राष्ट्रिय जनगणना २०७८ र मगर समाजको अनिबार्य सहभागिता !

Read Time:12 Minute, 40 Second

२०७८ को राष्ट्रिय जनगणना लिने कार्यमा “नेपाल मगर संघ”ले “मगरको गणना मगरको सहभागिता”को नारा साथ अघि बढ्नु पर्नेहुन्छ ‘।

– त्रिलोक सिंह थापा मगर

क. पृष्ठभूमि:
मुलुकमा संघियताले प्रवेश गरिसके पछि हुन लागेको १२औं राष्ट्रिय जनगणना २०७८ अत्यन्त महत्वपूर्ण हुने देखिन्छ । आगामी चैत्र २०७७बाट प्रदेश तथा जिल्लामा र वैशाख २०७८बाट स्थानिय तहमा जनगणना कार्यालयहरू खोल्ने गरि तयारी भईरहेको छ । वैशाख २ देखि जेष्ठ १४ सम्म घर परिवारको सूचिकरण कार्य र जेष्ठ २५ देखि असार ८ सम्म मूल कार्यक्रम सम्पन्न गरिने भएको छ ।
परिभाषाः
जनगणना भनेको केवल मानिसहरूको गन्ती वा गणनामात्र होइन । प्रत्येक नागरिकको उमेर, लिङ्ग, सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक, वैवाहिक, पारिवारिक आदि स्थितिको सूचनाहरूको संकलन, संगठन, मुल्यांकन, विश्लेषण तथा प्रतिवेदन प्रकाशनको प्रक्रियालाई जनगणना भनेर व्याख्या गर्ने गरिन्छ । प्रत्येक दश–दश वर्षमा जनगणना लिने काम हुन्छ । मुलुकको जनसंख्या सामाजिक तथा आर्थिक अवस्था पहिले कस्तो थियो र अहिले कस्तो छ, के–के परिवर्तनहरु भए भनेर जनगणना तथ्यांकहरुसँग तुलना गरी हेर्नुपर्ने हुन्छ । यसका लागि प्रश्नहरुमा धेरै परिवर्तन हुँदैन । केही थप प्रश्नहरु नयाँ परिवेशमा समावेश हुन्छ ।
ख) जनगणनाको आवश्यकता
कुनैपनि मुलुक, स्थानीय निकाय, र समुदायलाई आफ्नो राजनैतिक, सामाजिक, आर्थिक, शैक्षिक, भौतिक, सांस्कृतिक तथा अन्य विकासका नीति, कार्यनीति, रणनीति, योजना आदि तर्जुमा गर्नुपर्यो भने आवश्यक सत्य तथ्य तथ्याङ्क एवं सूचनाहरु आवश्यक पर्दछ । साथै राज्यले जनताको घर दैलोसम्म सेवा सुविधा र सहुलियत पु¥याउन पर्यो भने पनि तथ्याङ्कको आवश्यकता पर्दछ । यसरी जनगणनाको तथ्याङ्क राज्य तथा नागरिक दुवैलाई समानरुपमा अत्यन्त महत्वपूर्ण एंव आवश्यक हुन्छ ।
ग) नेपालमा जनगणना
नेपालमा जनगणना लिने कार्यको औपचारिक सुरुवात सन् १९११ देखि भएको हो । हालसम्म ११ पटक जनगणनाको कार्य नेपालमा सम्पन्न भइसकेको छ । सन् १९११ देखि १९४१ सम्म जनगणना लिने कामको लागि छुट्टै निकाय वा विभाग थिएन । प्रत्येक जिल्ला प्रशासनले आँफ्नो जिल्लामा आफै जनगणना लिने कार्य गर्दथिए । फलस्वरुप अत्यन्त अपत्यारिलो र त्रुटिपूर्ण हुन्थ्यो ।
सन् १९८१ को राष्ट्रिय जनगणना लिने कार्यमा व्यापक सुधार ल्याउने प्रयास गरियो । सन् २००१मा ७५ जिल्लामा जनगणना कार्यालयहरु स्थापना गरियो । “कोही नछुटुन् र कोही नदोहोरिउन्” भन्ने नाराका साथ राष्ट्रिय जनगणनाको काम सम्पन्न भएको थियो । जनगणनाको दोस्रो स्रोत पंजीकरण प्रणालीबाट पनि भरपर्दो तथ्यांकहरु संकलन गरिएको थियो । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैर सामाजिक संस्थाहरु बाट व्यवस्थापन, प्राविधिक एवं भौतिक सहयोगसमेत लिइएको थियो ।
सन् २०११ (विसं २०६८) को राष्ट्रिय जनगणना लिने कार्यमा अझ व्यापक सुधार गरिएको थियो । अझ बढी बैज्ञानिक प्रविधिहरूको प्रयोगबाट भरपर्दो सत्य तथ्य तथ्याङ्क लिने प्रयास गरिएको थियो । तर पनि झन् त्रुटिपूर्ण तथ्यांक प्रतिबेदन प्रकाशनमा आएको पाइयो ।
घ) त्रुटिपूर्ण प्रतिवेदन
विसं २०६९ मंसिर ११ गते (सन् २०१२ नोभेम्बर २७–२८) तारिखमा केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना विसं २०६८ लाई सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदनमा त्रुटिपूर्ण तथ्यांकहरु निम्नअनुसार फेला परेको थियो ।
१) मगर भाषा बोल्नेहरूको संख्या तीन प्रतिशत तथा मगरहरूको जनसंख्या ७.१२ प्रतिशतले अपत्यारिलो ढंगले घटेको देखाइयो ।
२) विभिन्न जनजातिले आ–आफ्नो छुट्टै धर्म लेखायता पनि हिन्दूहरूको संख्या घटाउनुपर्नेमा बढी (८१.३ प्रतिशत) र बौद्ध धर्मावलम्बीहरूको संख्या बढ्नु पर्नेमा घटेको (९ प्रतिशत) देखाइयो ।
३) सरकारी जनसंख्या सूचीमा जनजातिहरूको संख्या १५५ वटा सूचीकरण गरिएको छ । तर राष्ट्रिय जनगणना २०६८ ले जम्मा १२५ वटा मात्र जनजाती रहेको तथ्यांक सार्वजनिक गरेको थियो । (२०६९ मंसिर ११ गते)
४) सरकारले सूचीकृत गरेको १२ जनजातिको नाम राष्ट्रिय जनगणना २०६८ मा छुटेको देखियो । (तीन गाउँले, वार गाउँले, लाकर्,े सियार, थुदाम, ताङवे, मुगाल, मर्फाली थकाली, सुरेल, फ्री छै रोतन र बनकरिया) (१४ मंसिर २०६९)
५) कुनै जनजातिमा मातृभाषा बोल्ने वक्ताको संख्या धेरै छ तर जातिको जनसंख्या थोरै छ । वान्तवा जातिको जनसंख्या ४६०४ छ भने भाषा बोलने जनसंख्या १,३२,४८३ देखाइएको थियो । (१४ मंसिर २०६९)
६) अघिल्लो जनगणनाको तथ्यांकमा ३७ प्रतिशत आदिवासी जनजाति थिए भने २०६८ को राष्ट्रिय जनगणनामा घटेर ३५ प्रतिशतमा सीमित रहेको देखाइएको थियो । १० वर्षभित्रमा आदिवासी जनजातिको जनसंख्या दुई प्रतिशतले घट्नु भनेको पत्यारिलो तथ्यांक लागेन । फलस्वरूप आदिवासी जनजाति विशेषज्ञहरुले “तथ्यांक होइन मिथ्याङ्क हो” भनेर २०६८ सालको जनगणना प्रतिवेदनमाथि असहमति जनाएका थिए । त्यसबेला केन्द्रिय तथ्यांक विभागले जनगणनाको तथ्याङ्कलाई पुनरावलोकन गर्ने समेत वाचा गरेको थियो । तैपनि २०६८ सालको जनगणनामा लिइएका सबै तथ्यांकहरू सार्वजनिक गरिएन ।
७) जनगणनाले व्यक्ति र समुदायको पहिचान दिन्छ । वर्तमान संविधानले नै सबैको पहिचानको संरक्षण प्रत्याभूति गरेको छ । सबैले आफ्नो समुदायको संख्या सही तथ्यांक थाहा पाउनु पर्दछ । अनि आफ्नो समुदायको अधिकार, सेवा सुविधाका लागि राज्यसँग राजनैतिक बार्गेनिङ गर्न सकिन्छ । अतः “नेपाल मगर संघ”ले जनगणनामा भुमिका खेल्नु आवश्यक छ ।
ङ) नेपाल मगर संघको भूमिका
यसपालिको राष्ट्रिय जनगणनामा सकेसम्म सही तथ्याङ्क लिने प्रयास गरिनेछ । केही प्रतिशत त्रुटि हुन्छ तर जनगणना लिने कार्यमा यसपाली सकेसम्म कम त्रुटिहरू होस् भन्ने प्रयास गरिनुपर्छ । जबसम्म स्थानीय स्तर तथा घरदैलोमा राष्ट्रिय जनगणना प्रति जागरण एवं आम नागरीकमा अपनत्वको महशुस र सहभागिता हुने वातावरण मिलाइने छैन तब सम्म यो कार्यक्रम सफल हुनेछैन ।
अतः “नेपाल मगर संघ”ले मगरहरूको सत्य तथ्य तथ्याङ्क गणना गर्नका लागि पहल गर्नुपर्ने देखिन्छ । यस क्रममा निम्नलिखित कार्यक्रमहरु संघले अझै सञ्चालन र कार्यान्वयन गर्नु पर्दछः
च) “जनगणना २०७८ जागरूकता अभियान”
१) जुन–जुन जिल्ला, गाउँपालिका, नगरपालिका र वडाहरुमा मगरहरूको बाक्लो जनसंख्या छ वा घनाबसोबास छ त्यहाँ–त्यहाँ २०७८ राष्ट्रिय जनगणना बारेमा जनतामा जागरण अभियान सञ्चालन एवं कार्यान्वयन गर्नुपर्दछ ।
छ) घुम्ती टोली
२) तीन–तीन वा पाँच–पाँच जना मगर स्वयंसेवकहरूको “जनगणना जागरण वा जागरुकता अभियान” घुम्ती टोली गठन गर्नु पर्दछ । सो टोलीले प्रत्येक गाउँ र वडाहरुमा भ्रमण गर्नुपर्दछ ।
३) घुम्ती टोलीले स्थानीय नागरिकहरूलाई (मगर समुदाय) जनगणनाको महत्व, जनगणना किन चाहिन्छ र गणनामा आफ्नो नाम छुट्यो भने के बेफाईदा हुन्छ भन्ने बारेमा जानकारी गराउनु पर्दछ ।
४) आफ्नो जात, थर, भाषा, पुर्ख्यौली भाषा, धर्म आदि बारेमा “नेपाल मगर संघ”को नीति अनुसार लेख्ने वा बताउने बारेमा जानकारी गराउनु पर्दछ ।
ज) सहजीकरण वा समन्वयन समितिमा मगर सहभागिता
५) यसपाली सम्भवतः विभिन्न स्तरहरुमा “जनगणना सहजीकरण वा समन्वय समिति” गठन गरेर जनसहभागिता लिने प्रयास गरिने भएको छ । सो समितिको गठन वडा तहसम्म गरिने भएको छ । अतः “नेपाल मगर संघ”ले मगर बुद्धिजीवी, समाजसेवी र राजनीतिक अभियान्ता आदिलाई सो समितिहरुमा सदस्य बन्न वा सहभागी हुन प्रोत्साहन गर्नुपर्दछ ।
झ) मगर गणक र सुपरिवेक्षण
६) यसपाली अनलाइनमार्फत ४३ हजार गणक र ९ हजार सुपरिवेक्षकले १५ दिनको अवधिमा ७० लाख परिवार तथा तीन करोड जनसंख्याको गणना कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । म्यादी भर्ना गर्ने कार्य अनलाइन पद्धतिबाट हुनेछ । अतः “नेपाल मगर संघ”ले मगर युवाहरूलाई (एस.एल.सी. पास) गणक तथा सुपरभाइजरमा आवेदक दिन लगाउन प्रोत्साहित गर्नु पर्दछ ।
७) छनोटमा परेका मगर गणक र सुपरिवेक्षकहरुलाई जनगणना तथ्यांक संकलनमा “नेपाल मगर संघ”को जनगणना सम्बन्धी नीतिहरू बारे अवगत गर्नु गराउनु पर्छ ।
ञ) केन्द्रीयस्तरमा अवलोकन
८) तथ्यांक संकलन भएपछि केन्द्रित स्तरमा गरिने तथ्याङ्क प्रशोधनको समयमा “नेपाल मगर संघ”को विज्ञ टोलीले अध्ययन र लेखा जोखा गर्नु पर्दछ ।
निरक्यौलः
बाह्रौं राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्न नागरिकको सक्रिय सहभागिता, जागरूकता तथा चेतनाका साथै सरकारी यन्त्रको प्रभावकारी व्यवस्थापनको आवश्यकता पर्दछ । अतः “नेपाल मगर संघ”को जनगणनामा सकरात्मक भूमिकाले मगरहरूको सत्य तथ्य तथ्याङ्क संकलन गर्न गराउन सकिन्छ । त्यसको लागि २०७८ को राष्ट्रिय जनगणना लिने कार्यमा “नेपाल मगर संघ”ले “मगरको गणना मगरको सहभागिता”को नारा साथ अघि बढ्नु पर्नेहुन्छ ।

जय मगरात !
लेखक : मास्टर मित्रसेन प्रष्ठिानका अध्यक्ष एबं नेपाल मगर संघ केन्द्रीय समितिका सल्लाहाकार हुनुहुन्छ ।

2 0
Happy
Happy
75 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
25 %
Surprise
Surprise
0 %