मनोज घर्तीमगर
बजारमा रियालिटी शो को लहर चलेको छ । पाँच/छ वर्षदेखि सुरु भएका रियालिटी शो पछिल्लो समय पोखरा हप्तैपिच्छै भइरहेका छन् ।
(मिस गण्डकीमा सहभागी हुन अडिसनमा सहभागी युवतीहरु)
गायनमा होस् वा अभिनय । नृत्यमा होस वा अन्य विधामा । पोखरामा यतिबेला रियालिटी शो गर्ने प्रतिस्पर्धा चलेको छ । कमाइ पनि हुने, बजारमा नाम पनि आउने । त्यही भएर कसैले रियालिटी शो गर्नुलाई पेसा बनाएका छन् । रियालिटी शो ले धेरैलाई सेलिब्रेटी बन्ने अवसर पनि जुराइदिएको छ ।
गएको हप्ता मिस कलेज प्लस टु, मिस टियरा, मिस डिभा भए । गायन र नृत्य विधाको सुर ताल टुको अडिसन चलिरहेकै छ । त्यसकै पछिपछि छन्, मिस क्वीन लेखनाथ, मिस गण्डकी, मिस टिन गण्डकी, गोल्डेन आइडल, बिग आइकन । यहाँ यति धेरै रियालिटी शो हुन्छन्, कि प्रतियोगितालाई धरी हतारो हुन्छ । घर एउटा घरि अर्को कार्यक्रममा जान भ्याइनभ्याइ हुन्छ ।
त्यसो त रियालिटी शो नयाँ प्रतिभालाई रातारात हिट हुने मञ्च नभएको होइन । तर, च्याउसरी उम्रिएका अनेकन नामधारी सँस्थाले हप्तैपिच्छे रियालिटी शो गर्न थालेपछि यसका विकृति छिरेको स्वीकार्छन् सुरतालका संयोजक प्रशान्त सुनार । ‘धेरैको कला र गलालाई निखार्ने मात्रै होइन ओझेलका स्रष्टलाई रियालिटी शोले बाहिर ल्याउने गरेको छ’ प्रशान्तको अनुभवले भन्छ,‘पछिल्लो समय रियालिटी शो पनि रियल हुन छाड्यो । पैसाको चलखेल भएपछि प्रतिभावान कलाकारभन्दा पैसावालाको बोलवाला भयो ।
हामीलाई पनि बेलाबेला यस्तो दबाब आउँछ ।’ वास्तवमा बाहिर रियालिटी शो भनिए पनि भित्री कथा अर्कै हुन्छ । धेरैजसो रियालिटी शो रियल हैन फेक हुन्छन् । कसलाई बिजेता बनाउने । बिजेता बनाइदिएबापत कति रकम लिने । आयोजकलाई आम्दानी कसले धेरै दियो ? यस्तै कुरामा निर्भर हुन थालेका छन् यहाँका रियालिटी शो । ‘पोखरा मात्रै होइन धेरै ठाउँमा रियालिटी शोका नाममा बिकृति थपिएको छ । धेरैजस्तो रियालिटी शो त पहिल्यै बिकिसकेको हुँदोरहेछ’ विभिन्न रियालिटी शोको निर्णायक बसेका बिनोद बाँनिया भन्छन्,‘किनेर बिजेता बन्ने, एसएमएस धेरै गरेर बिजेता बन्ने रियालिटी शो वास्तावमै धब्बा हुन् ।’
गायनको प्रतिभा खोज्ने उद्देश्यका साथ पाँच वर्षदेखी हुँदै आएको बिग आइकनले राम्रै छबि बनाएको छ पोखरामा । हरेक वर्ष देशभरका झन्डै आठ सय प्रतिस्पर्धी सहभागी हुने यो प्रतियोगिताका बिजेता अहिले संगीत क्षेत्रमा जमेकै छन् । बिग आइकनको महत्व बेग्लै छ । तर, उस्तैउस्तै प्रकृतिका विभिन्न रियालिटी शो हुन थालेपछि त्यसले कतै त कतै असर पुर्याउन सक्ने अनुमान लगाउँछन बिग आइकनका कार्यक्रम संयोजक संजोग बश्याल । ‘रियालिटी शो धेरै हुनु राम्रो हो । किनकी धेरैले अवसर पाउँछन् । तर पोखरामा हुने धेरै रियालिटी शोले स्पोन्सरबाट दुई चार लाख र प्रतियोगितीबाट पैसा कमाउने उद्देश्य मात्रै राख्छन्’ सञ्जोगको दाबी छ,‘उनीहरुको उद्देश्य नै नयाँ प्रतिभालाई ठाउँ दिनेभन्दा बढी पैसा कमाउनुमै हुन्छ । यसले गर्दा राष्ट्रिय रुपमै चर्चा पाएका रियालिटी शोलाई असर पर्छ । त्यसको गरिमा घटाउँछ ।’
पोखरामा गण्डकी तारा, एलिजा सिंगिङ स्टार, कास्की आइडल, क्रियटिभ लोकतारा, पोखरा लोक तारा नामका प्रतियोगिता बर्सेनि नियमित हु“दै आएका छन् । पछिल्लो समय गायन प्रतिभाको खोजी गर्ने नियमित रियालिटी शो अधिक हुने थलोका रुपमा पोखरालाई चिन्न थालिएको छ । यस्ता शोहरुबाट स्थापित प्रतिभाहरु नियमित यही क्षेत्रमै अघि बढिरहेका पनि छन् । तर, यस्ता प्रतियोगितामा गरिने भोटिङ स्टिमले रियालिटी शोलाई नै बिकृत बनाएको धेरैको आरोप छ । ‘पैसाकै बलमा भोटिङ गर्दा प्रतिभावान कलाकार बाहिरै रहने र कम प्रतिभा भएकाले टाइटल जितेका थुप्रै उदाहरण छन् त्यसको भुक्तभोगी म आफै हुँ’ पहिलो अलिमिया लोकतारामा भोटिङकै कारण उपबिजेतामा चित्त बुझाएर अर्को वर्ष उपाधी जितेका राजमी पौडेल भन्छन्,‘भोटिङ सिस्टमले गर्दा यस्ता रियालिटी शोमा धेरै बिकृति आएको छ ।
यसलाई रोक्न भोटिङ गर्ने प्रक्रिया हटाउनुपर्छ । ’ विभिन्न रियालिटी शोको टाइटल जितेका मात्र हैन, यसमा सहभागिता जनाएकाले पनि आफ्नो सांगीतिक करिअर र कलाकारितामा राम्रै प्रगति गरेका छन् । धेरैले सफलता पनि पाएका छन् । बिग आइकनहरु गगन पुन, सुमन गौतम, नवीन काफ्ले र मुस्कान रानाभाटको क्रेज बढ्दो छ । अलिमिया लोक तारा स्मृति पुन, राम जी पौडेल, खोजी प्रतिभाकोबाट उठेकी दुर्गा परियार पनि जमेकै छन् । पहिलो नेपाली तारा दीपक लिम्बू सुगम संगीतमा चम्किएका छन् । धर्मेन्द्र सेवान, सन्तोष लामा, इन्दिरा जोशी, रुपक डोटेललाई पनि गायनमा परिचय दिने रियालटी शो नै हो । गायन प्रतिभाको खोजीको क्रमसँगै तिनीहरुकै नक्कल गरेर विभिन्न नाममा डान्स आइडलहरु पनि हुने क्रम बढ्दो छ ।
लोकगीतलाई समेट्ने लोक तारा होस् या नृत्य तारा यसैको प्रभाव हो । ‘जेजस्तो भए पनि रियालटी शो बाट चम्केककाहरु धेरै छन् त्यसले गर्दा पनि यस्ता कार्यक्रम धेरै भएका हुन्’ इभेन्ट म्यानेजर सिद्धार्थ पौडेल भन्छन्,‘राम्रोसँग गरे नामसँगै दुईचार पैसो दाम पनि हुने भएकाले रियालिटी शोको बाढी आएको हो ।’
फोटो:सुरज श्रेष्ठ/ठिकठाक डटकम/JUKSON.COM