झमकको झल्कोमा याम बहादुर मगर , प्रधानमन्त्री बन्ने सपना !

Read Time:7 Minute, 49 Second

इमान सिं राना / रामपुर, पाल्पा  

खुट्टाले लेखेर विश्व प्रख्यात हुने व्यक्ति को हो ? यसमा धेरैको जवाफ आउछ धनकुटाकी झमक घिमिरे । हो उनले खुट्टाले नै लेखरै जिवनको यथार्थता बताईन ।

उनको कृति ‘जिवन काँडा कि फुल’ले उनलाई चर्चामा ल्यायो । उनको मेहनतलाई जो कसैले पनि प्रशंसा गरे । झमक घिमिरेलाई जानेका, बुझेका र उनको बारेमा थाहा पाएकालाई यस्तै व्यक्ति छ र ? भन्ने लाग्न सक्छ तर रामपुर नगरपालीका २ बर्दाकोट पाल्पाका याम खाम्चा मगरको अबस्था ठ्याक्कै उस्तै छ ।  न हातले लेख्छन्, न त बोल्न सक्छन् तर पनि उनको खुट्टाको सहायताले गर्ने कार्य र लगनशीलताको अगाडी सबै अचम्ममा पर्छन् । हो रामपुर नगरपालिका वडा नम्बर २ बर्दाकोटका १८ बर्षे युवक याम खाम्चा मगरको दैनिकी जो कोहीको भन्दा भिन्न छ ।

दैनिक गृहकार्य गर्न, पढ्न र चित्र कोर्न मन पराउने यामको खुट्टामा जादु नै छ स्थानिय–रोशन सिं सारु मगरले भने । उनको दुवै हात छ तर कमजोर छन् । गला छ तर बोल्न सक्दैनन् । सुन्न र देख्नमा भने अगाडी छन् । जो कसैले सोधेको र देखेको कुरा खुट्टाले कापीमा लेखेर जवाफ दिन्छन् ।  जन्मदै जण्डिसले छोएका उनको राम्रो उपचार र खानपानको अभाबकै कारण यस्तो अबस्था भएको उनका बुवा मान बहादुर खाम्चा मगरले बताए । ३ छोरा र १ छोरी मध्ये माइलो छोराको अबस्थाले कहिले काही मान बहादुरलाई पिरोले पनि छोराको हौसलाले उनको मन थामेको छ । आमा योगमाँया मगरका अनुसार उनी एकघण्टा लगाएर बिद्यालय पुग्छन्, बिद्यालय पुग्न अरुलाई २० मिनेट लाग्छ । २ खुट्टाको सहायताले कापी र कलम चापेर उनी लेख्छन् । लेख्न मात्र हैन उनले खाना पनि खुट्टाले खान्छन् । व्यस्त नहुँदा आमाले भात खुवाइदिने याम अन्य समयमा भने आमाले मुछेर दिएको भात चम्चाको प्रयोगले खान्छन् ।

हामीसँग उनले कापीमा नै लेखेर कुराकानी गरे । घरको पिढीमा बसेर पढ्दै लेख्दै गरेका यामले के बन्ने भन्दा भबिश्यमा डाक्टर बन्ने जवाफ लेखेर दिए । किन डाक्टर नै बन्ने प्रश्न गरेपछि उनले डाक्टर शब्द काटेर प्रधानमन्त्री बन्ने जवाफ दिए । किन प्रधानमन्त्री बन्ने नी भन्दा उनको जवाफ थियो –देशलाई अगाडी बढाउन, बिकास उपलब्ध गराउन । तिमीलाई के गर्न मनपर्छ भन्ने हाम्रो प्रश्नमा उनले चित्र कोर्न लेखे र लगत्तै गाईको चित्र पेन्सिलले कोरे । तिमीलाई गाई मनपर्छ भन्ने शब्द फुत्किन नपाउदै उनले कापीमा लेखेर भने आकर्षक लाग्छ र नेपालको राष्ट्रिय गाई र डाँफे हो उनको जवाफ थियो । झ्यालमा राखेको सिसीको मसीको बिर्को खु्ट्टाले खोलेर कलममा मसी भर्दै गरेका उनले समाउन साथ दिन खोज्दा मानेनन् । सक्ने काम आफैले नै गर्नुपर्छ भन्दै मसी भर्न नदिएको उनले कापीमा लेखे ।

२०५४ साल असोज २२ मा जन्मेका उनी गर्भमै जण्डिस भएको उनकी आमा योगमाँयाले बताइन् । उपचारका लागि डाक्टरसम्म पुग्न पहुँच नभएकाले घरमै औषधी मुलो गरि केही ठिक भयो । सुत्केरीका बेला जण्डिस भएरै प्रयाप्त पौष्टिक आहारा खान नपाएपछि उनको अवस्था कमजोर बन्दै गयो । जसका कारण ८ बर्षसम्म उनले शरीर धान्न सकेनन् । ७ बर्षको उमेरमा सदरमुकाम तानसेनको मिसन अस्पतालमा उपचारका लागि लगेपनि उनमा खासै सुधार आउन सकेन । पौष्टिक आहाराको कमीले नै समस्या आएको डाक्टरले बताउदै आमाछोराको खानपानमा जोडदिन भनेपछि गाँउको परिवेश र परिवारको वातावरण त्यस्तै भएको बुवा मान बहादुरको भनाई छ । त्यसपछि ८ बर्षको हुँदा उनले बिस्तारै ओछ्यान छाडे र हिडडुल गर्न थाले । खानपान र सुझ बुझले १२ बर्षको हुँदा उनी गाँउकै बालज्योति प्राबिमा कक्षा १ मा भर्ना भए । शरीर थाम्न सक्नेभएपछि छोरालाई पढाउने चाहाना बाबुआमामा बढ्यो । स्कुलमा गएर केही सिक्छ भनेर बिद्यालय लग्यौ, बिद्यालय जान थालेपछि अन्य छोराछोरी भन्दा ऊ नियमित जान थाल्यो बाबु मान बहादुरले भने ।

बिस्तारै अक्षर चिन्न लेख्न र साथीहरुसँग घुलमिल भएपछि उ दिन नबिराई बिद्यालय जान थाल्यो । गाँउकै स्कुलबाट कक्षा ५ पास गरेका उनी अहिले गाँउबाट केही पर आनन्दीभञ्याङ्गको बालहित माबिमा ६ कक्षामा पढ्दैछन् । अन्तिम परिक्षा दिएर बसेका याम अब ७ कक्षामा पढ्न जाने बताए । एकपटक पनि फेलको अनुभब नगरेर उनी कक्षामा उत्कृष्ठ ५ भित्र पर्दै आएका छन् । ३० जना बिद्यार्थी रहेका कक्षामा अहिले उसले झन् प्रगति गरेको छ –बिद्यालयका प्रध्यानाध्यापक नवलसिं विरकट्टाले भने । बिद्यालयको मिहेनती राम्रो बिद्यार्थी हो उ लगनशील छ हामीले पढ्नमा सहयोग गरेका छौ विरकट्टाले भने । गणित बिषयमा सर्बोउत्कृष्ट हुन् उनी । कक्षा कोठामा साथी भाईसँग नै पढ्ने व्यबस्था बिद्यालयले गरेको छ । डेक्स बेन्चको बिचमा राखिएको चटाईमा बसेर उनी पढ्ने लेख्ने गर्छन् । भारतमा मजुदरी गर्ने बुवा मान बहादुर अहिले घरमा आएका छन् । मान बहादुरका जेठो छोरा पुनाराम भारतमा नै काम गर्छन ।

कान्छो छोरा माधब कक्षा ९ मा अध्ययनरत छन् भने छोरी मुना कक्षा ४ को परिक्षा दिएकी छन् । धेरै समय शिक्षकसँग बसेर पढ्न मन भएको बताउने उनी कुनै साधन पाएको खण्डमा आफुलाई आउन जान र पढ्नमा समय हुने बताए । यति धेरै प्रतिभाका धनी १८ बर्षिय याम बहादुरको अझ सम्म नागरिकता र  अपाङ्गता परिचय पत्र बनेको छैन । केही बर्ष अघि रामपुरमा चलेको शिबिरमा छोराको फोटो खिचेर जिल्लाका मान्छेले लगेपनि अहिले सम्म परिचय पत्र नबनेको उनका आमाले जानकारी दिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %