवार बुङ्कोटबाट अन्यत्र पलायन हुन बाध्य भए । अहिले लखनका ७/८ औं पुस्ताका सन्ततीहरू भारतको दार्जिलिङ्ग नजिक बसोवास गर्दै आएका छन् । वेलाबखतमा उनीहरू बुङ्कोट आउने–जाने गर्छन् । उनीहरूलाई नेपालमै कतै बसोवास गराउन सके सहिदको सच्चा सम्मान हुनेछ । जयसिंह चुमीका सन्ततीहरू पछि बुङ्कोट फर्के भने बाँकी सहिद परिवारको हालसम्म जानकारी मिल्न सकेको छैन ।

बुङ्कोटको विद्रोहले जङ्गबहादुरको शोषण, दमन, अन्याय, अत्याचार र निरङ्कुशता विरुद्ध जनतालाई पहिलो पल्ट एकजुट बनायो । राणाशासन विरुद्ध आन्दोलित गरायो । गोरखाको दूरदराजमा चलाइएको यो जनक्रान्ति नेपालको राणाकालीन इतिहासमा सवैभन्दा वलियो र महत्वपूर्ण मानिन्छ । नेपालमा प्रजातान्त्रिक आन्दोलनको अध्याय यहींबाट प्रारम्भ भएको हो । यसअघि १९०३, १९०६, १९०७, १९०९, १९१४ का विद्रोहहरू पद, प्रतिष्ठा र प्रतिशोधमा केन्द्रीत थिए भने १९३३ को विद्रोह देशको स्वाधीनता र जनअधिकारको बहालीसंग जोडिएको छ, त्यसैले बुङ्कोट विद्रोहका नायक लखन थापा मगर नेपालका प्रथम सहिद बन्न पुगेका हुन् । यो ऐतिहासिक घटना नेपाली प्रजातान्त्रिक आन्दोलनको पवित्र मुहान हो, जनआन्दोलनको प्रारम्भविन्दू हो । नेपालको राजनैतिक इतिहासमा यो विद्रोह अद्वितीय र प्रेरणादायी मानिएको छ ।

बुङ्कोट विद्रोहमा स्पष्ट राजनीतिक दृष्टिकोण, जनअधिकारको माग, भारी जनसमर्थन, स्थानीय सहभागिता र सशस्त्र तयारी जस्ता अनेकौं सवल पक्षहरू छन् । जहानियाँ शासन विरूद्ध लखन थापाको सुनौलोयुग फर्काउने परिकल्पना थियो भनी स्वयं जङ्गबहादुरका साहिँला छोरा पद्मजङ्गले उल्लेख गरेका छन् । सुनौलोयुगलाई उदार र भेदभावरहित शासन प्रणालीको रूपमा बुझ्नुपर्छ, अहिलेकोे प्रजातन्त्र, मानवाधिकार त्यसैको विकसित रूप हो, जसको प्राप्तीको लागि संघर्ष गर्दा ७ जना विद्रोहीहरूले ज्यान गुमाएका थिए । त्यो सहादतको मूल्यांकन राज्यले ढिलै भए पनि ग¥यो र २०७२ असोज ३ गते वर्तमान संविधान जारी भएकै दिन राष्ट्रिय विभूतिले सम्मानित हुनुपर्ने लखन थापालाई “प्रथम सहिद” को उपाधि दिइयो तर उनीसंगै मारिएका अन्य ६ जना सपुतहरूलाई सहिद मान्न राज्यले कञ्जुस्याँई ग¥यो । यसका लागि छुट्टै पैरवी र दवावको आवश्यकता छ ।

लखनले – “म सिद्ध लखन थापाको अवतार हूँ र मलाई मनकामना माईले जङ्गबहादुरलाई मार्नू र नेपालको शासनसत्ता आफ्नो हातमा लिनू भनी आशिर्वाद दिएकी छिन्” भनेर आफुलाई मनकामना देवीले सपनामा वरदान दिएको बताउँदै जनएकता र बृहत् संघर्षका लागि यसरी उद्घोष गरेका थिए — “जङ्गबहादुरले नेपाल म्लेच्छ(अंग्रेज)लाई बेच्यो, दुनियाँलाई त्राही–त्राही पारिरहेछ । जातपात, छुवाछूत झन चर्काएको छ । जङ्गेलाई हटाई नेपाल आमालाई पापको बोझबाट हल्का पार्नु पर्छ । नेपालमा सत्ययुग फिराऊँ । लौ भाइ हो ! तयार होऔं ।”

लखन थापाहरूले जस्तै शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ चन्दले पनि प्रजातन्त्रको लागि संघर्ष र वलिदान गरेका हुन् । लखनहरूले जनअधिकारको कुरो गरे, शुक्रराजहरूले नागरिक अधिकार भने । त्यो घटना गोरखाको दुर्गममा भयो, यो राजधानी जस्तो सुगम क्षेत्रमा भयो । त्यो सशस्त्र लडाईँ थियो, यो शान्तिपूर्ण आन्दोलन थियो । तर दुवैको मकसद एकै थियो, त्यो हो– राणाहरूको निरंकुशताको अन्त्य र प्रजातन्त्रको वहाली ! यी संघर्षहरूको समय, स्थान र मोडालिटी फरक भए तापनि ती सपुतहरूको चाहना र भावना एकै थियो । उनीहरूले स्वतन्तता र स्वाधीनताकै निम्ति आफ्नो प्राणको उत्सर्ग गरेका थिए ।

भनिन्छ, हरेक पुस्ताले पुरानै पुस्ताबाट ऊर्जा प्राप्त गरेको हुन्छ । राणाशासन विरुद्ध लड्न शुक्रराजहरूले पाएको प्रेरणा र जनजागृतिको श्रोत निश्चय नै १९३३ को विद्रोह थियो । बुङ्कोट विद्रोहअघि जनस्तरमा शासकहरूप्रति यस्तो विद्रोही चेतना र भावना पैदा भएको इतिहास छैन । त्यसैले निर्धक्कसाथ भन्न सकिन्छ कि १९९७ सालको मुहान १९३३ कै घटना थियो । अतः सहिद लखन, शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ चन्दलाई एकै कोटी, पंक्तिमा राखेर हेर्नु पर्दछ । हरेक वर्ष सहिद सप्ताह मनाउँदा प्रथम सहिद लखन थापा मगरलाई सम्झनु अनिवार्य छ । लखनलाई बिस्र्यौं भने दुर्भाग्यवश हामीले अपुरो सहिद सप्ताह मनाइरहेका हुनेछौं । सवै सहिदहरू उत्तिकै प्रिय र पूज्य छन् । सहिदहरूको योगदान बिर्सनु भनेको कृतघ्न हुनु हो ।

सहिदहरूको स्मृतिमा २०१३ सालदेखि मनाउने गरिएको सहिद सप्ताह हाल एकाएक शिथिल बन्न पुगेको छ, सहिदहरू प्रति सधैं कृतज्ञ हुनुपर्नेमा सरकारीस्तरबाटै औपचारिक कार्यक्रमहरू र माघ १६ को सार्वजनिक विदा कटौतीमा परेको छ । यो निर्णयप्रति सवै देशभक्तहरूले निन्दा गर्दै असन्तुष्टी जनाएका छन् । जुन देशमा सहिदको सम्मान हुँदैन, त्यहाँ कसैको पनि सम्मान हुँदैन । त्यसैले यो अशोभनीय कदम सरकारले तुरुन्त सच्याउनु पर्दछ ।

अन्त्यमा, आदरणीय सहिदहरू हाम्रा पुर्खा र प्रेरणाका श्रोत हुन् । हाम्रा मार्गदर्शक र पथप्रदर्शक हुन् । उनीहरूले देखाएको बाटोमा हिँड्नु हाम्रो परम कर्तव्य हो । हाम्रै स्वतन्त्रता र स्वाधीनताका निम्ति उनीहरूले आफूलाई उत्सर्ग गरेका हुन् । सहिदहरूको आदर्श र भावनाको सम्मान हामीले गर्नै पर्छ । हाम्रो जीवनको सुख, शान्ति र समृद्धिमा सहिदहरू कै रगत र पसिना छ । त्यसैले हाम्रै लागि आफ्नो जीवनको आहुति दिने श्रद्धेय सहिदहरूप्रति सच्चा सम्मान बढाउन देशका अन्य भागमा पनि सहिद सप्ताहका अभियानहरू अझ वलियो र व्यापक बनाउन जरुरी छ । पुर्खाहरूको योगदानलाई सम्झँदै राष्ट्र, राष्ट्रियता, अखण्डता, स्वतन्त्रता र स्वाभिमान जोगाउन एकजुट होऔं । सवै प्रजातन्त्रवादी सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली !

(सहिद सप्ताहको अवसरमा तयार गरिएको लेखका लेखक प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानका उपाध्यक्ष हुनुहुन्छ)

5 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %