देब पचभैया
पाल्पा, ११ भदौ – त्रिमुर्ति निकेतन लुम्बिनी अञ्चल सम्न्वय समितिले पाल्पा जिल्लामा फरक विद्याका ६ जना प्रतिभालाई शुक्रबार विशेष कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ ।
समितिले आयोजना गरको कार्यक्रममा पुराना साहित्यकार तथा राजनीतिज्ञ चिनियालाल बज्राचार्य, उपप्राध्यापक एवं अन्तर्राष्ट्रिय नारी साहित्य समाजकी गंगा लिगललाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ । पाल्पा जिल्लामा मात्र नभएर मुलुकमै ख्याती कमाउन सफल भएकी आधुनिक गायिका मीनु गैरे, लोक तथा रोयला गायक सुमन गैरे, नृत्याङ्गा एवं बालकलाकार रिया शाही र बालकलाकार करण चित्रकारलाई सम्मान गरिएको हो ।
त्रिमुर्ति निकेतन लुम्बिनीकी संयोजक मन गहिरे, साहित्यकार गंगा लिगल, बरिष्ठ पत्रकार मेघराज शमां, अगुवा महिला गंगा पौड्यालले दोसल्ला, सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली भाषा साहित्यका विभूतित्रय कविशिरोमणी लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा स्थापित त्रिमुर्ति निकेतनले लुम्बिनी अञ्चलका अन्य जिल्लामासमेत सम्मान र अन्य साहित्यिक कार्यक्रम गर्ने संयोजक मन गहिरेले बताउनुभयो ।
साहित्यकार, महिला अगुवा, सञ्चारकर्मी, कलाकारहरुको उपस्थिति रहेको कार्यक्रममा बालकलाकार प्रज्वल शर्माले , रिया शाही , करण चित्रकार , गायिका मिनु गैरे , सुमन गहिरे , साहित्यकार चिनियालाल बज्राचार्य र गंगा लिगलले आफ्ना प्रस्तुती दिएका थिए ।
निकेतनकी जिल्ला अध्यक्ष कृष्णा भण्डारी, सचिव भावना खनालले साहित्यकार र कलाकारको परिचय गराएको कार्यक्रमको सञ्चालन व्यवस्थापक ईन्द्रा गहतराजले गरेका थिए भने अंचल संयोजक मन गहिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।