नाटकघर बनाउन रविन्द्रका कविता

Read Time:3 Minute, 49 Second

मनोज घर्तीमगर

पोखरामा नाटकघर निर्माण सहयोगार्थ पत्रकार तथा कवि रविन्द्र मिश्रले टिकटमा कविता सुनाएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा कविता सुनाईरहँदा रविन्द्रले हलमा भरिउका खचाखच दर्शकहरुको वाहवाही पाए । पछिल्लोपटक ‘रविन्द्र मिश्रका कविता’ नामको कविता संग्रह बजारमा ल्याएका कवि पत्रकार मिश्रले त्यसमा समावेश र केहि फुटकर कविताहरु सुनाए । परोपकार, मातृतव, प्रेम, समाज, राजनीति र जीवनशैलीसँग सम्बन्धित करिब दुई दर्जन कविताहरु उनले शनिबार साँझ सुनाए । कविता सुनाउँदै गर्दा रविन्द्र आफ्नो बाल्यकालमा पनि फर्किए । बाल्यकालमा आमाले दिएको न्यानो मायाको वखान गरे । र, हजुरआमाले सिकाएको परोपकारको बारेमा चर्चा गरे । आफ्नै अर्धाङ्गिनीलाई पनि कवितामार्फत नै उनले प्रेम दर्शाए भने आफ्ना छोराछोरीलाई उज्जवल भविष्य बनाउन कविताबाटै सम्झाए । त्यो सँगै आफ्नै पेशा पत्रकारिताको कुरा पनि उनले कविताबाटै गरे ।

रविन्द्रले कवितामै देशको चर्चा गरे । देशले भोगेको पिडा बोले । र, फोहोरी राजनीति अनि नेताहरुको व्यवहारको भण्डाफोर गरे । युवा जनशक्ति बाध्यताले विदेशिनुपरेको यथार्थ कविताबाटै बोले । सँगै त्यसकै कारणले नेपालमा पर्ने प्रभावलाई प्रस्ट्याए । यी सबैखाले कविताहरु सुनिरहँदा उपस्थित दर्शक/स्रोताहरु कतिपटक मज्जाले हाँस्थे त कतिपटक गम्भिर बन्थे । रविन्द्रलाई टिकटमा कविता वाचन गर्ने माहौल र्याण्डम रिडर्स सोसाईटी अफ नेपालले जुराएको थियो । कविता वाचन कार्यक्रमबाट उठेको सम्पूर्ण रकम सोसाईटीले यूथ क्रियशन थिएटरको अगुवाईमा निर्माण भैरहेको नाटकघरको लागि सहयोग गरेको छ । टिकट विक्रिबाट उठेको ५० हजार रुपैयाँ नाटकघर निर्माणको लागि सोसाईटीले कार्यक्रमस्थलमै प्रदान गर्यो । र्याण्डम रिडर्स सोसाईटी अफ नेपालका अध्यक्ष गनेस पौडेल, सँस्कृतिकर्मी तीर्थ श्रेष्ठ र रविन्द्र मिश्रले यूथ क्रियशन थिएटरका अध्यक्ष कपिल शर्मालाई चेक हस्तान्तरण गरे ।

रविन्द्र मिश्रको ‘परोपकारी कविता वाचन’ कार्यक्रममै युवा व्यवसायी युवराज खतिवडाले नाटकघर निर्माणको लागि १ लाख ५ हजार रुपैयाँ हस्तान्तरण गरे । यूथ क्रियशन थिएटरका अध्यक्ष कपिल शर्मालाई उनले सो रकम बराबरको चेक कार्यक्रममै हस्तान्तरण गरे । यूथ क्रियशन थिएटरले पोखराको नागढुंगामा नाटक घर निर्माण गरिरहेको छ । नाटकघर निर्माणको लागि २० लाख रुपैयाँ खर्च लाग्ने यूथ क्रियशन थिएटरले जनाएको छ ।

देश विदेशबाट पनि सहयोग आउने क्रम जारी रहेको थिएटर निर्माण संयोजक सौगात पोखरेलले बताए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %